कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हनुमन्ते किनारको जग्गा एकीकरण

भक्तपुर — हनुमन्ते करिडोर निर्माणसँगै खोला किनारको जग्गा एकीकरण गरिने भएको छ । सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रूपमा हनुमन्ते खोलाको दायाँबायाँ जग्गा एकीकरण गरी बस्ती व्यवस्थित गर्ने निर्णय गरेको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । 

हनुमन्ते किनारको जग्गा एकीकरण

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले गतसाताबाट हनुमन्ते करिडोर निर्माण थालेको हो । करिडोर निर्माण, खोला किनारको जग्गा विवाद समाधान, बस्ती विकास, डुबान रोकथाम तथा ट्राफिक जामको वैकल्पिक सडकका लागि खोला किनारमा जग्गा एकीकरण गर्ने सहमति भएको उनले बताए ।


शुक्रबार भक्तपुरका जनप्रतिनिधि तथा अधिकारीहरूसहितको बैठकमा हनुमन्ते खोलाको केन्द्रबाट २५० मिटर दायाँबायाँ जग्गा एकीकरण गरी व्यवस्थित बस्ती निर्माण गर्ने निर्णय गरिएको हो ।


जग्गामा एकीकरण आयोजना सञ्चालन गर्दै नयाँ, व्यवस्थित र सुरक्षित सहर निर्माण गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको समेत नगरप्रमुख श्रेष्ठले बताए । उक्त बैठकले दुई नगरपालिकाको क्षेत्रअन्तर्गत हनुमन्ते पुलबाट सूर्यविनायक नगरको २, ३, ४ र ५ वडाका बालकोट, दधिकोट, कटुञ्जेसम्म र मध्यपुर थिमिका १, ३, ४, ५ वडा र ९ राधेराधे हुँदै लोकन्थलीसम्म जग्गा एकीकरण गर्ने निर्णय उल्लेख छ ।


आयोजना व्यवस्थित रूपमा सञ्चालन गर्न सूर्यविनायक नगरप्रमुख वासुदेव थापाको संयोजकत्वमा मध्यपुर थिमिका प्रमुख मदनसुन्दर श्रेष्ठ सहसंयोजक, उपप्रमुख, सम्बन्धित वडाका वडाध्यक्षहरू सदस्य गरी आयोजना व्यवस्थापन समिति गठन गरिसकेको जनाइएको छ ।


राधेराधेदेखि मनोहरा नदीसम्मको करिब ६ किलोमिटर दूरीमा खोला किनारको ५ सय मिटर जग्गा एकीकरण गर्दै करिडोर निर्माणलाई प्रभावकारी बनाइने समितिको लक्ष्य छ । खोला किनारको जग्गा एकीकरणले पीडित जग्गाधनीलाई योगदान कट्टा गरी जग्गा फिर्ता गर्नेसमेत जनाएको छ ।


जग्गा विवाद सुल्झने प्रत्येक वर्ष हनुमन्ते खोलाको प्राकृतिक बहावको विषयमा दुई नगरका स्थानीयबीच विवाद हुँदै आएको छ । एक पक्षले २०२१ सालको नापीअनुसार खोलाको बहाव परिवर्तन गर्ने तर्क राख्दै आएका छन् भने, अर्का पक्ष साबिक बगेको खोलालाई हनुमन्ते खोलाको सार्वजनिक जग्गा मान्दै आएका छन् ।


कतिपयले खोलाको जग्गालाई अस्थायी लालपुर्जामा परिणत गराइसकेका छन् । खोला किनारमा हुने जग्गा एकीकरणले सबै समस्या समाधान गर्ने समिति संयोजक एवं सूर्यविनायक नगरप्रमुख वासुदेव थापा बताउँछन् । २०२१ सालमा खोलाको नाममा भएको कतिपय जग्गा अतिक्रमण भइसकेको छ ।


खोला अतिक्रमण तथा खोला साँघुरिंदै जाँदा प्रत्येक वर्षातमा भक्तपुर डुबानमा पर्ने समस्या ताजा छ ।

करिडोर निर्माण तथा खोलाको जग्गा विवाद समाधानका लागि समितिले जग्गा एकीकरणको प्रक्रिया थालिसकेको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर २३, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?