कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यानमारा ढल

प्रशान्त माली

ललितपुर — शंखमूलबाट पाटनको मुख्य बस्ती पुग्ने यूएन पार्क–कुम्भेश्वर सडक उपत्यकाको व्यस्त बाटो हो । ललितपुर महानगरपालिका–११ वडा कार्यालय पुग्ने मुख्य सडक पनि यही हो । सडकको बीचमा साढे ४ फिट अग्लो ढल छ ।

ज्यानमारा ढल

ढलको मंगाल कुम्भेश्वर छिर्ने सडकको मुखैमा छ । सातदोबाटो, बटुकभैरव, लगनखेल, कुमारीपाटी, मंगलबजार, महापाल, गा:बहाल, कुम्भेश्वर क्षेत्रको पानी यही ढल भएर वाग्मतीमा मिसिने गर्छ । महानगरभित्रका मंगालहरूमध्ये सबभन्दा ठूलो भए पनि स्ल्याब भने राखिएको छैन ।


ढल छेउका वर्कसप सञ्चालक गोपाल श्रेष्ठ भन्छन्, ‘यो सडक भएर ठूला गाडी अत्यधिक चल्छन् । यसले गर्दा ढकनी पटकपटक राखे पनि फुट्ने गरेको छ ।’ उनले ढलमा बढी कुम्भेश्वर क्षेत्र पुग्ने मोटरसाइकल दुर्घटनामा पर्ने गरेको बताए । यस्तै अत्यन्त जोखिमपूर्ण ढकनी नभएको ढल लगनखेल–सिन्चाहिटी सडक, च्यासल ढोका–फुटबल मैदान सडकमा ५ स्थानमा छ । यसमा विद्यार्थी बढी फस्ने गरेको स्थानीय बताउँछन् । ताल्छीखेल सडक, एकान्तकुना, कुसुन्ती क्षेत्रका ढलमा पनि ठाउँ–ठाउँमा ढकनी राखिएको छैन ।


यस्तै ढकनी नभएको ढल महानगरको २९ वटा वडाभित्र ५३ वटा फेला परेको छ । ललितपुर महानगरद्वारा बिग्रेका ढल तथा मंगालको स्थलगत निरीक्षणका क्रममा यस्तो भेटिएको हो । महानगरले फोटोसहितको प्रतिवेदन तयार पारेको छ । सहरी क्षेत्रमा अधिकांश राणाकालीन ढल छ । यसलाई समायानुकूल फेर्न नसक्दा बेला बेलामा ढल जाम हुने गरेको छ । यसले सर्वसाधारणले वर्षौंदेखि दुर्घटनासँगै दुर्गन्ध सहनुपरेको लगनखेल थति टोल सुधार समितिका अध्यक्ष रमेश देउला बताउँछन् । भन्छन्, ‘पैदल यात्रुलाई पानी जमेर हिउँदमा भन्दा बर्खामा बढी समस्या हुने गरेको छ ।’


खुमलटार क्षेत्रमा भने ढल फुटेको छ । गुसिंगाल जाने बाटोमा मंगाल माटोले पुरेको छ । वर्षामा भेल बग्ने ठाउँमा पनि यही हो । त्यस्तै मंगलबजार चोकको पूर्वपट्टि ढल सडकमा बगेको छ । पाटन दरबार क्षेत्र, सुन्धारा, गोल्डेन टेम्पल, कुम्भेश्वर, शंखमूललगायत क्षेत्रमा घुम्न आउने पर्यटक नाक थुनेर यात्रा गर्न बाध्य छन् ।


अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुनु समस्याको मुख्य कारण भएको नगरवासी बताउँछन् । मंगलबजारमा पसल व्यवसायी गर्ने भूपेन्द्र अमात्य भन्छन्, ‘प्रत्येक वर्ष ठेकेदारले सडक कालोपत्रे गर्नेदेखि ढल बनाउने गरे पनि सडकमा ढल बग्न छोडेको छैन ।’ उनले ढलको अवस्थाबारेमा विस्तृत सर्वेक्षण गर्नुपर्ने बताए ।


महानगरको प्रतिवेदनअनुसार २ नम्बरमा कालोपुल जाने सडक क्षेत्रका ४ स्थान, निर्माणाधीन वडा कार्यालयसँगै, मनमोहनपार्कलगायत ११ स्थानमा स्ल्याब राखिएको छैन । उक्त क्षेत्रमा आरसीसी ढलानको सट्टामा फलामको ढकनी राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।


३ नम्बरमा पुल्चोक विद्युत् प्राधिकरण कार्यालयको मूल सडकमा तीन स्थानमा ढकनी फुटेको, सानेपा हाइट मलेसियन दूतावास सडकमा ढलमा स्ल्याब नभएको, ४ नम्बरमा दुई स्थानमा जस्तापाताले मंगाल छोपेको, ५ स्थित लगनखेल महालक्ष्मी जाने बाटोमा कालोपत्रे गर्दा मंगाल छोपेको प्रतिवेदनमा उल्लेख छ । महापाल–कुम्भेश्वरको निकास पाइप सानो छ । मंगालमा बालुवा, रोडा र ग्राभेल भरेको छ ।


प्लास्टिक, बोरा, कपडाले जाम भएको छ । शंखमूलस्थित शंखपार्क बाटोमा मंगाल नै छैन । यस्तै समस्या १०, ११, १४ नम्बरमा ३/३ स्थान र १३ नम्बरमा ६ स्थानमा छ । ललितपुर महानगरका वरिष्ठ इन्जिनियर रुद्रप्रसाद गौतमले ढल चाँडै मर्मत गरिने बताए । ‘स्थलगत निरीक्षण भर्खर सकियो,’ उनले भने ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?