१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नगरकोटमा पर्यटकलाई दोहोरो शुल्क खारेजीको माग गर्दै प्रदर्शन

कान्तिपुर संवाददाता

भक्तपुर — नगरकोट आउने पर्यटकलाई दुई स्थानीय तहले छुट्टाछुट्टै लिएको प्रवेश सेवा शुल्क खारेजीको माग गर्दै माइतीघरमा बिहीबार प्रदर्शन गरिएको छ ।

नगरकोटमा पर्यटकलाई दोहोरो शुल्क खारेजीको माग गर्दै प्रदर्शन

काभ्रेको मन्डनदेउपुर र भक्तपुरको चाँगुनारायण नगरले छुट्टाछुट्टै शुल्क लिएको विरोधमा नगरकोट नाल्दुम पर्यटन विकास समितिको नेतृत्वमा स्थानीयवासी, पर्यटन व्यवसायी तथा मजदुर विरोधमा उत्रेका हुन् ।

काभ्रे र भक्तपुरको सीमाको पर्यटकीय गन्तव्य नगरकोट पुग्ने पर्यटकसँग दुवै स्थानीय तहले प्रवेश शुल्क लिँदै आएका छन् । त्यसको विरोधमा स्थानीय, पर्यटन व्यवसायी तथा मजदुरले एक महिनादेखि दबाबको कार्यक्रम गर्दै आएका छन् ।


न्यु दक्षिणकाली सप्लायर्सले साउन १ गतेबाट चाँगुनारायण नगरपालिका–६ तेलकोट र ८ कलमसीबाट पर्यटक प्रवेश सेवा शुल्क उठाउँदै आएको छ । कम्पनीले चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने पर्यटकसँग समेत शुल्क लिन पाउँछन् ।


मन्डनदेउपुर नगरपालिका काभ्रेले गत असोज २९ बाट नगरकोट आउने पर्यटकसँग प्रवेश शुल्क लिन थालेको हो । मन्डनदेउपुरको सूचनामा ०७५/७६ का लागि नगरपालिका अन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यु टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउने गरी मञ्जरी निर्माण सेवालाई १ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।


सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति ३ सय ३९ रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (करबाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउँदै आएको छ । चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका पर्यटकसँग २ सय र अन्य राष्ट्रका पर्यटकहरूसँग ३ सय प्रवेश शुल्क लिंदै आएको छ ।


चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्ष ०७४/७५ मा पनि पर्यटन प्रवेश सेवा शुल्क उठाउँदै आएको थियो भने मन्डनदेउपुर नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ को असोज २९ बाट उठाउन थालेको हो । ३ सय मिटरको दूरीमा दुई नगरपालिकाले छुट्टाछुट्टै प्रवेश शुल्क उठाउन थालेपछि विवाद चुलिएको हो ।


दोहोरो शुल्ककै कारण नगरकोट अवलोकनका लागि आउने पर्यटकको संख्या ३० प्रतिशतले घटेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामा बताउँछन् ।


दोहोरो शुल्क लिन थालेपछि सुन्दरीजल–नगरकोट, नगरकोट–धुलिखेल, चिसापानीबाट नगरकोट हुँदै धुलिखेल पदयात्रा गर्ने पर्यटकलाई थप असर परेको उनीहरूको गुनासो छ ।


पूर्वाधार विकास नभई पर्यटकसँग शुल्क लिनु कानुनविपरीत भएकोसमेत उनीहरू बताउँछन् । पार्क, बसपार्क, शौचालय, पर्यटन सूचना केन्द्र, सडक, फोहोर व्यवस्थापन, सडक बत्ती निर्माण गरेपछि मात्र शुल्क उठाउन सुझावसमेत दिएका छन् । दोहोरो पर्यटक शुल्ककै कारण नगरकोट ल्याउन छोडेर ट्राभल एजेन्सीहरूले धुलिखेललगायत अन्य स्थानमा पर्यटकलाई पठाउन थालेको पर्यटन व्यवसायी अशोक थापाले बताए ।


एकै स्थानमा दोहोरो प्रवेश शुल्क लिँदै जाँदा सन् २०२० लाई पर्यटन वर्ष मनाउने लक्ष्य नै विफल हुने स्थानीय व्यवसायी कृष्ण तामाङ बताउँछन् । दुई स्थानीय तहले लगाएको प्रवेश शुल्क खारेज नभए होटल बन्द गरेर सडकमा आउन बाध्य हुने र नगरकोटमा ताला लगाउने उनीहरू बताउँछन् । चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र र मन्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवाले भने पर्यटन शुल्कको विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?