कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घर फर्किएला पौभा चित्र ?

ललितपुर — दुई सय वर्ष पुरानो पौभा चित्र पाटन दरबार मूलचोकको श्रव्यदृश्य कक्षमा प्रदर्शनीमा राखिएको छ । चित्र गोसाइँकुण्ड यात्राको सन्दर्भमा कोरिएको थाङ्काको उष्कृष्ट मानिन्छ । 

अमेरिकाको एक संग्रहालयमा रहेको सक्कली कपी ल्याउन पाटनका आर्किटेक्ट रोहित रञ्जितकारले सरकारलाई गुहारेको ६ वर्ष बितिसक्यो । काठमाडौं उपत्यका संरक्षण कोष निर्देशक रञ्जितकार भन्छन्, ‘विदेशी मुलुकमा पुगिसकेको सामान व्यक्तिगत पहलमा फिर्ता ल्याउन सकिँदैन । उच्च क्वालिटीको फोटोसम्म ल्याइयो ।’ उनका अनुसार नेपाली कलाकृतिका बारेमा कतिपय कुरा उच्च पदमा बसेका व्यक्तिलाई थाहा नहुन सक्छ । ‘थाङ्काका बारेमा पटक–पटक जानकारी गराइसकेका छौं,’ उनले भने, ‘अब फर्काउन राज्यले पहल गर्नुपर्‍यो ।’


काठमाडौं इन्द्रचोक इटुम्बा टोलका ३ पौभा चित्र ४० वर्षअघि चोरी भएका थिए । स्थानीयको अग्रसरमा नेपालमा फिर्ता ल्याउन २ दशकअघि अमेरिकी राजदूतमार्फत पहल भएको थियो । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत पत्राचार भयो । तर, हालसम्म फिर्ता ल्याउन सकिएको छैन । रञ्जितकार भन्छन्, ‘पुरातात्त्विक महत्त्वका सामान चोरीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न भएकाले राज्य गम्भीर हुनुपर्छ ।’


पौभा चित्रसँगै १२ औं शताब्दीका हस्तलिखित ग्रन्थ शिवधर्म संग्रह, भागवत् पुराण र विष्णु धर्मका चार कृतिका चित्रयुक्त काठेगाता नेपालको राष्ट्रिय अभिलेखालयमा थिए । अभिलेखालय भित्रबाटै चोरी भई सन् २०१३ मा न्युयोर्कस्थित ऐतिहासिक वास्तुकला प्रदर्शनी एवं बिक्री कम्पनी क्रिस्टीले लिलामी गरिरहेको थियो ।


सामान फर्काउन नसक्दा नेपाली मात्र नभई विदेशी पनि चिन्तित छन् । ०७४ मा नेपाल आएका डेनमार्कका उलरिक जोहेसनले पनि नेपालबाट चोरी भएका ५० भन्दा बढी मूर्ति काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदर्शनीमा राखेर फिर्ता ल्याउन सरकारको ध्यानार्कषण गरेका थिए । अन्वेषक एवं साहित्यकार लैनसिंह वाङदेलले लेखेको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा उल्लेख भएका मूर्ति विदेशी संग्रहालयमा छन् ।


नेपाली सामान भएको प्रमाणित गर्न सकेमा फर्काउन सकिने भन्दै उनले नेपालबाट हराइरहेका मूर्ति–सम्पदा घर फर्काउन पहल गर्न आग्रह गरेका थिए । उनले प्रदर्शनीमा देवीदेवताका मूर्ति, तोरण, कलात्मक काठको बाकस, सिलाकु, कागजबाट बनाइएको चित्र, कलम राख्ने पित्तलको कलात्मक बाकस, दियो, मादललगायत सामग्री राखेका थिए ।


‘विगत केही दशकयता नेपालको सम्पत्तिमाथि निरन्तर हस्तक्षेप भइरहेको छ । यस्तै स्थितिमा नेपालका सम्पदा रित्तिने छन् । त्यसैले चाँडो फर्काउन पहल गर्नुहोला,’ उनको भनाइ थियो, ‘नत्र नेपालको अर्थतन्त्रमा नराम्रो असर पर्छ ।’

प्रकाशित : मंसिर २९, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?