कीर्तिपुर नगरमा हुँदैन बजेट खर्च

काठमाडौँ — कीर्तिपुर नगरपालिकाको आन्तरिक राजस्व संकलनको अवस्था सन्तोषजनक भए पनि बजेट भने खर्च हुने गरेको छैन । 

चालु खर्च ५१ करोड ६२ लाख रुपैयाँ रहेकामा ६ करोड २० लाख मात्र खर्च भएको छ । पुँजीगत खर्च साढे ४१ करोड रहेकामा ४ करोड पनि खर्च हुन सकेको छैन । आर्थिक र सामाजिक विकासका लागि छुट्याइएको रकममा पनि निकै कम मात्र खर्च भएको देखिएको छ ।


नगरपालिकाको तथ्यांकअनुसार पूर्वाधार विकासका लागि रहेको २२ करोड ७२ लाख रुपैयाँमा २ करोड मात्र खर्च भएको छ । यसैगरी वातावरण विपद् व्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रतर्फ पनि बजेट खर्च निकै न्यून भएको आर्थिक विकास शाखाले जनाएको छ ।


नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । मंसिर २४ सम्म ३ करोड ५९ लाख रुपैयाँभन्दा बढी उठिसकेको छ । पहिलो चौमासिकमा संकलित राजस्वझैं उठे लक्ष्य अनुसारको आय गर्ने नगरपालिकाको भनाइ छ ।


राजस्व शाखाका अनुसार कर संकलनलाई व्यापकता दिन नगरपालिकाले टोली गठन गरिसकेको छ । टोलीले पसलहरूमा जाने र व्यवसाय दर्ता नगरेको भेटिए त्यहीँ दर्ता गर्नेछ । सबैलाई नगरभित्र परिचालन गर्ने तयारी भइरहेको छ । ‘नगरपालिकाको कर वडाबाटै उठ्छ,’ वडा नं. ३ का सचिव तथा लेखा शाखामा काम गरेका काजीराम मालाकारले भने, ‘सबै वडामा पर्याप्त कर्मचारी छैनन् । निजामतीतर्फका कर्मचारी आइपुगेका छैनन् ।’


एकीकृत सम्पत्ति कर उठाउने नाममा कर रकम निकै बढाइएको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले आफ्नो सम्पत्ति कर व्यवस्थापन कार्यविधि संशोधन गरेको थियो । कृषियोग्य जग्गाको समेत कर उठाएर कृषकलाई निरुत्साहित बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए ।


‘अहिले मालपोत कार्यालय कलंकीले गरेको मूल्यांकनका आधारमा जग्गाको कर लिने गरेका छौं । अहिले घटाएपछि कर तिरिरहेका छन्,’ वडा सचिव मालाकारले भने । राजस्व शाखाको तथ्यांकअनुसार यस आर्थिक वर्षको मंसिर मध्यसम्ममा १ सय ३२ वटा व्यवसाय नगरपालिकामा दर्ता भइसकेका छन् ।

शुक्रबार नगरपालिकाको कार्यसम्पादन प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा उपप्रमुख एवं नगरकी प्रवक्ता सरस्वती खड्काले फोहोर व्यवस्थापनतर्फ पनि नगरले प्रगति गरेको बताइन् । विभिन्न गैरसरकारी संस्थासँगको समन्वयमा कपडा तथा कागजको झोला बनाउने तालिम दिइएको उनको भनाइ छ ।


मधुमेह र उच्च रक्तचाप रहेका नगरवासीको तथ्यांक नगरपालिकाले राखेको छ । आठ स्वास्थ्य चौकी सञ्चालनमा रहेकामा ३ वटा थपिएका छन् । यस आर्थिक वर्षमा ग्लुकोमिटर तथा रक्तचाप नाप्ने मेसिन नगरअन्तर्गतका स्वास्थ्य संस्थामा वितरण गरिएको छ ।


यसैगरी उपमेयर सरस्वती खड्का संयोजक रहेको न्यायिक समितिले यस आर्थिक वर्षमा जम्मा २० वटा उजुरी परेकामा ४ वटामा निर्णय सुनाइसकेको छ । ९ वटा कारबाहीका प्रक्रियामा छन् भने ४ वटा मुद्दामा मेलमिलाप गराइएको जनाइएको छ ।

प्रकाशित : पुस २, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?