कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अव्यवस्थित भृकुटीमण्डप

प्रदर्शनी हल, स्टल, बाल उद्यान, पसल तथा संघसंस्थाको भाडा बर्सेनि करिब ९ करोड परिषद्ले उठाउँछ तर व्यवस्थापन र मर्मत सम्भारको अभावमा भृकुटीमण्डप क्षेत्र अव्यवस्थित बन्दै गएको छ । 
विद्या राई

काठमाडौँ — राजधानीको मुटुमै रहेको २ सय १४ रोपनी खाली ठाउँ । त्रिपालले छाएका लहरै देखिने अव्यवस्थित छाप्रा । अस्तव्यस्त पसल तथा वर्षौंदेखि सफाइ नगरिएका गल्ली । पहिलोपटक जोकोहीले देख्दा मानसपटलमा आउने भृकुटीमण्डपको तस्बिर हो यो ।

अव्यवस्थित भृकुटीमण्डप

मुलुकको अव्यवस्था र लापरबाहीको नमुना खोज्न टाढा जानै पर्दैन, राजधानीको केन्द्रमै रहेको भृकुटीमण्डप हेरे पुग्छ ।


यो क्षेत्र बनाउनुको उद्देश्य मात्रा सम्झने र त्यहीअनुरूपले संरक्षण र संवर्धन गरिएको भए, सायद ठूला–साना राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा सम्मेलनको त्यहाँ घुइँचो लागेको हुनुपर्ने हो, राजधानीका तनावमा बाँचिरहेका बासिन्दाका लागि लामो श्वास फेर्ने स्थान बन्ने थियो । केही समयका लागि भए पनि परिवारसहित समय बिताउने स्थान बन्थ्यो ।


उत्तरमा प्रदर्शनी मार्ग, पूर्वमा टुकुचा नदी, पश्चिममा भद्रकाली जाने बाटो र दक्षिणमा नेसनल ट्रेडिङ सीमा रहेको भृकुटीमण्डप २०२२ सालमा औद्योगिक प्रदर्शनी स्थलका रूपमा स्थापना गरिएको हो । सरकारले २०३७ सालमा तत्कालीन सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (अहिले समाज कल्याण परिषद्) लाई भोगचलन र संरक्षणको हक हस्तान्तरण गर्‍यो । अहिले पनि भृकुटीमण्डपको भोगचलन परिषद्ले नै गर्दै आएको छ ।


भृकुटीमण्डपभित्र प्रदर्शनी हल, स्टल, बाल उद्यान, खुला चौर, बजार तथा रेस्टुरन्ट छन् । त्यसबाट आउने भाडा परिषद्ले उठाउँछ । पर्यटन विभाग र बोर्डको कार्यालयको भवन पनि परिषद्सँगै भाडामा लिएको जग्गामा छ । अहिले त्यहाँ ४७ वटा संघ/संस्था तथा निजी कार्यालय छन् ।


भृकुटीमण्डपभित्र फनपार्क ६० रोपनी, ल्यामापुच २५ रोपनी, प्रदर्शनी हल ३५ हजार स्वायर फिट, बगैंचा २३ रोपनी र खसी बजारले २१ आना ओगटेका छन् । ३० रोपनीको खुला बजारमा १ हजार ३ सय ५ कपडा, जुत्ता, भाँडावर्तन, कस्मेटिक तथा चिया खाजाका पसल छन् । नेपाल पर्यटन बोर्डलाई ९ रोपनी जग्गा ९९ वर्षका लागि लिजमा दिइएको छ ।


परिषद् अधिकारीका अनुसार भृकुटीमण्डपबाट भाडाबापत बर्सेनि ८ देखि ९ करोड आम्दानी हुन्छ । गत आर्थिक वर्षमा ९ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको थियो । तर उक्त स्थानको मर्मत सम्भार तथा संरक्षणका लागि भने रकम अभाव रहेको परिषद् अधिकारी बताउँछन् ।


‘सरकारले कमाउ र खाउ भन्छ तर कमाइ जति कर्मचारीको तलबमै खर्च हुन्छ,’ भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख सञ्जय मल्लिकले भने, ‘व्यवस्थान गर्न रकम छैन ।’


राजधानीको भृकुटीमण्डप परिसरभित्र सञ्चालित पसल । तस्बिर : कान्तिपुर

भृकुटीमण्डपले कमाएको ९ करोड बढी आम्दानीमध्ये ७ करोड रुपैयाँ परिषद्ले कर्मचारी तलबमा खर्च गर्छ । ज्येष्ठ नागरिक कोष, राष्ट्रिय अपांग कोष, राष्ट्रिय स्वास्थ्य कोष र उपकार कोषमा ६० लाख बुझाउँछ । अनि भृकुटीमण्डपको मर्मत सम्भार तथा संरक्षणका लागि ५० लाख रुपैयाँ छुट्याउँछ । मल्लिकका अनुसार अघिल्लो वर्षमा परिषद्लाई व्यवस्थापन खर्च भनेर दुई करोड रुपैयाँ दिंदै आएकामा यस वर्ष २५ लाख रुपैयाँ मात्र छुट्याएको छ ।


बेवास्ताको पराकाष्ठा

परिषद्को प्रमुख आम्दानीको स्रोत भृकुटीमण्डप रहे पनि यही हालत रहे केही वर्षभित्रै अन्त्य हुने निश्चित छ । ०२२ सालमा बनेका संरचना जीर्ण बन्न थालिसकेका छन् । ९० स्टलमध्ये ७६ वटा मात्रै प्रयोगमा छन् । पानी चुहिने हुँदा बाँकी भाडामा लगाउनसमेत सक्ने अवस्था छैन ।


अरू स्टल पानी परेका बेला चुहिने गर्छन् । भृकुटीमण्डपको घेराबारा पनि जीर्ण भइसकेको छ । खुला बजारका साइड झोर र पातपतिंगरले भरिएको छ ।


रेस्टुराँ चलाइएका स्थानमा फोहोरको डंगुर छ । खुला ढल निकासले दुर्गन्धित छ । सरकारले २५ वर्षअघि रत्नपार्क र खुलामञ्च व्यवस्थापन गर्ने क्रममा त्यहाँका व्यवसायीलाई भृकुटीमण्डपमा सारेको थियो । उनीहरूलाई ३ महिनाभित्र अन्यत्रै व्यवस्थापन गर्ने बताइए पनि अझै विकल्प छैन । बरु बढ्ने क्रम जारी छ ।


उठ्दैन भाडा

परिषद्ले भाडामै लगाउँदा पनि त्यहाँको जग्गा र संरचना सस्तोमा लगाउँछ । पहिले ७५ प्रतिशत छुटमा भाडा लगाउन दिइएको थियो । जुन न बढ्यो, न पूरा भाडा नै असुलियो ।


०६५/०६६ मा कसैलाई ‘छुट नदिनु’ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन गरेपछि शतप्रतिशत भाडा लिन थालेको थियो । छुट दिइएका संघसंस्थाले भाडा तिरेका छैनन् । परिषद् सूचना अधिकारी हरि तिवारीका अनुसार त्यहाँको खुला बजारको जग्गा प्रतिवर्गफिट १४ रुपैयाँमा भाडामा दिइएको छ ।


कोषाध्यक्ष वीरबहादुर थगुनाका अनुसार प्रदर्शनी हल, हलसँगैको चौर र पार्किङको दैनिक भाडा एकमुष्ट दुई लाख १० हजार छ भने स्टलहरू एक वर्ग फिटको ३६ रुपैयाँ भाडा तोकिएको छ ।


परिषद्का अनुसार विभिन्न संघ/संस्थाबाट ४ करोड २५ लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउनै बाँकी छ । कार्यालयका प्रमुख मल्लिकका अनुसार भृकुटीमण्डपको दस वर्षको आम्दानीलाई व्यवस्थापनमा लगानी गर्ने हो भने आगामी सय वर्षका लागि आकर्षण र पहिचान हुने केन्द्र बनाउन सकिने मल्लिक बताउँछन् । यसका लागि उनको उपाय छ, परिषद्को प्रशासनिक तथा कर्मचारी तलब खर्च सरकारले व्यहोर्नुपर्छ । मल्लिकले यति सुनाइसकेपछि भने, ‘चालु आर्थिक वर्षका योजना केही छैनन् ।’


भृकुटीमण्डपको अस्तव्यस्त अवस्थालाई सुधार्नका लागि परिषद्का उपाध्यक्ष नीलमणि बरालको संयोजकत्वमा भृकुटीमण्डप व्यवस्थापन समिति गठन गरेको छ । सरकारलाई व्यवस्थापन योजनाको प्रतिवेदन पेस गरिसकेको छ भने राष्ट्रिय योजना आयोगमा पनि जानकारी गराएको उनले दाबी

गरे । ‘सहरको बीचमा रहेको भृकुटीमण्डपको सुधारका लागि परिषद् गम्भीर भएर अघि बढेको छ,’ बरालले भने ।


‘परिषद् सक्रिय हुनुपर्छ’


किशोर थापा

पूर्वसहरी विकास सचिव

भृकुटीमण्डपलाई व्यवस्थापन गर्न सबैभन्दा पहिला समाज कल्याण परिषद्ले जिम्मेवार बोध गर्नुपर्ने हुन्छ । सरसफाइमा जोड दिनुपर्छ । पार्किङ क्षेत्रको व्यवस्थापन गर्नुपर्छ । भवन निकै पुराना भइसके । मर्मतसम्भार तथा पुनर्निर्माण गर्नुपर्छ । बगैंचाको आकर्षण बढाउनुपर्छ ।


खुला बजारको विकल्प खोज्नुपर्छ । व्यवसायीहरूले समेत व्यवसाय बदल्नुपर्छ । पसल वर्गीकरण गरेर सीमित मात्र सञ्चालन गर्न दिनुपर्छ । भृकुटीमण्डप नितान्त प्रदर्शनी स्थल हो, फुटपाथ पसल जस्तो अस्तव्यस्त त बनाउनुभएन नि उद्देश्यअनुरूप परिषद्ले भोगचलन गर्नुपर्छ ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?