२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

माइक्रोबस चालकलाई ड्रेस कोड

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि माइक्रोबस चालक र परिचालकलाई अनिवार्य ड्रेस कोडको व्यवस्था गरेको छ । चालक र परिचालकमा एकरूपता ल्याउन त्यस्तो व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले बताए ।

माइक्रोबस चालकलाई ड्रेस कोड

चालकलाई सुन्तला रङ (फ्लोरोसेन्ट) र परिचालकलाई हरियो रङ (फ्लोरोसेन्ट) को पोसाक तोकिएको छ । नलगाउनेलाई कडा कारबाही गरिने उनले बताए ।


माइक्रोबसको अगाडि र पछाडि स्पष्ट बुझिने गरी गन्तव्य रुट प्लेट पनि लगाइने उनले बताए । ‘यसले गर्दा यात्रु झुक्किने, अलमलमा पर्ने सम्भवना कम हुन्छ,’ उनले भने, ‘त्यसका लागि यातायात राष्ट्रिय व्यवसायी महासंघसँग पनि छलफल भइसकेको छ, उहाँहरू पनि सकारात्मक हुनुहुन्छ ।’ व्यवसायी र प्रहरीले संयुक्त रूपमा उद्घाटन गर्ने भन्दै उनले त्यसका लागि सम्पूर्ण तयारी भइसकेको बताए ।


यसअघि ट्याक्सी चालकलाई पनि अनिवार्य ड्रेस कोडको व्यवस्था गरिएको छ । साथै, ट्याक्सीको भित्रपट्टि अनिवार्य रूपमा नम्बर राख्न थालेपछि यात्रुले ट्याक्सीको पहिचान गर्न सजिलो भएको उनले बताए । ‘ट्याक्सीभित्र समान छुटेमा यात्रुले ट्राफिकलाई सजिलै नम्बर टिपाउन थालेका छन्,’ उनले भने, ‘ड्रेस लगाउँदा चालक र परिचालक अनुशासित हुन्छन् ।’


विस्तारै बसका चालक र परिचालकलाई पनि ड्रेस अनिवार्य गरिने उनले बताए । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले ड्रेस कोडले चालक पेसाप्रति मर्यादित हुन थालेको बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?