१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बालुवा वासिङको पानीले खोला प्रदूषित

मनोहरा दूषित, स्थानीय तह मौन
लीला श्रेष्ठ

भक्तपुर — बालुवा प्रशोधन गरेको पानी सिधै नदीमा मिसाउँदा मनोहरा खोला दूषित भएको छ । काठमाडौंको शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालित बालुवा प्रशोधन केन्द्र (बालुवा वासिङ सेन्टर) बाट बिनाप्रशोधन सिधै नदीमा मिसाएको फोहर पानीले नदी फोहोर भएको स्थानीयको गुनासो छ । 

बालुवा वासिङको पानीले खोला प्रदूषित

केही वर्षअघिसम्म भक्तपुरको चाँगुनारायण, काठमाडौंको कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिकाका बासिन्दाको पानीको मुख्य स्रोत मनोहरा खोला थियो । मनोहराकै पानी पिउने, नुहाउने/लुगा धुने गर्थे । पशु/पन्छीलाई पानी खुवाउने, खेतबारीमा सिँचाइ गर्ने नदीकै भर थियो ।


अहिले वासिङको धमिलो पानीले नदीको पानी प्रयोग गर्ने अवस्थामा नभएको स्थानीय बताउँछन् । शंखरापुर नगरपालिका सालीनदी हुँदै चाँगुनारायण नगरपालिका–४ नीलोपुलसम्म पानी कञ्चन छ । वासिङको पानी मिसाइएको क्षेत्र ब्रह्मखेल, बेंसी हुँदै जडीबुटीलगायत क्षेत्रसम्म आइपुग्दा नदी फिँजयुक्त तथा धमिलो देखिन्छ ।


धमिलो पानीले खेतबारीमा सिँचाइ गर्दा समस्या आएको स्थानीय एवं वडासदस्य दिनेश खनालले बताए । ‘रासायनिक पदार्थ मिसिएको धमिलो पानीले खेतबारीमा सिँचाइ गर्दा माटोको उर्वराशक्तिमा ह्रास आएको छ,’ उनले भने, ‘खेतबारीमा सिँचाइ गर्‍यो, पानी कुलेसोमा अडिरहन्छ । बालुवासहितको पाँगो हिलाले खेत झिज्न पाउँदैन ।’ खोलाको पानी धान खेतमा लगाउँदा खेत नै चिराचिरा परेको उनीहरू बताउँछन् ।


दुई नगरमा सञ्चालित करिब एक दर्जन वासिङबाट निस्किएको धमिलो पानी नदीमा मिसाउनु गलत भएको स्थानीयको गुनासो छ । दूषित पानीले खोलाको पानी प्रयोग गर्न सकिने अवस्थामा नरहेको चाँगुनारायण नगरपालिका–४ का पुरुषोत्तम पोखरेलले बताए । ‘हाम्रो पुस्ता मनोहरामा पौडी खेलेरै हुर्कियौं, यही माछा माथ्र्यौं,’ उनले भने, ‘दूषित पदार्थ मिसाइँदै गयो, जलचरसमेत मर्दै गएका छन् ।’


वासिङको पानीले मनोहरा दायाँबायाँको अन्न, हरियो तरकारी, आलुलगायत बालीमा समेत ह्रास आएको छ । ‘मनोहरा दायाँबायाँका सयौं रोपनी क्षेत्रफलमा आलु खेती हुन्थ्यो, सिँचाइको समस्याले आलु खेती कम हुँदै गएको छ ।’


बढ्दो सहरीकरण, बस्तीको ढल सिधै खोलामा सिधै मिसाएका कारण वाग्मतीको मुख्य सहायक नदी मनोहरा, हनुमन्ते दूषित हुँदै गएका छन् । वाग्मती सफाइका लागि अर्बौं खर्च भइसकेको छ भने, हनुमन्ते सफाइ अभियान चलिरहे पनि ठोस उपलब्धि हासिल भएको छैन । नगरको ढल र वासिङको पानी प्रशोधनबिना सिधै खोलामा मिसाउन्जेल नदी सफा नहुँने सरोकारवालाले बताउँदै आएका छन् ।


विकल्पमा केन्द्रीय, प्रदेश एवं स्थानीय सरकारले खोलाका प्लास्टिक संकलन गर्नेबाहेक दीर्घकालीन समाधानका योजना ल्याउन नसकेको गुनासो उत्तिकै छ । वासिङको पानी प्रशोधनपछि मात्र नदीमा मिसाइने हो भने नीलोपुलदेखि जडीबुटीसम्म सफाइका लागि अन्य विकल्प सोच्नु नपर्ने स्थानीयको सुझाव छ ।


कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष राजाराम पुडासैनीका अनुसार शंखरापुरमा ७ र कागेश्वरी मनोहरामा ५ गरी १२ बालुवा वासिङ सेन्टर सञ्चालनमा छन् ।


कुनै पनि वासिङले पानी खोलामा मिसाउनुअघि प्रशोधन गरेको छैन । दुई नगरको समन्वयमा वासिङ व्यवस्थापन तथा पानी प्रशोधनका विषयमा छलफल भइरहेको प्रवक्ता पुडासैनीले बताए । प्रशोधन नगरी सिधै नदीमा मिसाउने वासिङलाई सञ्चालनमा रोक लगाइने उनको भनाइ छ ।

प्रकाशित : मंसिर १७, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?