कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगम घर जोगाउन जुटे किलागलवासी

प्रशान्त माली

काठमाडौँ — आगं छेँ अथवा तन्त्रमार्गीद्वारा देवता थापन गरिएको गुप्त कोठा । कुनै पनि देवी नाच मञ्चन गर्नुअघि देवगणले अनिवार्य रूपमा देवता साधना गर्नुपर्छ । जुन आगम घरमा गरिन्छ ।

आगम घर जोगाउन जुटे किलागलवासी

प्राय: देवी नाच सञ्चालन गर्ने गुठीको छुट्टै आगम घर हुन्छ । किलागल टोलको दी प्याँख (देवी नाच) भने छैन ।


गुठियारले नाच प्रदर्शन गर्ने समयमा परम्परादेखि काठमाडौं महानगर–१८ स्थित एक व्यक्तिको स्वामित्वको पेगोडा शौलीको मन्दिर भएको आगम घरमा पूजा गर्दै आइरहेका छन् । दी प्याँखका कजी (व्यवस्थापक) नातिकाजी महर्जन भन्छन्, ‘अहिले सबैमा धार्मिक आस्था छ । त्यसैले पूजा गर्न दिइरहेको छ । नयाँ पुस्ताको विचार फरक हुन सक्छ । त्यतिबेला देवता साधान गर्न समस्या हुन सक्छ ।’


उनका अनुसार अहिले उक्त घरका मालिकले गुठियारलाई बिक्री गर्ने प्रस्ताव गरेको छ । ‘खरिद गर्न जनस्तरबाट ५० लाख जुटाइसकेका छौं,’ उनले भने ।


आगम घर खरिद गर्न उनीहरू एक वर्षदेखि जुटिरहेका छन् । अहिले नाचका लागि आवश्यक बहुमूल्य मुकुट, गरगहना तथा कलेवर पोसाक सुरक्षित गर्न महर्जनले घरको एउटा फ्याट नै छुट्याउँदै आएको छ । बाजागाजा राख्न गुरु इन्द्र महर्जनको घरमा व्यवस्थापन गर्दै आइरहेको छ ।


प्रत्येक वर्ष साउनमा चौथी पूजा गरेर एक महिना देवगण तालिम दिनुपर्छ । त्यो पनि गुरुकै घरमा गर्दै आइरहेको छ । संस्कृति सम्पदा संरक्षण गरेबापत उनीहरूले पारिश्रमिक भने पाउने गरेका छैनन् ।


‘अहिले मेरा र गुरु महर्जनका छोराहरू नाचप्रति आकर्षित छन् । उनीहरूजस्तै नातिनातिनाहरू नहुन सक्छ । त्यतिबेला नाचका सामान र प्रशिक्षण दिन स्थानको अभाव हुनसक्छ,’ कजी महर्जनले भने, ‘आगम घर भएमा त्यहाँ व्यवस्थापन गर्न सकिन्छ । यसले नाचको दिगो संरक्षण हुनेछ ।’ अहिले कजीले मात्र दैनिक बिहान नृत्य र बेलुका आरती पूजा गर्दै आइरहेको छ ।


सर्वसाधारणले पूजा गर्न पाएका छैनन् । त्यसमाथि कोरबस्ती बाहिरका स्थानमा राख्न लैजान नमिल्ने धार्मिक मान्यता छ । आगम घर व्यवस्थापन गर्न सकेमा दैनिक देवता दर्शन गर्न सर्वसाधारणलाई पनि खुला गर्न सकिने गुठियारको भनाइ छ । यसले काठमाडौं महानगरलाई पनि आम्दानी पनि हुने गुठियारको विश्वास छ ।


अहिले गुठियार आगम घरको मूल्य सोचेभन्दा बढी राखेकाले खरिद गर्न नसकिएकी भन्ने चिन्तितमा छन् । नाच नचाउने डबली र पाटी अतिक्रमणमा परेकामा पनि दु:खित छन् । देवी नाच प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा ७ वटा डलबीमा नचाइन्छ ।


इन्दचोकको डबली सडकमा परिणत भइसकेको छ । नेपाल भाषामा वंघ: भनिने इन्द्रचोकबाट न्युरोड जोड्नेक्रममा डबलीको अस्तित्व मेटेको हो । गुठियारले डबली रहेको स्थानमा ढुंगा छाप्न महानगरलाई अनुरोध गरेको छ । ‘चारैतिर पाटीले घेरिएको डबली थियो । इन्द्रचोकमा कुमारीको रथ तान्ने बेलामा सबै जना पाटीमा बसेर नाच हेर्थे,’ गुरु महर्जन सम्झन्छन्, ‘हाल नाच सडकको बीचमा नाच प्रदर्शन गर्न बाध्य छाैं ।’


हनुमान ढोका दरबार क्षेत्रको कालभैरव मूर्ति प्राङ्गणको डबलीबीचमा दियो बाल्ने पाला राख्ने स्थल बनाइएको छ । यो ५ वर्षअघिसम्म थिएन । यसले नाच देखाउन मात्र नभई पर्यटकलाई फोटो खिच्न, अवलोकन गर्न र भक्तजनलाई पूजापाठ गर्नसमेत अप्ठ्यारो पारेको छ ।


यसलाई हटाउन काठमाडौं क्षेत्र नम्बर ८ का सांसद राजेश शाक्य पनि लागि परेका छन् । ‘हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यालयले राख्न दिन नहुने थियो,’ उनले भने । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख उदय पसखलले फुटपाथ व्यापारीले व्यक्तिगत स्वार्थका लागि राखेको पाला चाँडै हटाइने बताए । ‘यसमा स्थानीयले साथ दिनुपर्छ,’ उनले भने । बांगेमुढा टोलस्थित डबलीको दक्षिणपट्टि पाटी छ । यहाँ नाच नचाउने बेलामा पाटीमा बसेर बाजा बजाउने, गीत गाउने र प्रसादग्रहण गर्ने चलन थियो । संरक्षणको अभावमा अतिक्रमणमा परिसकेको छ ।


जैसीदेवलस्थित डबलमा पनि पाटी थियो । अहिले नाचका बेला प्रयोग गर्न नसकिने अवस्थामा पुगिसकेको छ । किलागल टोलको डबलीको दक्षिणतर्फ कलात्मक सत्तल छ । गुठियारका अनुसार यो पनि अत्तिक्रमण परिसकेको छ । नानिचा या: अर्थात् इन्द्रजात्राको अन्तिम दिन यहाँ नाच देखाउने चलन छ । परापूर्वकालमा निर्माण गरिएका यी डबली तथा पाटीपौवा अहिले संकटमा छ । तैपनि संरक्षण गर्न न स्थानीय टोलवासी, पुरातत्त्व विभाग न त जनप्रतिनिधिले नै ।


काठमाडौं महानगर २० वडाध्यक्ष राजेन्द्र मानन्धरले गुठियारले उजुरी दिएमा नापी विभागबाट नक्सा झिकाएर छानबिन थाल्ने बताए । ‘यसका लागि गुठियार सम्पर्कमा आउनुपर्‍यो,’ उनले भने । आगम घरबाट डबलीमा नाच प्रस्तुत गर्न जाँदा परम्परागत रुट भएर जानुपर्ने मान्यता छ । दोबाटो, चौबाटो, मन्दिर जाने बाटोमा महत्त्व हेरेर यात्रालाई रोकेर नाच प्रदर्शन गर्नुपर्ने चलन छ । यसलाई नेपाल भाषामा द्य: ल्हायेगु भनिन्छ । यी द्य: ल्हायेगु गर्ने व्यवस्थित छैनन् ।


किलागलबाट पहिला दुईवटा नाच निकालिन्थ्यो । अहिले देवी नाच मात्र निस्किन्छ । ख: प्याँख पूर्ण रूपमा लोप भइसकेको छ । देवी नाच गुरु महर्जन भन्छन्, ‘यी दुई नाच छुट्टाछुट्टै खलकबाट निकालिन्थ्यो । नाच राम्रो र भव्य बनाउन प्रतिस्पर्धा हुन्थ्यो । नाट्येश्वर पूजा गर्न बलि दिन नाचका खलकले गणेश मन्दिरमा राँगा बाँधेर राख्थे । कसको रागा ठूलो भने देखाउन प्रतिस्पर्धा पनि हुन्थ्यो । नाचमा पूजा गर्न ठूलो रागा व्यवस्थापन गर्न घरखेतसमेत बन्धकीमा राख्थे ।’ ‘तर, अहिले नाच लोप भएको दशकौ बितिसक्दा पनि पुन: सञ्चालन गर्न कसैले पहल गरेका छैनन्,’ उनले दु:ख व्यक्ति गरे ।


साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल पतिपदासम्म गुला पर्व अवधिभरि स्वयम्भू चैत्य परिक्रमा गरेर बाजा बजाइन्थ्यो । तर अहिले बादकहरू छैनन् । बाजा पनि लोप हुने अवस्थामा पुगेकोमा उनले चिन्ता व्यक्ति गरे ।

प्रकाशित : मंसिर १६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?