कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुई पोखरीको स्वरूप फेरिँदै

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक दुई पोखरी संरक्षण तथा पुनर्निर्माण थालेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरको रूपमा परिणत दुई पोखरी संरक्षणका लागि उपभोक्ता समिति गठन गरी कार्य प्रारम्भ गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

दुई पोखरीको स्वरूप फेरिँदै

दुई पोखरी संरक्षणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । पोखरी संरक्षणका गर्न स्थानीय नीरञ्जन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।


आकाशेपानीलाई प्रशोधन गरी मध्यपुर थिमि–४ को ऐतिहासिक दुई पोखरीमा पानी भर्ने प्रस्तावअनुरूप पुनर्निर्माण सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।


दुई पोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इस्टिमेट तयार गरेको छ । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रका रूपमा दुई पोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए ।


हाल पोखरी वरिपरि ६ वटा फल्चा अवस्थित छ । करिब ३ सय वर्ष पहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुर थिमिवासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ । कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो ।


बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविद्हरू बताउँछन् । दुई पोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो ।


२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठ बताउँछन् । बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन ।


‘गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन,’ स्थानीय गणेशनारायण श्रेष्ठले भने, ‘मध्यपुर थिमि नगरपालिका भएपछि वास्ता गर्न छाड्यो र पोखरी मासियो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले सुक्यो ।’ ०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेन ।


मध्यपुरवासीले दुई पोखरी सुधार समिति नै गठन गरी पटक/पटक संरक्षण प्रयास गर्दै आएका छन् । मध्यपुर थिमि बालुवाको थुम्कोका रूपमा पनि चिनिन्छ । बालुवा भएको ठाउँमा पानी जोगाउन मुस्किल हुने स्थानीय बताउँछन् ।


पोखरीमा पानी बचाउन पहिलेकै मुहान पत्ता लगाउनुपर्ने र नगरपालिकाले पोखरीको पूर्ण संरक्षण गर्न एकमुष्ट रकम छुट्याउन आवश्यक रहेको स्थानीयको सुझाव छ । मध्यपुर थिमि–१२ याता क्षेत्रमा करिब २० वटा इनार छन् । इनारहरूको मुख्य स्रोत पनि दुई पोखरी नै भएको स्थानीय एवं दुई पोखरी अनुगमन समिति संयोजक बालकृष्ण पात्य श्रेष्ठले बताए ।


पोखरीमा पानी सुक्न थालेपछि इनारमा पनि पानी सुक्दै गएको छ । नगरपालिकाले दुई पोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शन स्थल निर्माण गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । इनायटोलदेखि दिगु भैरव मन्दिरसम्म पैदलमार्ग निर्माण गरी ठूला सवारी निषेध गर्ने विषयमा छलफल भइरहेको समेत उनले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?