१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

न:गाउँ जात्रा : ओझेलमा ‘धाल्चा खाकेगु’

प्रशान्त माली

काठमाडौँ — कीर्तिपुर न:गाउँका ६० वर्षीय शम्भुराम महर्जन घुमफिर मन गर्न मन पराउने व्यक्ति हुन् । उनी प्राय: साथीभाइसँग उपत्यका बाहिरका जिल्ला पुगिरहन्छन् । मंसिरयता भने उनी न:गाउँ जात्रामा योगिनीको भूमिका निभाउने पालो भएकाले उनी उपत्यकामै छन् ।

स्थानीय दे: गुठीले पनि उनलाई जात्राका लागि खबर गरिसकेको छ । सोमबार न:गाउँमा भेटिएका महर्जन भन्छन्, ‘जात्रामा योगिनीको मुख्य भूमिका रहन्छ । योगिनी दीक्षा लिएका गुठीयारबाट मात्र बस्नुपर्ने नियम छ । जात्रा नरोकियोस् भनेर गुठीले सचेत गराएको हो ।’


१३ वर्षको उमेरमा दीक्षा लिएका महर्जनले ६ पटक योगिनीको भूमिका निभाइसकेका छन् । ‘योगिनी जगाउनुमा मुख्य भूमिका चर्या गीत र संगीतको हुन्छ,’ उनले भने । जात्रामा उनीसँगै योगिनीको भूमिका खेल्ने अन्य ४ छन् ।


हीरालाल महर्जन, रवि, शान्तकुमार र किरण महर्जनलाई पनि कतै नजान गुठीले जानकारी गराइसकेका छन् । ७५ वर्षीय हीरालाल महर्जनकी बुहारी भन्छिन्, ‘बुवालाई घाउचोट लाग्ला भनेर घरबाहिर पठाउन कम गरेको छु ।’ योगिनीको भूमिका दे: गुठीका दीक्षा लिएका २५ जना गुठीयारमध्ये पालैपालो थाप्ने गर्दछन् । गुठीमा अन्तिमपटक २०३० मा १ सय १३ जनाले दीक्षा लिएका थिए ।


योगिनी महिला साधक भए पनि न:गाउँमा पुरुषले नै भूमिका खेल्ने परम्परा छ । सातगाउँले जात्रा कीर्तिपुरको न:गाउँबाट सुरु हुन्छ । जात्रा औपचारिक रूपमा बुधबारबाट सुरु हुँदै छ । यसका लागि गाउँमा चहलपहल सुरु भइसकेको छ । न:गाउँ जात्रा भन्नेबित्तिकै प्राय: ले बालकुमारीको खट जात्रा सम्झन्छन् ।


‘धाल्चा खाकेगु’ भनी योगिनी जगाउने जात्राको मुख्य विशेषता हो । मध्यराति पीठमा हुने भएकाले प्राय: लाई जानकारी नभएको स्थानीय गुठीयार बताउँछन् । दे: गुठीयार कर्ण महर्जन भन्छन्, ‘तन्त्रमार्गीले परापूर्वककालमा विभिन्न उद्देश्यले तान्त्रिक विधिपूर्वक मूर्तिमा प्राण र मानव शरीरमा दैवीशक्ति प्रतिस्थापन गर्ने गर्थे ।


हिन्दु र बौद्धमार्गीले कुनै शुभकार्य गर्नुअघि भूतप्रेत, पिशाच र दूषित वायु पन्छाउने गरिन्छ । मानव शरीरभित्रको दैवीशक्ति जगाएर शान्ति स्वस्ति गर्नु नै ‘धाल्चा खाकेगु’ हो ।’ उनका अनुसार धाल्चा भनेको जाँड राख्ने भाँडो र खाकेगु भनेको माटोको भाँडो समातेका दीक्षा लिएका व्यक्तिलाई तन्त्रमार्फत जगाउनु हो ।


जात्रामा ५ योगिनीले माटोको भाँडोमा राखेको दूध, रगत, रक्सी, सेतो र कालो जाँड विधिपूर्वक अदृश्य शक्ति र बालकुमारी देवीलाई चढाउने गरिन्छ । यो परम्परा रातो मत्स्येन्द्रनाथ जात्रामा पनि हुने गरेको गुठीयार बताउँछन् ।


उनीहरूका अनुसार जावलाखेलमा हुने भोटो जात्राको अघिल्लो राति बुङमतीका गुरुजुले ‘पान्जु नकिं खाकेगु’ भनी योगिनी जगाउने चलन छ । मत्स्येन्द्रनाथलाई भारतबाट नेपाल ल्याउँदा उनीसँगै राक्षस पनि आएका थिए । ‘राक्षसले केही विघ्न बाधा नपुर्‍याओस् भनेर यस्तो गर्ने चलन अहिले पनि छ,’ उनले भने ।


स्थानीय नगांको नामबाट परिचित गाउँमा झन्डै १ हजार ५ सय रैथाने ज्यापू र माली समुदायले विशेष रूपमा जात्रा मनाउने गरिन्छ । जात्राको मुख्य दिन मंसिर शुक्ल अष्टमी शनिबार हो । पञ्चमीमा भेलुथ्वं (एक प्रकारको जाँड) बनाउने कार्यबाट हुन्छ ।


सप्तमीमा गाउँभरि ध्वजापताकाले सिंगारी घरआँगन, चोकचोक सफासुग्घर गरेर लिपपोत गरिन्छ । बेलुका घरघरमा त:खा (थलथल्ले) पकाई गुठीमा भोज गरिन्छ । मुख्य दिन अष्टमीमा लाछी टोलस्थित बालकुमारी द्य:छें (देवता घर) मा पूजा गर्ने प्रचलन छ । साँझ द्य:छेंको बालकुमारी मूर्ति खटमा राखेर बाजागाजासहित जात्रा गरेर पीठमा लगिन्छ ।


बालकुमारीको विधिवत् पूजा सकेपछि जात्राको मुख्य आकर्षणका रूपमा रहेको ‘धाल्चा खाकेगु’ सुरु हुन्छ । दे: गुठीयार महर्जन भन्छन्, ‘योगिनी कमाउने परम्परा कहिलेदेखि सुरु भयो भन्नेबारेमा लिखित अभिलेख छैन । यो प्रचलन यस भेकमा कतै पाइँदैन । विधिपूर्वक प्रक्रिया पुर्‍याएर गर्न सकेमा गाउँलेलाई भूत, प्रेत, रोगव्याधीबाट बचाउने विश्वास छ ।’


नवमीमा वाद्यवादक समूह बालकुमारीमा पुगेर पूजा गर्छन् । अन्त्यमा गुरुजु, देगुथिका नाइकेलगायत जात्रा पालो थाप्ने बालकुमारीमा चढाइएको बलिको शिर राखेर प्रसादग्रहण गरिन्छ । कीर्तिपुर नगरपालिका–९ का अध्यक्ष गंगाराम महर्जनले संस्कृति प्रवद्र्धन गर्न ५ लाख बजेट विनियोजित गरेको बताए । ‘जात्रापर्वलाई पर्यटनसँग जोडेर आम्दानीको बाटो पनि बनाइनेछ,’ उनले भने ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?