कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

होमस्टेमा जुटे माझखण्डका युवा

प्रशान्त माली

ललितपुर — ललितपुरको माझखण्ड उपत्यकाका तीनै जिल्ला, तराई र हिमशृंखला एकै पटक अवलोकन गर्न सकिने दुर्लभ स्थान हो । तामाङ बस्ती रहेको उक्त गाउँ ललितपुरको दुर्गम पहाडी भेगमध्येको सबैभन्दा विकट गाउँ हो । यहाँका प्रत्येक घरका कोही न कोही युवा वैदेशिक रोजगारीमा छन् ।

होमस्टेमा जुटे माझखण्डका युवा

भट्टेडाँडा र माझखण्ड जोड्ने केबुलकारको प्रारम्भिक वातावरणीय परीक्षण (आईई रिपोर्ट) अन्तिम चरणमा पुगेपछि यहाँको चर्चा चल्न थालेको छ । त्यसयता आन्तरिक पर्यटन ह्वातै बढेको स्थानीयको भनाइ छ ।


वैदेशिक रोजगारीका सिलसिलामा करिब ४ वर्ष कतार र यूएईमा बिताएका २८ वर्षीय रोमन लो गाउँमै केही गर्ने सोचमा छन् । भन्छन्, ‘यहाँको रुद्रेश्वर महादेव स्थानमा वर्षको एक पटक मात्र धार्मिक पर्यटक आउँथे । तर अहिले बढेका छन् ।’ पर्यटक बढ्न थालेपछि उनी होमस्टे सञ्चालन गर्ने योजनामा छन् । त्यसका लागि ६ लाख खर्चेर बारीमा ढुंगा, माटोको २ कोठे घर बनाएका छन् ।


पासाङले कतारबाट छुट्टीमा फर्केका साथी विजय र पासाङ बोम्जनलाई पनि पर्यटनमा लाग्न सल्लाह दिइरहेका छन् । २९ वर्षीय निवास बोम्जन गारो लगाउन माटो मुछिरहेका देखिन्थे । भन्छन्, ‘एक महिनामा बनिसक्ने घरमा ४ जनासम्म पर्यटक व्यवस्थापन गर्न सक्छु ।’


पासाङ र निवासजस्तै गाउँमा होमस्टे सञ्चालनमा ल्याउने सोचले घर बनाउने अन्य पनि छन् । गाउँलेहरू डेस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष गोपाल सञ्जेलसँग मिलेर चाँडै नै केबुलकारमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यमा छन् । होमस्टे सञ्चालनमा ल्याउन वाग्मती गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिसकेको छ ।


माझखण्ड पर्यटन विकास समिति अध्यक्ष अर्थमान लामा भन्छन्, ‘माझखण्ड पर्यटकीय दृष्टिकोणबाट उत्कृष्ट गन्तव्य स्थल भए तापनि ओझेलमा छ । केबुलकार जोडेपछि विकास हुने अपेक्षा छ ।’ उनका अनुसार दक्षिणी भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् । जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, पाराग्लाइडिङ, गुफा ध्यान, घोडचढी, सिकार क्षेत्रलगायतको सम्भावना छ ।


‘माझखण्डबाट पदमार्ग हुँदै पुरातात्त्विक महत्त्वको तीर्थस्थल गोटीखेलको त्रिवेणी वैतरणीधाम र घडघडा नदी पुग्न सकिन्छ,’ उनले भने । वैतरणीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व डरेको खोर नामक टापु छ । यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानुपर र भारतबाट समेत अवलोकन गर्न सकिन्छ ।


भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, गिम्दीको चमेरे गुफा र प्युटारको नागगुफा जस्ता उत्कृष्ट गन्तव्य स्थल पुग्न सकिने उनको भनाइ छ । उनले पर्यटन विकासका लागि जनप्रतिनिधि, पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, ललितपुर उद्योग वाणिज्य संघलगायत संघसंस्थाले सहयोग गर्नुपर्ने बताए ।


ललितपुर क्षेत्र–१ का सांसद नवराज सिलवालले माझखण्डमा पर्यटन प्रवद्र्धनका लागि खानेपानी समस्या समाधान गर्न सांसद कोषबाट ५० लाख बजेट विनियोजित गरेको बताए । फूलचोकी ‘हन्ड्रेड डिस्टिनेसन’ भित्र परेको छ ।


गोटीखेल कालेश्वर क्षेत्रलाई धार्मिक पर्यटन र दलचोकीलाई अर्को नगरकोटका रूपमा विकास गरिनेछ,’ उनले भने, ‘भट्टेडाँडालाई पिकनिक स्पटका रूपमा विकास गर्ने योजना छ ।’ प्रदेशसभातर्फ क्षेत्र नं. १ ‘ख’ का सांसद चेतनाथ सञ्जेलले ग्रामीण पर्यटन विकास गर्न ३ करोड बजेट विनियोजन गरिएको र ‘बजेट कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘निजी क्षेत्रसँग साझेदारी गरेर होटल बनाउने योजनामा छौं ।’


उनले कालेश्वरमा मनोरम हल, कोसेली घर, भ्यु टावर, पार्क, यात्रा मार्ग बनाउने योजनामा रहेको बताए । ‘होमस्टेको बजेट बाँडफाँट भएको छैन,’ उनले भने । डिस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष सञ्जेलले पर्यटन प्रवद्र्धनले तामाङ गाउँको गरिबी घट्ने दाबी गरे ।


‘केबुलकार राख्न आईई रिपोर्ट मन्त्रालयमा पेस गर्न अध्ययन भइरहेको छ,’ उनले भने, ‘६० करोड लागतमा बन्न लागेको केबुलकारको जनस्तरबाट जुटाउनुपर्ने ३५ प्रतिशत रकममध्ये ११ प्रतिशत जम्मा भइसकेको छ भने बैंकले ६५ प्रतिशत लगानी गर्ने विषयमा छलफल जारी छ ।’


उनले माझखण्डमा फिल्म सुटिङ, कला साहित्य सम्मेलन, साहसिक खेल, जिपलाइन, बञ्जीजम्प, सिकार क्षेत्र, पिकनिक क्षेत्र, अम्युजमेन्ट (बालबालिकादेखि वृद्धवृद्धासम्म घुम्न मिल्ने) पार्क बनाउने विषयमा गृहकार्य भइरहेको बताए । ‘ध्यान, योग शिविर, महोत्सव स्थल बनाउने पनि स्थानीयसँग छलफल भइरहेको छ,’ उनले भने, ‘गुम्बालाई पनि सुधार गरिनेछ ।’


उनले तामाङ भाषा संस्कृति झल्किने संग्रहालय, नाट्यशाला पनि बनाइने बताए । माझखण्डमा पुरातात्त्विक महत्त्वका तासीछोइलिङ गुम्बा र रुद्रेश्वर महादेव मन्दिर छ । रुद्रेश्वरमा साउन, माघ र ठूलो एकादशीमा मेला लाग्ने गर्दछ ।


सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको केबुलकारले वाग्मती गाउँपालिकाको छपेलीलाई माझखण्डसम्म जोड्नेछ । छपेली कान्ति लोकपथअन्तर्गत ललितपुर खण्डको सातदोबाटोबाट २५ किमि दूरीमा पर्दछ । परियोजनाबाट सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनामा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित : मंसिर २३, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?