२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

साइबर क्राइमका घटना दोब्बर

फातिमा बानु

काठमाडौँ — काठमाडौंकी १६ वर्षीया किशोरीको फेसबुकमार्फत एक विदेशी साथी बने । सामान्य बोलचालबाट सुरु भएको उनीहरूको कुराकानी दैनिक ४/७ घण्टासम्म लम्बियो ।

विदेशी साथीले आइफोन पठाइदिने, युरोप घुम्नको लागि भिसा पठाउने प्रलोभन देखाएपछि उनी बढी नजिकिएकी थिइन् । कुरा गर्ने सिलसिलामा विदेशी साथीले नांगो फोटो पठाउन आग्रह गर्थे, उनी भने मान्दिनथिन् ।


आइफोन पाउने, युरोप घुम्ने सपना बुनेकी ती किशोरीले धेरै दिनसम्म फेसबुक साथीको आग्रह अनुसारका फोटो पठाउन थालिन् । दैनिक नयाँ पोजका अश्लील फोटो माग्न थालेपछि उनलाई ती व्यक्तिप्रति घृणा जाग्यो । कतिपटक त उनले, ‘यस्तो फोटो माग्ने भए बोल्दिनँ ब्लक गरिदिन्छु’ पनि भनिन् ।


फेसबुकबाट ब्लक गरिदिए उनका नांगा फोटोहरू सार्वजनिक गरिदिने धम्की दिइरहे । उनको वास्ता नगरी ती व्यक्तिलाई ब्लक गरिन् । नभन्दै उनका अश्लील फोटोहरू इन्टरनेटमा अप्लोड भए । यति हुँदा पनि उनले घरमा यसबारे कोहीसँग कुरा गरिनन् । तनावका कारण मानसिक समस्या देखियो ।


अभिभावकले धेरै फकाएर सोधेपछि मात्रै उनले यथार्थ बताइन् । घटनाबारे उनले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको साइबर क्राइम युनिटमा उजुरी गरेकी छन् । तर ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायका अनुसार पीडक विदेशी व्यक्ति भएकाले अनुसन्धान जटिल छ ।


नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा यस्ता सयौं घटना दर्ता छन् । ३ वर्षअघि टेकुस्थित महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा अनलाइन हिंसासम्बन्धी ८ सय ३० घटना दर्ता भएका थिए । गत वर्ष हिंसाका घटना दर्ता बढेर झन्डै १५ सय पुगे । यो वर्षको असारदेखि मंसिर महिनाभित्र मात्रै अनलाइन हिंसा ६ सय ६५ घटना दर्ता भएका छन् ।


कतिपय घटनामा सामाजिक सञ्जालको गलत प्रयोग गरी व्यक्ति आफंैले आफैंलाई समेत पीडित बनाएको पनि देखिएको छ । फिसिङ गरी अकाउन्ट ह्याक गर्ने, फेक इमेल पठाएर आर्थिक ठगी गर्ने, मेसेन्जरमार्फत चिठ्ठा परेको भन्दै ठग्नेजस्ता घटना पनि बढेका छन् । महाशाखा टेकुका अनुसार दैनिक साइबर अपराधसम्बन्धी विभिन्न घटना दर्ता भइरहेका छन् ।


ख्यातिप्राप्त व्यक्तिका नक्कली फेसबुक बनाएर गलत प्रयोग गरिदिने, सामाजिक सञ्जालमार्फत गालीबेइज्जती, अश्लील सन्देश र फोटो पठाउने, ब्ल्याकमेल गर्ने, व्यक्तिगत रिस पोख्न चरित्र हत्या गर्ने घटना पनि उत्तिकै छन् ।


महाशाखाका प्रहरी निरीक्षक प्रदिन ताम्राकार भन्छन्, ‘नेपालमा बस्दै आएका विदेशीले नेपालीलाई विभिन्न प्रलोभनमा पारेर गोप्य फोटो हात पार्छन्, अनि ब्ल्याकमेल गर्दा रैछन् ।’ व्यक्तिगत फोटो र मेसेज सार्वजनिक गरी मानसिक यातना दिने घटनाहरू बढी हुने गरेको उनी बतााउँछन् ।


विद्युतीय कारोबार ऐन २०६३ अनुसार सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल खोलेर बेइज्जत गर्ने तथा दु:ख दिने, इमेलमार्फत जथाभावी धम्की दिने तथा नगद माग गर्ने, विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने, अनलाइनबाट, धम्कीपूर्ण

सन्देश पठाउनेजस्ता क्रियाकलाप अपराध हुन् । ऐनअनुसार यस्ता अपराधलाई १ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।


मुलुकी ऐन २०७४ (संहिता) अनुसार कुनै पनि माध्यमबाट बालयौन दुराचार गरेमा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकेको छ । अनलाइन हिंसाको जोखिम र सिकारमा विशेषगरी बालबालिका र किशोरी बढी हुने गरेका छन् । ऐनअनुसार पीडित भएको ३५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ ।


अधिकांश पीडित ढिलो उजुरी दिन आउने हुँदा पीडकलाई कारबाहीको दायरामा ल्याउन मुस्किल हुने निरीक्षक ताम्राकार बताउँछन् । उनका अनुसार यस्ता घटनालाई सार्वजनिक हुनै नदिने, भइहालेमा उजुरीपश्चात पीडक/पीडितबीच आर्थिक लेनदेनमा मिल्ने प्रवृत्तिले गर्दा हिंसापीडित बालबालिकाललाई न्याय दिलाउन समस्या हुन्छ ।


मानिसको जीवनको अभिन्न अंग बनेको फेसबुकमा विश्वव्यापी एक मिनेटमा एकैपटक ७ लाख व्यक्तिले ‘लग–इन’ गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार अहिले देशका कुल जनसंख्याको करिब ६३ प्रतिशत व्यक्ति इन्टरनेट प्रयोगकर्ता छन् । यस्ता सेवा दिने २० भन्दा बढी सेवा प्रदायक छन् । बाल्कल्याण समितिको तथ्यांकअनुसार १३/१४ उमेर पुगेका अधिकांश बालबालिकाले मोबाइल बोक्छन् ।


‘मोबाइलको प्रयोगमाथि नियन्त्रण नहुँदा उनीहरू हिंसामा पर्ने गरेको बालअधिकारकर्मी कविता शाह बताउँछिन् । उनी भन्छिन्, ‘फेसबुकमा उनीहरूले गर्ने गरेका हरेक क्रियाकलापहरू पोस्ट गर्छन्, आफू के गरिरहेको, कहाँ गइरहेको जस्ता सबै कुरा सार्वजनिक गर्ने बानीले बाललबालिका आफैंलाई जोखिममा पारेको छ ।’


केन्द्रीय बालकल्याण समितिको एक अध्ययनअनुसार काठमाडौंका ७२ प्रतिशत बालबालिकाको फेसबुक ‘अकाउन्ट’ छ । एक्प्याट लग्जमबर्गले काठमाडौंमा २०१७ मा गरेको एक अध्ययनअनुसार ८० प्रतिशत बालबालिकाले साइबरमा गएर इन्टरनेट चलाउने गरेका छन् । ४१ प्रतिशत बालबालिकाले दैनिक ३० मिनेटदेखि चार घण्टा इन्टरनेटमा समय बिताउँछन् ।

प्रकाशित : मंसिर २६, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?