बनेन कुमारी सिंहासन

कान्तिपुर संवाददाता

ललितपुर — नेवार संस्कार अनुसार कुमारीलाई तलेजु भवानी देवीको प्रतीकका रूपमा लिइन्छ । अहिले पाटनमा ५ वर्षीया निहिरा बज्राचार्य कुमारीमा रूपमा छिन् ।

ललितपुर पाटनकी कुमारी निहिरा बज्राचार्य टीका लगाइदिँदै । 

कुमारीका रूपमा रहेसम्म तोकिएको पूजापर्वबाहेक अन्य बेला घरबाहिर घुमफिर गर्न मिल्दैन । रातोबाहेक अन्य रङको लुगा लगाउन मिल्दैन ।

Yamaha

दैनिक सिंहासनमा राखेर पूजा गर्नुपर्ने परम्परा छ । कुमारीलाई देवी शक्ति प्राप्त हुने विश्वासले पूजा गर्न आउनेको भीड हुने गर्छ । यसले गर्दा धेरै समयसम्म सिंहासनमा बस्नुपर्छ । तर, पाटनमा कुमारीको सिंहासन भने बिग्रेको छ ।

कुमारीका बुवा निरोज भन्छन्, ‘पुरानो बिग्रेको सिंहासनमा काठको चुकुल समेत छैन । पानी पनि चुहिन्छ । यसले दैनिक नृत्य र बेलुका आरती पूजा गर्न मात्र नभई भक्तजनलाई समेत पूजा गर्न समस्या छ ।’

कुमारी निहिराअघि २०७० देखि २०७४ माघ २१ सम्म पाटनकै युनिका बज्राचार्य कुमारीका रूपमा थिइन् । निहिरा नियुक्त भएदेखि उनी बिग्रेको सिंहासन र छत्र बनाउन लागिपरेका थिए । निरोज भन्छन्, ‘छत्र बनाउन ४ लाख रुपैयाँ खर्च भयो । गुठी संस्थान ललितपुर शाखा कार्यालयबाट ७५ हजार, अक्षयस्वर महाविहारबाट केही रकम सहयोग प्राप्त भयो । बाँकी सिङ, गजुर र मूर्ति आफ्नै खर्चमा राखे ।’

उनका अनुसार सिंहासन मर्मत गर्न ललितपुर महानगरमा डेढ लाखको बजेट पेस गरेको छु । ‘१६ नम्बर वडा कार्यालयबाट केही सहयोग प्राप्त भयो,’ उनले भने । ललितपुरमा कुमारीको पालपोषण गर्न चिताइदारको व्यवस्था छैन ।

स्याहारसुसार, कुमारी घरमै पढाउन र उपचार गर्न अपुग रकम व्यवस्था अभिभावक आफैंले गर्नुपर्छ । पूर्वकुमारी युनिकाको पालादेखि कुमारीलाई रत्नाकर महाविहारस्थित कुमारी घरमा राख्ने व्यवस्था मिलाइएको थियो । युनिकाअघिका कुमारीहरू आ–आफ्नै घरमा राख्ने गर्दथे । कुमारीका लागि सधै चोखो गर्नुपर्ने र संयुक्त परिवारमा गाह्रो पर्ने गरेकाले महाविहारमा व्यवस्थापन गरिएको थियो ।

‘कुमारीका लागि भेटघाट, पूजा र सुत्ने गरी कम्तीमा तीनवटा कोठा आवश्यक पर्छ,’ निरोजले भने,
‘कुमारी घरलाई थप व्यवस्थित गर्दै लैजानुपर्छ ।’ विश्वमै अनौठो मानिने यो परम्परा नेपाली समाजमा हिन्दु र बौद्ध सम्प्रदायका बीचमा विद्यमान धार्मिक सहिष्णुताको उच्चतम नमुना हो ।

तर, कुमारीलाई स्याहारसुसार गर्दैमा घरका अभिभावकले अन्य काम गर्न भ्याउँदैनन् । पहिला कुमारी बन्न प्रतिस्पर्धा हुन्थ्यो । अहिले अभिभावक आफ्ना छोरीलाई कुमारी बनाउन नरुचाउने गरेको तलेजुका पुजारी निरण राजोपाध्याय बताउँछन् ।

तलेजुका पुजारीले कुमारीको छनोट ह:ख बहालस्थित रत्नाकर महाविहारमा आबद्ध बज्राचार्य कुलका पुत्रीहरूमध्येबाट ३२ लक्षणयुक्त कन्यालाई गर्ने परम्परा छ । कुमारी प्रथाको विरुद्धमा २०६६ मा पुनदेवी महर्जनले बालबालिका र महिलासम्बन्धी अधिकार हनन भएको विषय उठाई सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । महर्जनको विरुद्धमा कुमारी परम्परामा केही सुधार गर्नुपर्ने भए पनि परम्परा नै अन्त्य गर्न नहुने भन्दै प्राध्यापक चुन्दा बज्राचार्यले अर्को रिट दायर गरेका थिए ।

सर्वोच्चले कुमारी संस्कृतिको अन्त्य गर्ने नभई समयानुकूल सुधार गर्दै लैजान वाञ्छनीय देखिएको भनी संस्कृति मन्त्रालयको नाममा आदेश जारी गरेको थियो । त्यतिबेला सर्वोच्चले कुमारीको विद्यमान अवस्थाको पुनरावलोकन गरी हकहित, आर्थिक र सामाजिक सुरक्षा अभिवृद्धि गर्न निर्देशन दिएको थियो ।

पुजारी राजोपाध्यायले यसलाई कार्यान्वय गर्न तलेजु, रत्नाकर महाविहार, पूर्वकुमारी र सम्बन्धित सरकारी निकाय मिलेर संस्थागत रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘यसतर्फ कसैको ध्यान गएको छैन,’ उनले भने, ‘नत्र बकनिम्ह टोलको कुमारी र मिँखा बहालको सोनिम कुमारी जस्तै लोप हुन बेर छैन ।’ शिवकी शक्ति पार्वतीका अनेकौं नामहरूमध्ये कुमारी पनि एक हो । तैतरीय आरण्यकमा उनलाई कन्याकुमारी भनेर भनिएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खोलाबाट तानेर खानेपानी

पानी आएको खुसियालीमा भोज र नाचगान
टीकाप्रसाद भट्ट

रामेछाप — तल खोलाको पानी पम्प गरेर गाउँमा झारेपछि रामपुरको चारघरेमा बुधबार स्थानीयले धुमधाम मनाएका छन् ।

रामेछापको सुक्खा क्षेत्र रामपुरमा रेडक्रसको अगुवाइमा खानेपानी सुविधा पुगेको खुसियालीमा नाचगान गर्दै स्थानीय । खानेपानी हस्तान्तरण कार्यक्रममा स्थानीयले भोज, नाचगान गरेका थिए ।  तस्बिर : टीकाप्रसाद/कान्तिपुर

खानेपानीको अभावले गाउँ छोड्न थालेका बेला भूकम्प प्रतिकार्य कार्यक्रम लिएर रामपुर भित्रिएको नेपाल रेडक्रसको सहयोगमा खानेपानी निर्माण भएको हो । भूकम्पपछि पानी सुक्ने क्रम तीव्र भएको बेला यो योजना चालू भएको छ ।

खानेपानी आएको खुसियालीमा बारीका बाटामा ठूलो राँगा काटेर गाउँलेले भोजै चलाए । मगर, नेवारले जातीय भेषभूषामा नाचगान गरे । खानेपानी दिने दाता पुगेका बेला गाउँभरका सबै उर्लिए र पाहुनालाई स्वागत गरे । भजनमा खानेपानी सुविधा भएकोमा प्रशन्न हुँदै उफ्रीउफ्री नाच्नेको कमी भएन । ‘यसको खुसी कसरी व्यक्त गरौं,’ स्थानीय कुमार श्रेष्ठले भने, ‘पानी नहुँदा जीवन थिएन, बल्ल बाँच्ने भयौं ।’

परम्परागत खानेपानीका स्रोत सुकेपछि पानीको अभाव टार्न रातभर पधेंरा र खोला धाउने रामपुरमा बुधबार धुमधाम खुसियाली गरेर खानेपानीको उपयोग गर्न थालेका हुन् । गाउँमा पानी आउने खुसियालीमा स्थानीयले बनीबुतो गरेर आएको ज्यालाबाट योजनामा योगदान गरे । महिनांै श्रम गरे । नगरपालिकाले खानेपानीको सास्ती मेटाउन योजना निर्माणमा सहकार्य गर्‍यो । रेडक्रसले गाउँभन्दा धेरै तलको खोलाको पानी बिजुलीको माध्यमले उकालो पम्प गरेर चारघरेमा झारिदियो ।

बालकन्या खानेपानी योजनाबनाउन रेडक्रस, रामेछाप नगरपालिका, समुदाय र श्रम गरी २ करोड ६० लाख रुपैयाँ खर्च लाग्यो । त्यो पैसा नजुटेको भए रामपुरमा यो हिउँदमा धेरै घरपरिवारको बास उठ्ने अवस्था थियो । श्रेष्ठ भन्छन्, ‘पानी ल्याइदिनेले स्थानीयको वर्षाैंदेखिको दु:खलाई बिदा गरिदिएका छन् । गाउँमा ४४ वटा सामुदायिक धारामार्फत स्थानीयले पानी उपभोग गर्न थालेका हुन् ।’

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले बालकन्या खानेपानीको बुधबार उद्घाटन गरे । उनले पानी बनाउनका लागि भन्दा पनि दीर्घकालसम्म उपयोग गर्ने कुरा ठूलो भएकाले मर्मतसम्भार र उपयोगमा स्थानीय निकायले सहयोग गर्नुपर्ने बताए ।

उनले रेडक्रस अभियानले भूकम्पपछि आवास मात्र हैन, एकीकृत रूपमा अरू कार्यक्रम पनि सँगसँगै गर्नुपर्ने अवधारणा अघि सारेका कारण रामपुरमा पानीको अभाव टार्न सकिएको बताए ।

तीन वर्षअघि भूकम्प प्रतिकार्य योजना लिएर रामपुर पसेको नेपाल रेडक्रस रामेछाप जिल्ला शाखाले बालकन्यासहित रामपुरका विभिन्न टोलमा ८ वटा खानेपानी योजना निर्माणमा सघाएको छ । तीमध्ये ६ वटा पूरा भइसकेका र २ वटा निर्माणाधीन अवस्थामा छन् ।

भूकम्पले घर क्षति भएका ६ सय ३७ परिवारको घर र त्यतिकै संख्यामा शौचालय निर्माणमा अनुदान वितरण गरेको छ । प्राविधिक सहयोग, एक बर्थिङ सेन्टरको निर्माण र उपकरण सहयोग, सयौंलाई डकर्मी र सिकर्मी तालिम, बाख्राको खोर वितरण र व्यावसायिक बाख्रापालन तालिम, नश्ल सुधार, विद्यालयमा बालमैत्री धारा र शौचालय, तरकारीखेती तालिम र बिउबेर्ना दिन रेडक्रसको सहयोग छ ।

आवास, जीविकोपार्जन र खानेपानीजस्ता पूर्वाधारको विकासले रामपुर रेडक्रसमय भएको वडा अध्यक्ष तामाङले बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT