२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ

महानगर गुरुयोजना
विद्या राई

काठमाडौँ — बबरमहलस्थित काठमाडौं जिल्ला अदालत र विशेष अदालतको बीच सडकमा विशेष खालको आधुनिक जेब्राक्रसिङ बन्ने भएको छ ।

पैदलयात्रुलाई बाटो काट्न सहज हुने गरी चालकले टाढैबाट थाहा पाउने संकेतसहितको जेब्राक्रसिङ बनाउन लागिएको हो । यसका लागि सडक विभाग र यातायात विभागले सहकार्य गर्नेछन् ।


महानगरलाई ‘स्मार्ट सिटी’ बनाउने गुरुयोजनाअन्तर्गत माइतीघर–तीनकुने सडक खण्डलाई पैदलयात्रुमैत्री बनाउन बबरमहलमा अत्याधुनिक जेब्राक्रसिङ राख्न लागिएको हो । महानगरअन्तर्गत सहरी योजना आयोगको विज्ञ टोलीले स्थलगत अध्ययन गरी पैदलयात्रुको धेरै आवतजावत हुने स्थानहरू नयाँबानेश्वर र तीनकुनेको पनि पहिचान गरेको छ ।


‘बाटो काट्न आकाशेपुल बनाउने पुरानो अवधारणालाई हटाउँदै आधुनिक अवधारणा भित्र्याउन खोजेका छौं, गुरुआयोजना निर्माणका फोकलपर्सन सुशील सुवेदीले भने । आकाशेपुल ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अपांगमैत्री नहुने भएकाले विकल्पमा आधुनिक जेब्राक्रसिङ बनाउन लागिएको महानगरले जनाएको छ ।


यसअनुसार सडक वरिपरि हरियाली बनाउन रुखबिरुवाको स्याहार संरक्षण गर्ने तथा वृक्षरोपण गरिनेछ । सुवेदीले एउटै योजनामा वर्षौंसम्म खुद्रे बजेट खर्च गर्ने, पटक–पटक डिजाइन परिवर्तन गर्ने र विकासमा कछुवा गतिको प्रवृत्ति अन्त्यका लागि बहुआयामिक गुरुयोजना बनाउन थालिएको बताए ।


अधिकांश गुरुयोजनाहरू निर्माण सुरु भएको एक वर्षभित्र सम्पन्न हुने खालका छन् । वैशाखदेखि गुरुयोजना अध्ययन थालेको सहरी आयोगले हालसम्म ११ योजना सम्पन्न गरेर मूल्यांकन तथा टेन्डर प्रक्रियाका लागि मेयर विद्यासुन्दर शाक्यकहाँ फाइल पुर्‍याएको छ ।


गुरुयोजनामा माइतीघर–तीनकुने खण्डलाई पैदलयात्रुमैत्री बनाउने योजनासहित कमलपोखरी संरक्षण, भाटभटेनी सत्तल पुनर्निर्माण, ब्रह्मचकु महाविहार सुधार योजना, ढ्यालखु पाटी पुनर्निर्माण, चेसपार्क विकास, अशोक चैत्य विकास योजनालगायत छन् । भूकम्पले जीर्ण भएका तथा पुराना संरचना पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ ।


यसैगरी एक दर्जन बढी गुरुयोजना तयारीको अन्तिम चरणमा छन् । स्मार्ट सार्वजानिक शौचालय निर्माणका लागि महानगर क्षेत्रभित्रका ५८ क्षेत्र पहिचान भएका छन् । यसअनुसार महिला, पुरुष, बालबालिका तथा अपांगमैत्री शौचालय बनाइनेछन् ।


जसमा बच्चाहरूको डाइपर फेर्न, महिनावारी भएका महिलालाई प्याड फेर्न मिल्ने बनाइनेछ । खुल्ला क्षेत्र संरक्षणका लागि ९४ स्थान पहिचान गरिएको छ । यसका लागि सम्बन्धित ३२ वटै वडाले समेत अध्ययन गरेका छन् । खुल्ला स्थानमा सुविधायुक्त पार्क बनाइनेछन् । यस्तै, सिलखाना पार्क योजना तथा जेष्ठ नागरिक पार्क योजनाका विषयमा पनि अध्ययन भइरहेको महानगरले जनाएको छ ।


वसन्तपुरदेखि स्वयम्भूसम्मको सम्पदा पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पनि गुरुयोजनामा समेटिएको छ । ३२ वटै वडाका कार्यालय एकै डिजाइनमा मौलिक शैलीका बनाउने, करिडोर तथा मन्दिर/पार्क संरक्षण गर्ने योजना पनि अघि सारिएका छन् । विष्णुमती, धोबीखोला, मनोहरा तथा वाग्मती करिडोरमा हरेक ५ सय मिटरको फरकमा ‘फुटब्रिज’ बनाइनेछन् । चालु आर्थिक वर्षमा महानगरले बनाएको नीति तथा कार्यक्रममा पनि यसलाई उल्लेख गरिएको छ ।


यसैगरी साबिकका पुल सुधार गर्ने, पार्क बनाउने, फुटपाथ बढाउने योजना करिडोर अन्तर्गतका गुरुयोजनामा समेटिएका छन् । गुरुयोजना कार्यान्वयनमा समस्या आउन नदिन युवापुस्ता, स्थानीय जनप्रतिनिधि, क्लब, संघसंस्था, विज्ञ व्यक्ति, राजनीतिज्ञ तथा सरोकारवाला पक्षलाई समेटेको महानगरले बताएको छ ।


चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तर्फ ३ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन भएको छ । महानगरका मेयर शाक्यले गुरुयोजनालाई जिम्मेवार ढंगले कार्यान्वयन गर्ने बताएका छन् । ‘गुरुयोजना कागजमा मात्रै सीमित हुँदैनन्, महानगर गम्भीर भएर कार्यान्वयनमा अघि बढ्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?