कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काठमाडौं महानगरमा अब नियमित सडक सफाई

विद्या राई

काठमाडौँ — धुलोधुवाँ र फोहोर काठमाडौंको मुख्य समस्या । महानगरको एउटै लक्ष्य ‘नो मास्क सिटी’ । महानगरले विभिन्न ठाउँमा हरियाली प्रवद्र्धन गर्ने, सडकमा ‘आइल्याड’ बनाएर पानी हाल्ने काम गर्दै आएको पनि हो ।

काठमाडौं महानगरमा अब नियमित सडक सफाई

त्यतिले मात्रै कुरुप महानगरको सौन्दर्यता फर्ने नसक्ने भएपछि पछिल्लो समय जनप्रतिनिधि र कर्मचारीहरु आफै सरसफाईमा जुटेका छन् ।


उनीहरु हरेक शनिबार बिहान झाडू, डष्टबिन, बेल्चा, बु्रमर, जेट मेसिन, गाडी लिएर रत्नपार्कमा जम्मा हुन्छन् । सडक सफाई गर्दै विभिन्न ठाउँ पुग्छन् । नियमित सफाईमा सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालाहरुले पनि साथ दिएका छन् । सौन्दर्य प्रवद्र्धनमा सघाउ पुर्‍याउने उदेश्यले विशेष सरसफाई अभियान नै घोषणा गरेर कार्यक्रमलाई निरन्तरता दिएका छन् ।


गएको कार्तिक २९ गते सहरी व्यवस्थापनका लागि विकास साझेदारसँग महानगरले प्राविधिक सल्लाह गरेको थियो । सोहि अनुरुप मंसिर ८ बाट सडकको नालीमा बनाइएका अनावश्यक र्‍याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र जेट मेसिनले पखाल्ने काम गर्दै आएको छ । मेयर शाक्यले अभियानको औपचारिक उद्घाटन गरेका थिए । रत्नपार्कबाट सुरु भएको सडक सफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो भने दोस्रो हप्ता पनि यही रुटमा सफाइ भएको थियो ।


तेस्रो हप्ता रत्नपार्कबाट सुरु भएर जमल हुँदै महाराजगञ्जसम्म सफाइ गरेको छ । हरेक हप्ता छुट्टाछुट्टै सडक खण्डमा सफाइ गर्दै जाने कार्यक्रम छ । जुन कार्यक्रम रत्नपार्कबाटै सुरु हुन्छ । महानगरले सडकमा धुलो उठाउन थप सहजताका लागि पाँच ओटा बु्रमर खरिद प्रक्रियालाई अघि बढाएको छ ।


महानगरलाई धुलोधुवाँमुक्त बनाउन नसकेसम्म अभियानले निरन्तरता पाउने मेयर विद्यासुन्दर शाक्यको दाबी छ । ‘अभियान जारी रहन्छ, महानगरलाई चाडै नै सफा र सुन्दर सहर बनाउने छौँ,’ उनले प्रतिबद्धता जनाए । महानगरसँगै विभिन्न संघ–सस्थाले अलग–अलग रुपमा सफाई अभियान सञ्चालन गर्दै आएका छन् । कतिपय ठाउँमा महानगर आफैँले सफाइ गर्छ । कतिपय ठाउँमा सडक विभागले ।


उपमेयर हरिप्रभा खड्गीले सफाईलाई महानगरको विशेष अभियान भएकाले महानगरबासीहरु पनि सचेत हुनुपर्ने बताउँछिन् । ‘जनप्रतिनिधिलाई जिताएर पठाएको भनेर जनता चुपचाप बस्न भएन, आफ्नो तहतप्काबाट सचेत भयो भने महानगरलाई धुलोमुक्त बनाउन समय लाग्दैन,’ उनले भनिन् ।


महानगरको अस्तव्यस्त, कुरुप र दुर्गन्धित अवस्थालाई सुधार्नका लागि वातावरण व्यवस्थापन विभागले विशेष योजनाहरु बनाएको छ । विभागका प्रमुख हरि कुवँरका अनुसार महानगरभित्र हरियाली प्रर्वद्धन गर्न वृक्षरोपण र संरक्षण गर्ने योजना छ ।


अव्यवस्थित तार तथा पोल र खानेपानीका पाइप व्यवस्थापन चाडै सुरु गर्दैछ । सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्ने, सडक मर्मत तथा मार्किङ् गर्ने, ट्राफिक व्यवस्थापन गर्ने योजना छन् । यसका लागि सडक विभाग, टेलिकम, विद्युत, मेलम्ची खानेपानी आयोजना, नेपाल प्रहरी, सशस्त्र, ट्राफिक प्रहरी लगायत सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने कुवँरले बताए ।


महानगरमा प्रदूषण बढ्नुको मुख्य कारण भनेकै सडक तथा पूर्वाधार निर्माण छन् । भुकम्पका कारण जीर्ण बनेका संरचनाको पुन:निर्माण, मेलम्ची खानेपानी आयोजना, कलंकी सडक विस्तार समयमा सम्पन्न नहुँदा महानगरबासीलाई धुलोधुवाँको सास्ती छ । यसैगरी महानगरभित्र छिर्ने सवारीसाधनहरुसँगै भित्रने धुलोधुवाँले पनि महानगरमा प्रदूषण बढाउँदै गएको छ ।

सरोकारवालाहरु कारणहरु पहिचान गर्दै समाधानका लागि जागरुक भए चालु आर्थिक वर्षको अन्त्यसम्ममा सफा र सुन्दर महानगर बनाउन सकिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए ।


यसका लागि महानगर, प्रदेश सरकार र नेपाल सरकारको सहकार्य महत्वपूर्ण हुन्छ । सडक निर्माणका कार्यले प्रदूषण हुनमा सहयोग पुगेकाले सडक कालोपत्रेका कार्यहरु चाडै सम्पन्न गर्नुपर्ने उनी बताउँछन् । राजमार्ग सफाइ गरेर चिटिक्क पारे पनि शाखा कच्ची सडकहरुले गर्दा धुवाँधुलोको मात्रा उस्तै हुन्छ ।

धुलोको स्रोतलाई नै बन्द गर्नका लागि महानगरका सबै सडक कालोपत्रे गर्न जरुर रहेको बताउदै मन्त्री महासेठले भने,‘सडक व्यवस्थापनमा भौतिक पूर्वाधार सहयोग गर्न तयार छ, भौतिक पूर्वाधार मन्त्रालय र महानगरपालिका मिलेर समयमै काम गर्ने प्रतिबद्धता गर्यौ भने असम्भव केही छैन ।’


विकसित देशहरुमा जस्तै कलंकी तथा साखुबाट छिर्ने सवारीसाधनहरुलाई नाकामै धोइपखाली गर्ने चलन प्रयोगमा ल्याउनुपर्ने महासेठ बताउछन् । यसबारे महानगरले वार्षिक नीति तथा कार्यक्रम पनि बनाएको छ ।


जनप्रतिनिधि पाएको १८ महिनापछि भएपनि धुलोधुवाँको सास्ती सम्बोधन भएकोमा महानगरबासी पनि खुसी भएका छन् । ‘जनप्रतिनिधिबाट विकास र निकासका थुप्रै सपना बुनेका छौँ, सरसफाईजस्तै वर्षौँदेखिका कुण्ठा सम्बोधन हुदै जानुपर्छ,’ उनीहरुको भनाइ छ ।

भिडियाेमा हेर्नुहाेस् सडक सफाई

प्रकाशित : मंसिर २५, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?