स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

रासस

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । 

स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो ।


कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, 'यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् ।' सडक विभागसँग सहकार्य गरी मानिसको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानाकारी दिए ।


नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रुपमा देखिने गरी मर्मत गरिने कामपाले जनाएको छ । कामपाले चालू आव २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।


कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।


प्रकाशित : पुस ५, २०७५ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?