कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुकेशको चौथो शल्यक्रिया

फातिमा बानु

काठमाडौँ — दोस्रो जनआन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका काभ्रेको बनेपाका मुकेश कायस्थको सोमबार चौथो शल्यक्रिया गरिएको छ । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा उनको टाउकाको शल्यक्रिया गरिएको हो ।

मुकेशको चौथो शल्यक्रिया

उपचारमा संलग्न न्युरोलोजिस्ट डा. बाबुराम पोखरेलले मुकेशको दिमागमा धेरै जमेको पानी तर्काएर पेटमा पठाउने शल्यक्रिया गरिएको बताए । मुकेशको अवस्थामा पहिलेभन्दा सुधार आएको उल्लेख गर्दै पोखरेलले भने, ‘देखिने गरी सुधार आउन केही समय कुर्नुपर्छ ।’


उमेशको टाउकाको तीनपटक र एकपटक पिसाब थैलीको शल्यक्रिया गर्दा पनि उपचार सफल नभएको उनकी आमा मीरा कायस्थले बताइन् ।


२०६२ को चैत ७ गते कन्चटमा गोली लागेर घाइते भएदेखि नै मुकेश अर्धचेत अवस्थामा छन् । उनी एकोहोरो आँखा हेरिरहन्छन् । बोलचाल, हलचल केही छैन । प्रतिक्रियाका नाममा कुनैबेला आँखा मात्रै झिम्क्याउँछन् । १३ वर्षदेखि अचेत छोराको अवस्थाले आमा मीरालाई विक्षिप्त बनाएको छ । ‘छोरालाई गोली लागेको दिनदेखि यो मनमा शान्ति छैन, जता उपचार गर्न लगे पनि यो उठ्न सक्ने हुन सकेन,’ उनले भनिन् । यसअघि वीर अस्पतालमा पनि मुकेशको शल्यक्रिया भएको थियो ।


मीराका अनुसार मुकेशमा केही समयअघि सुधार पनि देखिएको थियो । ‘भोक लाग्यो भने आँ गथ्र्यो, हात चलाउने र बोलाउँदा हुँ सम्म भन्थ्यो,’ उनी भन्छिन् । पटकपटक निमोनियाँले समात्ने भएपछि उनी फेरि अचेत हुन्थे । खाँदैनथे । हाँस्न छाडिदिन्थे ।


विभिन्न अस्पतालबाट चिकित्सकले उपचार सम्भव छैन भनेर फिर्ता पठाएपछि मुकेशलाई घरमै राखिएको थियो । फिजियोथेरापी र औषधिको भरमा उनी श्वास फेरिरहेका छन् ।


जन आन्दोलनका घाइतेहरू उपचार अभावमा छटपटिएको देख्दा मीराको मन दुख्छ । उनी भन्छिन्, ‘मेरो छोरा सन्चो होला नहोला तर अरू घाइतेको उपचारमा सरकार संवेदनशील बनोस्, घाइते अपांगका लागि पुन:स्थापना केन्द्र बनोस् ।’

प्रकाशित : मंसिर २०, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?