२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

घरमै वृद्धभत्ता

प्रशान्त माली

ललितपुर — पाटन न्याँखा चोक । ‘घरमा को हुनुहुन्छ, एकाबिहानै घरबाहिर आवाज सुनेपछि मिरेन वज्राचार्यले झ्यालबाट हेरे  । ‘को होला कसलाई खोज्नुभएको ?’ भन्ने प्रश्नमा ‘वृद्धभत्ता बाँड्न वडा कार्यालयबाट आएका प्रतिनिधि भएको’ जवाफ पाए ।

घरमै वृद्धभत्ता

३४ वर्षीय वज्राचार्यले यसअघि हजुरआमाको नामको वृद्धभत्ता दिनभर कुरेर बैंकबाट लिँदै आएका थिए ।

बैंकले भत्ता पाउन सम्बन्धित व्यतिm नै उपस्थित हुनुपर्छ भनेपछि उनले भत्ता लिने आस मारिसकेका थिए । कारण उनकी ७४ वर्षीय हजुरआमा लक्ष्मीको प्यारालाइसिसले राम्रोसँग दायाँ हात र खुट्टा चल्दैथ्यो । एकैछिनपछि नातिले लक्ष्मीलाई हात समाएर बाहिर ल्याए । खुसीले मुस्कुराउँदै लक्ष्मीले भत्ता बाँड्न आउनेलाई धन्यवाद दिइन् ।

उनले वृद्धभत्ताबापत पाएको ८ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने बताइन् । चाकुपाटका ७२ वर्षीय लक्ष्मीशोभा वज्राचार्यले सुगर र प्रेसरको औषधि सेवन गरेको १५ वर्ष भइसक्यो । ७५ वर्षीय श्रीमान् बाबुकाजी मुटुका बिरामी हुन् । दुवैजना मुस्किलले घर भित्र र बाहिर गर्छन् । उनीहरूलाई एक त बैंक कहाँ छ भनेर थाहा छैन । छोराहरू आ–आफ्नो काममा व्यस्त छन् ।

बाबुकाजी भन्छन्, ‘हामीहरूले भत्ता लिनै नजाने सोच बनाएका थियौं । घरमै आएर दिन आउँदा जनप्रतिनिधि आएको महसुस भयो ।’ उनले पनि यो पैसा समाज विकासमा लगाउने बताए ।

न्याँखा चोककै ८० वर्षीय माइला शाक्य खुट्टाका बिरामी हुन् । बैसाखीको सहाराले मुस्किलले हिंड्डुल गर्छन् । ‘वृद्धभत्ता लिन झिसमिसेमै उठेरर हिंड्नुपर्छ । एक पटक छोटकटी बाटो गल्ली भएर गा:बहालस्थित बैंकसम्म पुगेर पैसा लिएर फर्कें,’ उनले भने, ‘बाटोमा रिंगटा लागेर लड्ने डरले पछि गइनँ । हातखुट्टा झमझमाउने समस्या छ ।’

यी तीन प्रतिनिधि पात्र मात्र हुन् । ललितपुर महानगरपालिका १६ मा ३ सय २५ जनाको घरधुरीमा पुगेर भत्ता वितरण गर्न वडा सदस्य पञ्चवज्र वज्रचार्य सक्रिय रहे । ‘अब २ सय ३५ जनालाई तिहार अगाडि वितरण गर्नेछु,’ उनले भने, ‘बैंकले ज्येष्ठ नागरिकका सम्बन्धित व्यक्तिलाई वडाको सिफारिसमा रकम उपलब्ध नगराएपछि वृद्धवद्धाले दु:ख भोग्नुपरेको देखेर घरदैलो अभियान चलाएका हौं ।’

उनका अनुसार नगरका अधिकांश अपांग, वृद्धवृद्धा र विधवालाई भत्ता लिनकै लागि बैंकसम्म धाउन गाह्रो पर्ने गरेको छ । ‘सरकारले स्थानीय तहबाट भत्ता वितरण गर्दा अनुगमन गर्न नसक्दा आर्थिक हिनामिना भएको भन्दै बैंकबाट वितरण गर्‍यो,’ उनले भने, ‘चुनावका बेला घरघरमा भत्ता वितरण गर्ने भनिएअनुसार कार्यान्वयन गरेका हौं ।’

मासिक २ हजारका दरले चार महिनाको ८ हजार रुपैयाँ वितरण गरिएको छ । सरकारले नगरपालिकाको खातामा पैसा जम्मा गरिदिन्छ । नगरपालिकाले वडाअनुसार फरक–फरक स्थानको बैंकमा जम्मा गरिदिन्छ । ललितपुर महानगरपालिका १६ को गा:बहालस्थित नेपाल बैंकमा परेको थियो ।

ललितपुर महानगरपालिका १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सरकारले दिने वृद्धभत्ता खानेहरूको तालिकामा पूरा ठेगाना नभएको र कसैको नागरिकता नभएकाले सम्बन्धित व्यक्ति भेट्न गाह्रो परिरहेको बताए । ‘दोहोरो भत्ता लिनेलाई लक्षित गरी सूचना प्रकाशित गरिसकेका छौं,’ उनले भने, ‘पेन्सन खाने व्यक्तिहरूले धमाधम फिर्ता गरिरहेका छन् ।’ ललितपुर महानगरपालिका–११ ले पनि इखाछेँ, कुम्भेश्वर, चोबुननी, पाटन ढोका, त:ननी टोलमा पुगेर वृद्धभत्ता वितरण गरिसकेको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?