२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

धमाधम कालोपत्रे

कलंकी–नागढुंगा चैतभित्रै 
चावहिल–जोरपाटी लम्बियो
विमल खतिवडा

काठमाडौँ — अत्यधिक सवारी चाप हुने उपत्यकाको कलंकी–नागढुंगा सडक कालोपत्रेको काम तीव्र पारिएको छ । धूलो र जामले सास्ती भोग्नुपरेको गुनासो बढेपछि सरकारले सडक निर्माणलाई प्राथमिकता दिएको हो । सडक विभागका अनुसार यो खण्ड चैतभित्र कालोपत्रे गरी सकिनेछ । 

धमाधम कालोपत्रे

विस्तारका क्रममा खनेर छाडिएका राजधानीका अन्य सडक भने तत्काल बन्ने छाँट छैन । धूलो बढी भएको ठाउँमा पानी छ्याप्ने व्यवस्था गरिँदै आएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

‘नागढुंगा–कलंकी खण्ड चैतभित्र सक्ने गरी काम भइरहेको छ,’ सडक विभागका उपमहानिर्देशक मुक्ति गौतमले भने, ‘तर सबैतिरको सडक सकिने अवस्था छैन, कतै विवाद छ, कतै मुद्दा परेको छ, कतै जनताले रोकेका छन् ।’ उनका अनुसार चावहिल–जोरपाटी खण्डमा केही ढिलाइ हुन सक्छ ।

‘धेरै सवारी चाप कलंकी–नागढुंगा खण्डमा छ, त्यही भएर अहिले यो खण्डमा धमाधम काम भइरहेको छ,’ उनले भने, ‘चावहिल–जोरपाटी खण्डमा केही ढिलाइ भइरहेको छ, उक्त खण्ड अर्को आर्थिक वर्षसम्म सक्ने लक्ष्य छ ।’ गौतमका अनुसार मेलम्ची खानेपानी आयोजनाको पाइपले पनि समस्या थपिएको छ ।

‘एक ठाउँ सडक बनायो अर्को ठाउँ पानी चुहिन्छ,’ उनले भने, ‘मेलञ्चीको खानेपानी राजधानी आएपछि अझ बढी समस्या हुने देखिएको छ ।’ उनले यो समस्यालाई नियन्त्रण गर्न जरुरी रहेको औंल्याए ।

सडक निर्माणमा प्रगति बढेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए । ‘अहिले नागढुंगा खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ, गत वर्षदेखि नै सुरु भएको हो, अहिले दुई तहको पिचको काम पनि सुरु भएको छ,’ उनले भने ।

चावहिल–जोरपाटीमा पनि कालोपत्रे तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । गोकर्ण रिसोर्ट खण्डको ४/५ सय मिटरमा एक–दुई दिनभित्र काम थालिने उनको भनाइ छ । ‘चुच्चेपाटी खण्ड मंसिर मसान्तभित्रै पिच गर्ने तयारीमा छौं,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र दुवै सडकको निर्माण सक्ने लक्ष्य छ तर समस्या अझै सकिएको छैन ।’

कतैकतै विवादका कारण पहिला बनाइसकेको संरचनामा समेत काम रोकिएको छ । साँखुको सलम्बुटार क्षेत्रमा मुआब्जाको समस्या छ । ‘विवाद नभएको ठाउँमा काम भइरहेको छ, विवाद भएको ठाउँमा छाडेका छौं,’ उनले भने, ‘नागढुंगा खण्डमा धूलो नियन्त्रण गर्न पानीको व्यवस्था गरेका छौं ।’

त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्ड निर्माण थालिएको ३ वर्ष भयो । १२ किमि सडक चार भागमा बाँडेर ठेक्का लगाइएको छ । पहिलो खण्डको ठेक्का बज्रगुरु/बिरुवा/सीएम जेभीले पाएका र ०७५ कात्तिक ३० भित्र निर्माण सक्ने गरी ०७२ असार ३१ मा सम्झौता भएको थियो ।

अन्य खण्डको ठेक्का लिएका शर्मा/सैलुङ/कान्छाराम जेभी र लुम्बिनी/सैलुङ/साप जेभीले ०७२ असार ३१ मा ठेक्का सम्झौता गरेका थिए । उनीहरूले ०७५ असोज ३० भित्र काम सक्नुपर्ने सम्झौता थियो । यही खण्डको शर्मा/सैलुङ/कान्छाराम जेभीले ०७२ असार ३१ मा गरेको ठेक्का सम्झौतामा ०७५ पुसमा पिच गरिसक्ने उल्लेख छ । चार खण्डको ठेक्का रकम १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार छ ।

कलंकी र चावहिल–जोरपाटी खण्डमा २२ मिटर सडक भत्काउन बाँकी छ । मन्त्रिपरिषद्ले अहिले जति जग्गा छ, त्यतिमै सडक बनाउने भनेपछि काम अघि बढाइएको हो । चावहिल–जोरपाटी–वाग्मती–साँखु खण्डको ठेक्का अवधि सकिन लागेको छ । ५ खण्डमा विभाजन गरेर निर्माण जारी राखिएको छ ।

प्रकाशित : मंसिर २३, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?