२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

श्लेष्मान्तकमा फेरि कंक्रिट

कोषका सदस्य सचिवले सम्पदा अभियन्तालाई भने, ‘तपाईंहरू आफ्नो काम गर्नुस् । हामी हाम्रो काम गर्छौं, के बनाउन लागेको हो, बनाइसकेपछि जानकारी दिउँला’ 
दामोदर न्यौपाने

काठमाडौँ — सम्पदा संरक्षण अभियन्ताको तीव्र विरोधपछि रोकिएको पशुपति श्लेष्मान्तक क्षेत्रको कंक्रिटको पदमार्ग निर्माण ३ महिनापछि पुन: सुरु गरिएको छ ।

श्लेष्मान्तकमा फेरि कंक्रिट

पशुपति क्षेत्र विकास कोषले मृगस्थली क्षेत्र घुम्न सजिलो होस् भनेर पदमार्ग निर्माणलाई फेरि निरन्रता दिएको हो । २ करोड ९९ लाख रुपैयाँको निर्माणको ठेक्का धर्म एस निर्माण सेवालाई दिइएको छ ।


श्लेष्मान्तकमा कंक्रिट राख्ने र पानी कटाउन कुलो बनाउने नाममा फेरि कंक्रिट राख्न लागेको थाहा पाएर श्लेष्मान्तक पुगेका सम्पदा संरक्षण अभियन्तालाई कोषका सदस्य सचिव प्रदीप ढकालले ‘सकेको गर्नुस्’ भन्ने जवाफ दिएका थिए । ‘फेरि यहाँ के बनाउन लागेको ?’ सदस्य सचिव ढकालले अभियन्ताको यो प्रश्नको उत्तर दिन चाहेनन् । ‘तपाईंहरू आफ्नो काम गर्नुस् । हामी हाम्रो काम गर्छाैं,’ ढकालले भने, ‘के बनाउन लागेको हो, बनाइसकेपछि जानकारी दिउँला ।’ यसअघि पुरातत्त्व विभागले समेत काम रोक्न निर्देशन दिएको थियो ।


सम्पदा संरक्षण अभियन्ताले सदस्य सचिव ढकालको भनाइलाई ‘जिम्मेवार व्यक्तिको दम्भपूर्ण र दादागिरीपूर्ण अभिव्यक्ति’ भनेका छन् । ‘सम्पदा जोगाउनुपर्ने निकायको दादागिरीले हाम्रा सम्पदा मासिने भए,’ सम्पदा बचाउन अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘राज्यका महत्त्वपूर्ण निकायमा बस्ने व्यक्तिको सम्पदाको मर्म बुझ्न नसक्दा बारम्बार हाम्रा सम्पदामाथि प्रहार भए ।’


कोषले पदमार्गकै छेउबाट फेरि श्लेष्मान्तकलाई भूक्षयबाट जोगाउने भन्दै कुलो बनाउन सुरु गरेको छ । कुलोमा पनि कंक्रिटै राख्ने योजना भएको कोषका एक उच्च अधिकारीले बताए । ‘यो पुरातात्त्विक क्षेत्र हो । पुरातात्त्विक क्षेत्रमा खन्न पुरातत्त्व विभागको अनुमति लिनुपर्छ,’ सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘खोकनामा स्थानीयवासीले हाम्रो सभ्यता जोगाउँछौं, उत्खनन गरिदेऊ भन्दा पुरातत्त्वले मानेन । तर यहाँ खन्दा के हेरेर बसेको छ ?’ कोषका कुलो बनाउने कामको जिम्मा वाग्मती सभ्यता एकीकृत आयोजनाले लिएको छ ।


‘हामीले आयोजनालाई गुहारेर यो काम गर्न लगाएका हौं,’ कोषका एक उच्च अधिकारीले भने । दर्शनार्थी चिप्लिएर लड्ने समस्या भएकाले ‘वाक वे’ बनाएको कोषको दाबी छ । तर, अभियन्ताहरू वन सम्पदामा कंक्रिट प्रयोग गर्नु पुरातात्त्विक मापदण्डविपरीत रहेको बताउँछन् ।


पशुपति संरक्षित स्मारक क्षेत्रको संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डमा खाली ठाउँ तथा चोक संरक्षण गर्ने जिम्मा स्थानीयवासीको हुने उल्लेख गरिए पनि कोषले आफूहरूसँग कुनै सल्लाह नलिएको पशुपतिका भण्डारी केदारमान भण्डारी बताउँछन् । ‘हामीसँग कोषले सल्लाहै लिँदैन । यहाँ पनि के बनाउन लागेको हो हामीलाई पत्तै छैन,’ उनी भन्छन्, ‘गुरुयोजना अन्तिम चरणमा पुगेको छ भनिएको छ । गुरुयोजना नै बनिनसके पनि धमाधम काम भइराखेका छन् ।’


प्राचीन स्मारक संरक्षण ऐन र पशुपति संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डविपरीत भएको अभियन्ता अधिकारी बताउँछन् । ‘ऐन र मापदण्डले आधुनिक निर्माण सामग्री प्रयोग परिकल्पना नै गरेको छैन,’ उनी भन्छन्, ‘नयाँ संरचना बनाउँदा जंगल मासिने खतरा हुन्छ । यो जंगल आफैंमा सम्पदा हो । यसमा जथाभावी गर्नु भनेको सम्पदा मास्नु हो ।’


मृगस्थलीमा कंक्रिट राख्नु अदालतको आदेशविपरीत कार्य भएको अधिकारी बताउँछन् । सर्वाेच्च अदालतले २०७३ पुस ९ गते श्लेष्मान्तक क्षेत्रमा कंक्रिटको संरचना नबनाउन आदेश दिएको थियो । त्यहाँ शव गाड्न कंक्रिटको संरचना बनाइँदै आएको थियो । त्यसले वातावरणमा असर पर्ने अदालतले उल्लेख गरेको थियो ।


अदालतको यो नजिरअनुसार श्लेष्मान्तकमा कंक्रिट राख्न नमिल्ने र जथाभावी खन्नसमेत नमिल्ने अधिकारी बताउँछन् । ‘शव गाड्दामात्रै कंक्रिट नराख भनेको होइन,’ अधिकारी भन्छन्, ‘यो जंगल क्षेत्रमा कतै पनि कंक्रिट नराख भनेको हो अदालतको आदेशले । यो आदेश कोषले पालना गर्नु पर्दैन ? यो अदालतको मानहानि हो ।’ वातावरणविद् यहाँ कंक्रिट राख्दा पानी सोस्ने र बिरुवा हुर्कने वातावरण बिग्रने बताउँछन् । ‘श्लेष्मान्तकको वनको पौराणिक महत्त्व बढी छ । यहाँ पुराना रुख छन् ।


थुप्रै जडिबुटी छन् । यो प्राचीन ठाउँ भएकाले उत्खनन गर्नुपर्ने धेरै विषय हुन सक्छन्,’ वन्यजन्तुविद् मुकेश चालिसे भन्छन्, ‘ती ठाउँमा ढलान गरिदिएपछि उत्खनन गर्नुपर्ने विषय छोपिने भए । ढलानले त्यहाँ भएका बाँदर, चराचुरुंगीलाई अप्राकृतिक रूपमा लैजाने भयो । मान्छेको आवतजावत धेरै हुँदा जनावरमा रोग सर्न सक्छ । वातावरण फोहोर हुन सक्छ ।’

प्रकाशित : मंसिर २०, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?