कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्ह:पूजा : फेरिंदै विधि

प्रशान्त माली

ललितपुर — प्रत्येक वर्ष नेपा: संवत्अनुसार तिहार (यमपञ्चक) को प्रतिपदा तिथिमा मनाइने म्ह: (शरीर) पूजा र भोलिपल्ट मनाइने भाइटीका हर्ष र उल्लाससाथ मनाइयो । नेवारहरूको सबभन्दा ठूलो चाड स्वन्ति: (तिहार) म्ह:पूजा हो ।

शुक्रबार नेवार जातिले म्ह:पूजा (आफ्नो शरीरलाई पूजा गर्ने) गरी सुगन (हाँस वा कुखुराको फुल) लिई एकाआपसमा ‘न्हु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना)’ आदानप्रदान गरी मनाएका छन् ।


ऊ ह्रिं स्वाहा ।।

काय विशोधने स्वाहा ।।

वाक विशोधने स्वाहा ।।

चित्त विशोधने स्वाहा ।।


यो मन्त्र म्ह:पूजा गर्दा घरको मुख्य व्यक्तिले पढ्ने गर्छन् । यसमा कायको अर्थ शरीर, वाकको बोली र चित्तको मन भन्ने बुझिन्छ । विशोधने स्वाहाले शुद्ध हुने भन्ने बुझिन्छ । विधिपूर्वक म्ह:पूजा गर्नसके यसको महत्त्व स्वाभाविक रूपमा वृद्धि हुने संस्कृतिविद् छत्रबहादुर कायस्थ बताउँछन् । ‘तर अहिले म्ह:पूजा गर्ने तरिका समयानुकूल परिमार्जन हुँदै गएको छ,’ उनी भन्छन्, ‘शान्ति स्वस्ति गर्ने, गराउने नेपा: (नेपाल) को पुलागुं (पुरानो) संस्कृति हो ।’


उनका अनुसार कुनै पनि आपत् विपत् र भयबाट पार लागेमा शान्ति स्वस्ति गर्ने गरिन्छ । अहिले पनि कोही ठूलो दुर्घटनाबाट बच्यो भने संग (सगुन) लिने, दिने चलन छ । नयाँ कार्य थालनी गर्ने समय, नयाँ ठाउँमा जाने बेला र नयाँ घरमा भित्रिने बेला शान्ति स्वस्ति गर्ने प्रचलन हराएको छैन ।


म्ह:पूजाका बेलामा केवल पूजाआजामा खाने, पिउने मात्र नभई धौ, खेय् र न्या संग (दही, अण्डा, सुक्ति माछा सगुन) लिने गरिन्छ । यसको संकेत भनेकै भयबाट पार पाउनु र भविष्य सुन्दर बनोस् भन्ने रहेको संस्कृतिविद् कायस्थ बताउँछन् ।


लिच्छविकालीन सहर काठमाडाैंको पुरानो बस्ती विशालनगरमा भीषण आगलागी भएको जनकथन छ । अग्निकाण्डबाट बचेकाहरू बस्तीको पश्चिमपट्टि सरेको अग्रजहरूले बताएको सुनाउने ज्येष्ठ नागरिकहरू अहिले पनि छन् । अग्निकाण्डबाट भय टरेको ‘एउटा’ र नयाँ ठाउँमा बास बसेको गरी दुइटा हना: (जोडी) ले खुसी, सुखका रूपमा शान्ति स्वस्ति गरेको हुन सक्ने उनी भन्छन्, ‘यही पछि गएर चाडपर्वका रूपमा विकसित भएको हुन सक्छ ।’ उनका अनुसार उत्तम कार्य कृष्णपक्षभन्दा शुक्लपक्षमा गर्ने गरिन्छ ।


‘कात्तिक शुक्लपक्ष प्रतिपदाको दिन नयाँ संवत् फेर्ने दिनमै म्ह:पूजा गरेको पनि हुन सक्छ,’ उनले भने ।

नेपा: मा म्ह: (शरीर) लाई महत्त्व दिई पूजा: गर्ने सिद्धान्त लीलावज्रले प्रतिपादन गरेको भन्ने कथन पनि छ । लीलावज्र लिच्छविकालीन समयका हुन् । उनी तक्षशीला, विक्रमशील महाविहारका प्राध्यापक हुन् । देवता र मानिसको शरीरको त: धं (ठूलो महत्त्व) छ । मानिस शरीर देहपूजा गर्ने लायकको छ । द्य: पिनिगु (देवता) को मूर्तिमा तान्त्रिक शक्तिद्वारा जीवन्यास गर्ने पनि मानिस नै हुन् । खोजीनीति गर्ने हो भने हाम्रो शरीरमा पनि सबै देवीदेवता र तीर्थस्थलसमेत रहेको महत्त्वलाई बुझेर म्ह:पूजा गरिएको उनको भनाइ छ ।

म्ह: पूजा गर्नुअघि नुहाइधुवाइ गरी चोखो लुगा लगाएर पूर्व सम्मुख पारेर एक–एक वटा मन्द: (मण्डल) तयार पारिन्छ । मन्द चिंक (चिंक मण्ड), तायु, आँखे वा (धान), हाकु मुस्या (कालो भटमास), ग्व: गु माय् इत्यादि राखी बनाइन्छ । त्यसमा फलफूल त:सि (बिमिरो), झमसी, आमासी, पासी, खोसी (ओखर), केरा, लै (मूला), स्यांगली, बयल, अम्बा, भोगटे र अरू मौसमी फल राखिन्छ । अनि त:सि माथि खेलुइता:, तपुगु जंजका, स्वामा: स्वा (फूलको माला) राखिन्छ ।


पूजा भलयमा (पूजा राख्ने थाल), जाकी (अक्षता), धू (धूप), म्हासु (पहेंलो रङ), हयाउ (रातो रङ) सिन्ह:, अबिर, ताय, इता, जंजका, स्वा (फूल), समयबजी (प्रसाद), सादुदु (गाईको दूध), थ्व: (जाँड), अय्ला (रक्सी) र सिसाफुसा (सलाद) राखिन्छ ।


त्यसपछि मन्दमा घरका मूल थकाली माथि र अन्य सदस्य क्रमश: ज्येष्ठका आधारमा तल बस्छन् । सर्वप्रथम थकालीद्वारा शंखको पानीले चोख्याइ सुकुन्दा, बिमिरोलगायत अन्य फलफूललाई पूजा गरी अध्र्य दिइन्छ । पूजा गर्दा सम्यक सम्बुद्धका रूपमा आएका पुष्पकेतु राजालाई नमस्कार गरी स्वाँ (फूल), धू, धूप, सिन्ह, जाकी (अक्षता), चिउरा, मही, फलफूल, पेय पदार्थ र दक्षिणा आदि राखी मन्त्रसहित

पूजा गरिन्छ ।


यस दिन राष्ट्रिय विभूति शंखधर साख्वाले देशका जनतालाई ऋण मुक्त गराई चलाएको नेपाल संवत् पनि फेर्ने गरिन्छ । विधिपूर्वक म्ह:पूजा गरेमा संकट आदि दशा निर्मूल हुने, द्वादशा हट्ने, सप्तविशक्ति नक्षत्र आदि अनुकूल हुने, कार्य र मन्त्र सिद्धि प्राप्त हुने, सबै सत्व जगत्मा शान्ति हुने र देव, मनुष्य, राक्षस, यक्ष, किन्नर र प्रेत आदिको उद्धार हुने विश्वास छ ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?