कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भिडियो खिचेर बारम्बार बलात्कार गर्ने पक्राउ

आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो
जनकराज सापकोटा

काठमाडौँ — जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

भिडियो खिचेर बारम्बार बलात्कार गर्ने पक्राउ

आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् ।

पीडित युवती सम्पर्कविहीन भएपछि प्रहरीले पाख्रिनलाई अदालतबाट म्याद थपेर थुनामा राखिरहेको थियो । आरोपितले युवतीलाई प्रभावमा वा दबाबमा पारेर सम्पर्कविहीन बनाउन खोजेको वा बाहिरै लेनदेनका आधारमा मुद्दा मिलाउन सक्ने आशंका गर्दै प्रहरीले पीडित युवतीको खोजी तीव्र पारेको थियो । अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रलोभन वा दबाबमा परेर घटनामा बाहिरै मिलापत्र भयो कि भन्ने शंकाका आधारमा हामीले पीडितलाई खोजिरहेका थियौं ।’

उजुरीको १९ दिनपछि सोमबार युवती आफ्ना आफन्तसहित प्रहरी कार्यालय पुगेपछि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको थप बयान र पक्राउ परेका व्यक्ति नै आरोपी हुन् वा होइनन् भनेर सनाखत गरेको छ । युवती उपस्थित भएलगत्तै सरकारी वकिलमार्फत अदालतमा मुद्दा लैजाने तयारी सुरु भएको प्रहरी परिसर ललितपुरका डीएसपी शेखर खनालले बताए ।

युवतीको बयानअनुसार घटना गत असोज १ गतेको हो । कामको खोजीमा निस्केकी उनलाई ललितपुरको ज्वागलमा खरानी रङको स्कार्पियोमा आएका व्यक्तिले गाडी रोकी कहाँ जाने भनेर सोधे । उनले आफू कुसुन्ती जान लागेको बताइन् । ती व्यक्तिले आफू पनि त्यतै जान लागेकाले पुर्‍याइदिने आश्वासन दिए । उनी गाडीमा चढिन् ।

प्रहरी परिसर ललितपुरमा युवतीले दिएको जाहेरीमा लेखिएको छ, ‘कुसुन्ती लगिदिने भनेका ती गाडीवालले मलाई आफ्नो अफिस पुर्‍याए ।’ त्यो हाउजिङको अफिस रहेको र उनले आफूलाई काम गर्ने मानिस चाहिएको भन्दै जागिर प्रस्ताव गरेको जाहेरीमा उल्लेख गरिएको छ । ‘मलाई पनि काम गर्ने मान्छे चाहिएको छ, महिनाको २० हजार दिन्छु,’ ती मानिसले भनेको उद्धृत गर्दै जाहेरीमा लेखिएको छ । यस्तो आश्वासनको केहीबेरपछि ती व्यक्तिले जबर्जस्ती करणी गरेको आरोप युवतीले लगाएकी छन् ।

युवतीले जाहेरीमा लेखेकी छन्, ‘जबर्जस्ती करणीको भिडियो बनाएर उसले सोही भिडियो देखाउँदै मलाई पटक–पटक इच्छाविपरीत करणी गर्दै आइरहेकाले बाध्य भएर यो जाहेरी दिन आएकी हुँ ।’

उक्त घटनालाई नजिकबाट नियालिरहेका प्रहरी अधिकारीका अनुसार बाटोमा हिँडिरहेकी युवती देख्नेबित्तिकै पाख्रिनले किन गाडी रोके ? अपरिचितले गाडी रोकेकै आधारमा ती युवती किन गाडीमा चढिन् भन्ने प्रश्नको उत्तर खोज्ने काम भइरहेको छ ।

प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले भने, ‘घटना अलिक गम्भीर प्रकृतिको छ । त्यही भएर हामी सबै कोणबाट यसको अनुसन्धान अगाडि बढाइरहेका छौं ।’

प्रकाशित : मंसिर ४, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?