कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ल्यान्डफिल साइटका जनप्रतिनिधि भन्छन्– ‘फोहोरका कारण आलोचित भयौं’

काठमाडौँ — फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै उपत्यकाका जनप्रतिनिधि आलोचित भइरहेका बेला ल्यान्डफिल साइटका जनप्रतिनिधिले पनि यही गुनासो गरेका छन् ।

फोहोर प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयले आइतबार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । नुवाकोटको ककनी र धादिङको धुनिबेंसी गाउँपालिकाका जनप्रतिनिधिले बैठकमा फोहोर व्यवस्थापनको ठोस नीति बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


उपत्यकाका तीनै जिल्लाका साथै काभ्रेको फोहोर व्यवस्थापनसमेत सिसडोलमा गरिँदै आएको छ । तर ल्यान्डफिल साइटका कारण स्थानीयमा समस्या हुन थालेपछि आफूहरूको आलोचना हुने गरेको जनप्रतिनिधिको भनाइ छ । ‘फोहोर व्यवस्थापनमा परिणाम देखाउन नसक्दा आलोचित भइरहेका छौं,’ धुनिबेंसी गाउँपालिका प्रमुख बालकृष्ण आचार्यले भने । उपप्रमुख नीरु खरेलले महानगरले फोहोर प्रभावित क्षेत्रमा गर्ने विकास निर्माण र पूर्वाधारसम्बन्धी सहयोग दिनेबारे भनिन्, ‘तपाईंहरू फोहोर नपठाउनुस्, केही दिनु पनि पर्दैन ।’


ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले स्थानीयलाई जवाफ दिन सक्ने वातावरण नभएको दुखेसो पोखे । उपप्रमुख सीता खतिवडा लामाले काठमाडौं महानगर फोहोर प्रभावित क्षेत्रको पनि अभिभावक जस्तै भएकाले फोहोर व्यवस्थापन गर्न साझेदारसँग समन्वय गर्न आग्रह गरिन् ।


प्रभावित क्षेत्रका वातावरण र जनस्वास्थ्यमा परेको प्रभाव न्यूनीकरण कुनै पनि ल्यान्डफिल साइटको पहिलो प्राथमिकता हुनुपर्ने उनीहरूको भनाइ छ । बैठकमा सहभागी सबैले स्थानीय जनप्रतिनिधिसहित संघीय सरकारलाई पनि फोहोर व्यवस्थापनसँग जोड्नुपर्ने र छलफल चलाई यथाशीघ्र नयाँ साइट निर्माणबारे सोच्नुपर्ने बताए ।


गुनासो सुनेपछि जवाफ दिँदै महानगरका मेयर शाक्यले फोहोर व्यवस्थापनबारे महानगरले गृहकार्य गरिरहेको जनाए । उनले भने, ‘ल्यान्डफिल साइटको दिगो व्यवस्थापन गर्न संघीय सरकार, सडक विभाग र महानगरबीच काम बाँडफाँट भइसकेको छ । निजी क्षेत्रमार्फत व्यवस्थापन गर्नेगरी लगानी बोर्ड प्रक्रिया टुंग्याउने चरणमा छ ।’


उनले बालाजुदेखि तीनपिप्लेसम्मको सडक चाँडै निर्माण हुने र साथसाथै सिसडोलदेखि बञ्चरेडाँडासम्मको झन्डै २ किलोमिटर सडक कालोपत्रे गर्न बोलपत्र आह्वान भइसकेको जनाए ।


२०६४ सालमा नुवाकोटको सिसडोलमा ३ वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमै फोहोर फाल्न थालेको ११ वर्षभन्दा बढी भइसकेको छ । यसबीच स्थानीयले विभिन्न माग राख्दै फोहोर फाल्न अवरोध पुर्‍याउँदै आएका छन् ।


त्यसैगरी, सडकको जीर्ण अवस्थाका कारण पनि कतिपय अवस्थामा फोहोर फाल्न समस्या हुने गरेको छ । यसको विकल्पका रूपमा बञ्चरेडाँडामा सन् २००२ मै बनाइने भनिएको ल्यान्डफिल साइट निर्माणको काम अहिलेसम्म सुरु भएको छैन ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?