१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बद्रीनाथ पुरानै शैलीमा

भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले बद्रीनाथ मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरेको छ ।

बद्रीनाथ पुरानै शैलीमा

१९९० सालको भूकम्पका कारण भत्किएको भक्तपुर दरबार स्क्वायर परिसरको मल्लकालीन मन्दिरलाई विभागले करिब ८४ वर्षपछि भूकम्पअघिकै स्वरूपमा मौलिक शैलीमा निर्माण गरेको छ ।


१९९० को भूकम्पका कारण भत्किएको शिखर शैलीको मन्दिर पुनर्निर्माण गर्दा राणाहरूले छाना छाइदिए । ८ दशकपछि विभागले पुरातात्त्विक प्रमाणका आधारमा आर्थिक वर्ष ०७३/७४ मा मन्दिरको गुमेको स्वरूप फिर्ता ल्याएको हो ।


आउने पुस्तालाई सम्पदा बचाउन अभिप्रेरित गर्न तथा पौराणिक स्वरूपबारे जानकारी दिन बद्रीनाथलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको पुरातत्त्व विभाग भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए ।


मन्दिर पुनर्निर्माणका लागि विभागले करिब ४९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । १० फिट ६ इन्च लम्बाइ र चौडाइका साथै ४१ फिटको उचाइमा पुनर्निर्माण भएको मन्दिरमा इँटा र चुनासुर्कीको जोडाइ छ । मन्दिर पुनर्निर्माणमा परम्परागत निर्माण सामग्री डाँची अपा, मां अपा, चुनासुर्कीको प्रयोग भएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । पुरातात्त्विक सामग्री उपयोग गरी निर्मित संरचनाले नयाँ पुस्तालाई निर्माण प्रविधिबारे जानकारीसमेत दिने विभागको अपेक्षा छ ।


इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बद्रीनाथ १४ औं शताब्दीमा यक्ष मल्लको समयमा बनेको हो । दर्शनका लागि नेपालमण्डलभन्दा टाढा जान नपरोस् भन्दै यक्ष मल्लले दरबार स्क्वायर परिसरमै चारै धाम बनाउन लगाएको डा. श्रेष्ठ बताउँछन् ।


परिसरभित्र नै बद्रीनाथ, केदारनाथ, रामेश्वर र जगन्नाथ मन्दिर छन् । मृणमय अर्थात इँटा नै इँटाले बनेको मन्दिर पुनर्निर्माणसँगै चार धाममध्ये तीनले पूर्णता पाएका छन् । दरबार स्क्वायर परिसरमै अवस्थित चार धाममध्येको जगन्नाथ मन्दिर भने मौलिक शैलीमा पुनर्निर्माण हुन सकेको छैन ।


यद्यपि विभागले जगन्नाथ मन्दिरलाई समेत पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । हाल जगन्नाथ मन्दिरको स्वरूपमा नभई मूर्तिलाई ढाक्ने छानोमुनि राखिएको छ । जगन्नाथ मन्दिरमा नित्यपूजासमेत सञ्चालन भइरहेको इतिहासविद् श्रेष्ठले बताए ।


त्यसैगरी, विभागले दरबार स्क्वायर परिसरकै फसिदेवल (सिलु महादेव) मन्दिरलाई पुरानै शैलीमा पुनर्निर्माण थालेको छ । उक्त मन्दिर ०७२ वैशाखको भूकम्पमा पूर्णरूपमा क्षतिग्रस्त भयो । १९९० को भूकम्पले ढलेको मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण भयो ।


०७२ वैशाखको भूकम्पपछि विभागले गुम्बज शैलीमा पुनर्निर्माण नगरी विज्ञको सुझाव तथा प्राप्त पुराना प्रमाणका आधारमा मल्लकालीन स्वरूपको शिखर शैलीमा बनाउन लागेको इन्जिनियर श्रेष्ठले बताए । पीडीएनएको बहुवार्षिक योजनाअन्तर्गत पुनर्निर्माण थालिएको उक्त मन्दिरको करिब ४५ प्रतिशत कार्य सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?