कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षाका लागि प्रहरी र समुदाय सक्रिय

जिल्लाका ६ वटै स्थानीय तहसँग सम्झौता
प्रशान्त माली

ललितपुर — समाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, अपराध रोकथाम, सुरक्षा व्यवस्थापनमा जनसहयोग र सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर जावलाखेल र ललितपुरका ६ स्थानीय तहबीच ‘समुदाय–प्रहरी साझेदारी’ सम्झौता भएको छ ।

सुरक्षाका लागि प्रहरी र समुदाय सक्रिय

सम्झौताअनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समुदाय प्रहरी जिल्ला समिति र गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा सामुदाय प्रहरी पालिका समितिसमेत गठन गरिएको छ ।


ललितपुर प्रहरीले महानगर, महालक्ष्मी नगर, कोन्जोसोम, महांकाल र वाग्मती गाउँपालिकामा पालिकास्तरीय समिति गठन गरिने जनाएको छ । पालिका समिति कार्यान्वयमा आइसकेपछि प्रहरी जनशक्तिको उपलब्धता र व्यवस्थापन क्षमताअनुसार क्रमिक रूपमा समुदाय–प्रहरी वडा समिति गठन गरिनेछ । वडा समिति कार्यान्वयमा आइसकेपछि टोलस्तरमा समिति गठन गरिने योजना छ ।


महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रवीन्द्रबहादुर धानुकले यो महिनाभित्र सम्बद्ध सरोकारवालालाई समेटेर बाँकी स्थानीय समिति गठन गरिसक्ने बताए । ‘यसका लागि समन्वय भइरहेको छ,’ उनले भने, ‘त्यसपछि क्रमश: प्रहरी विद्यालय सम्पर्क समिति पनि गठन गरिनेछ ।’ उनले समिति गठनपछि स्थानीय तह र प्रहरी इकाइबीच समन्वयबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रूपमा अगाडि बढाउने योजना रहेको बताए ।


जिल्ला समितिको सल्लाहकारमा प्रमुख जिल्ला समन्वय समिति, ललितपुर महानगरका मेयर, जिल्ला प्रहरी प्रमुख सहसंयोजक र महानगरीय प्रहरी परिसर सामुदायिक सम्पर्क अधिकृत सदस्य सचिव रहेको छ । स्थानीय सरकारी निकाय, सामुदायिक प्रहरी सेवा केन्द्र, संघसंस्था, पूर्वप्रहरी कर्मचारीहरूको जिल्लास्थित संगठन, महिला तथा बालकालिकासम्बन्धी संघसंस्था, लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति, विद्यालय, अभिभावकसम्बन्धी संघसंस्था, सञ्चारकर्मी, जिल्ला उद्योग वाणिज्य संघ, बाल क्लब, नागरिक समाजका प्रतिनिधि र सरोकारवाला अन्य संघसंस्था सदस्य रहने व्यवस्था छ ।


पालिका समितिमा सम्बन्धित पालिकाका प्रमुख संयोजक, उपप्रमुख सहसंयोजक, जिल्ला प्रहरी प्रमुखले तोकेको सिनियर प्रहरी अधिकृत सहसंयोजक, वडाअध्यक्ष सदस्य र स्थानीय प्रहरी इकाइ प्रमुख सदस्य सचिव रहनेछ ।


वडा समितिमा वडाध्यक्ष संयोजक, समुदाय सम्पर्क प्रहरी सहसंयोजक, वडा सदस्य (सम्पूर्ण) सदस्य, समुदाय सम्पर्क प्रहरी सदस्य सचिव रहनेछ । वडा समितिमा वडा सदस्य संयोजक, टोलभित्रका घरधुरीमध्येबाट १० जना सदस्य, वडा समन्वय प्रहरी सदस्य सचिव रहनेछ । प्रत्येक समितिमा अन्य सरोकारवाला निकाय संघसंस्था सदस्य रहने व्यवस्था छ ।


गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष जगतबहादुर महर्जनले वडास्तर र टोलस्तरीय समिति गठन गर्न आतुर रहेको बताए । ‘समिति गठनले प्रहरीको दायित्वमा रहेको सामाजिक न्याय, सुरक्षा, मेलमिलाप समुदायको पनि जिम्मेवारीअन्तर्गत पर्न आउँछ,’ उनले भने, ‘यसले असल र सक्षम नागरिकको विकास गर्ने शिक्षा प्रणाली विकास हुनेछ ।’


उनका अनुसार विद्यालयस्तरमा समिति गठनले विद्यार्थी र अभिभावकमा सामुदायिक सुरक्षासम्बन्धी सचेतना वृद्धि गर्न मद्दत गर्छ । माध्यामिक स्तर वा आधारभूत शिक्षा सञ्चालन हुने विद्यालयमा प्रधानाध्यापक संयोजक, शिक्षक प्रतिनिधि (सम्भव भएसम्म खेलकुद शिक्षक) सदस्य, बाल क्लब सदस्य वा विद्यार्थी प्रतिनिधि (२/२ जना छात्र र छात्रा) सदस्य, अभिभावक प्रतिनिधि २ मध्ये १ महिला सदस्य र विद्यालय सम्पर्क प्रहरी सदस्य सचिव रहनेछ ।


पालिका समितिको सामुदायिक कार्यक्रमको योजना, समन्वय, सञ्चालन, अनुगमन तथा मूल्यांकन, संघ संस्था र नागरिक समाजका प्रतिनिधिसँगको मासिक अन्तरक्रिया सञ्चालन, राष्ट्रिय, प्रादेशिक र जिल्लास्तरीय कार्यक्रम कार्यान्वयन गर्ने, स्वयंसेवक छनोट गर्न जिल्ला समितिमा सिफारिस र सडकबत्ती, सुरक्षागार्ड, सीसीटीभी जडान गर्न प्रेरित गर्नेलगायत जिम्मेवारी छ ।


समुदाय–प्रहरी पालिका समिति गोदावरीका सल्लाकार गणेश मैनाली भन्छन्, ‘समाजमा प्रहरी भन्नेबितिकै हतियार बोक्ने, जनता दमन र कुटपिट गर्ने भन्ने मानसिकता छ तर त्यस्तो होइन । समितिले प्रहरी भनेका जनताका सेवक हुन् भन्ने भावनाको विकास गर्ने भूमिका खेल्नुपर्छ ।’


उनका जनता र प्रहरीबीचको प्रगाढ सम्बन्ध कायम राख्ने समितिको मुख्य उद्देश्य हो । ‘सबै जनता प्रहरी बनून् र अपराध निर्मूल समाजको विकास गर्ने लक्ष्य छ,’ उनले भने ।


जिल्लामा आपराधिक घटना बेरोजगारी, अशिक्षा, न्यून आयस्रोत, गरिबी, लागू औषध दुव्र्यसन, बढदो अव्यवस्थित सहरीकरण र अस्थिर जनसंख्या (बसाइँ/सराइ) लगायत कारणले घटिरहेका छन् ।


मैनाली भन्छन्, ‘सबै समितिका सल्लाहकार बोलाएर पालिकामा कस्ता किसिमका अपराध घट्छन् । त्यसलाई निराकरण गर्न सामूहिक अवधारणा बनाएर अगाडि बढ्ने र मुलुकको नमुना समिति बनाउने योजना छ,’ उनले नाम मात्रको समिति हुन दिने बताए । ‘म झकझक्याउनेछु,’ उनले भने ।

प्रकाशित : कार्तिक २७, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?