कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लिच्छविकालीन शिवलिंग संग्रहालयमै अलपत्र

काठमाडौँ — राष्ट्रिय संग्रहालयको बाहिरपट्टि एउटा प्राचीन शिवलिंग बेवारिसे छ । संग्रहालय क्यान्टिनको दक्षिणतिर रहेको लिच्छविकालीन यो शिवलिंग अचेल क्याटिनका कामदारको घाम तापेर बस्ने थलो भएको छ ।

लिच्छविकालीन शिवलिंग संग्रहालयमै अलपत्र

‘यो मूर्ति देख्दा बैराग लाग्छ,’ शिवलिंग खोज्दै संग्रहालय पुगेको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘भगवानको पनि मृत्यु हुँदो रहेछ भनेजस्तो अनुभूति हुन्छ ।’


इन्द्रचोक छेउको मासन गल्लीमा १० वर्षअघि भेटिएको थियो शिवलिंग । तीन महिनाभित्र प्रतिस्थापन गराउने निर्णय त्यतिबेलै भएको थियो । तर १० वर्ष बित्दासमेत उक्त कार्य सम्पन्न भएको छैन । टोलमा सुजाता शाक्यलगायतको घरको जग खन्ने क्रममा यो भेटिएको थियो ।


प्राचीन बस्तीमा एकै ठाउँमा झुरुप्प घर हुन्छन् । ती घरको सार्वजनिक चोक हुन्छन् । त्यही चोकमा रहेको मन्दिर कोही बेला मिचेर घर बनाएको सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन् । ‘एकै जनाले घर किने । घर किन्दा त्यो चोक पनि कब्जा गरे,’ तुलाधर भन्छन्, ‘त्यही भएर चोकको यो मूर्ति पुरियो । पछि त्यही चोक मासेर व्यापारिक कम्पलेक्स बनाइयो । त्यही कम्लेक्स बनाउने जग खन्ने क्रममा मूर्ति भेटियो ।’


जमिनबाट ७ फिट तल खन्दा मूर्ति भेटिएको थियो । भेटिएको मूर्तिलाई व्यवस्थापन गर्न स्थानीयबासीले लामो समय पहल गरेका थिए । मूर्तिलाई त्यही ठाउँमा राख्ने स्थनीयबासी चक्रधर तुलाधर धेरै लागि परेका थिए । मूर्ति राख्ने सपना पूरा नहुँदै उनी परलोक भइसकेका छन् ।


उनकै पहलमा पुरातत्त्व विभाग, कानुन व्यवसायी लगायतले यहाँ फेरि मूर्ति राख्ने निर्णय गरेका थिए । पुरातत्त्व विभागबाट यही साता अवकाश लिँदै गरेका भेषनारायण दाहालले त्यहाँ मन्दिर बनाएर मूर्ति राख्न विभिन्न समयमा निर्णयसमेत गरेका थिए । उनी प्रमुख पुरातत्त्व अधिकृत हुँदै मन्दिर बनाउने र मूर्ति प्रतिस्थापन गराउने निर्णय गरेका थिए ।


२०६६ चैत २२ गते यहाँ मन्दिर बनाएर मूर्ति राख्नेबारे पहिलो बैठक भएको थियो । मूर्ति राख्न विभागले दाहाललाई खटाएको थियो । दाहालसहित विभागका इन्जिनियर लक्ष्मण वासुकला, प्रो पब्लिककी अधिवक्ता रमा पन्त खरेल, प्रदिप्त पुस्तकालयका अध्यक्ष तीर्थधर तुलाधरलगायत स्थानीयबासी सहभागी थिए । बैठकले ५ वटा निर्णय गरेको थियो ।


बैठक बसेको भोलिपल्टैदेखि त्यो ठाउँको उत्खनन् गरिएको थियो । त्यहाँ खन्दा शिवलिंगबाहेक अन्य सामग्री पनि भेटिएको थियो । गणेश भएको माटोको रातो पाला, ढुंगाको तहतह भएको माटोको पाला, ढुंगाका ठुल्ठूला पाता (किनो) दुइटा, चन्दन घोट्ने ढुंगा, एउटा चेप्टो ढुंगाको पाता, प्रस्तरको नागल ढुंगा, शिवलिंगको बेस (योनि) एउटा, इँटा लगायत भेटिएका थिए । भेटिएका सामानको जिम्मा घरधनीका पति राजेन्द्र शाक्यको जिम्मा लगाउने निर्णय गरिएको थियो ।


त्यति बेला कम्प्लेक्स बन्दै थियो । त्यसको निर्माण रोक्ने निर्णयसमेत बैठकले गरेको थियो ।

दाहालकै अध्यक्षमा दोस्रो बैठक बस्यो चैत २३ गते । त्यो बैठकमा दाहाललगायत राष्ट्रिय संग्रहालयका फोटोग्राफर शालीग्राम कोइराला, संग्रहालयकै प्राविधिक अधिकृत उदेशलाल श्रेष्ठ, अधिवक्ता पन्त, अर्का अधिवक्ता अमिता लक्ष्मी सयजू श्रेष्ठ लगायत सहभागी भए ।


यो बैठकले त्यहाँ भेटिएका सामान पुरातत्त्व विभागलाई बुुझाउने निर्णय गर्‍यो । त्यही निर्णयअनुसार शिवलिंग बुझाइयो । त्यसलाई मन्दिर नबनाउन्जेल राष्ट्रिय संग्रहालयमा राख्न पठाइयो । संग्रहालयले दर्तासमेत नगरी बाहिरै राखेको छ ।


दाहालकै अध्यक्षातामा बसेको तेस्रो बैठकले मूर्ति भेटिएको ठाउँलाई केन्द्र बनाएर चारैतर्फ १० मिटर छोडाउने निर्णय गरेको थियो । चारैतिर १० मिटर छोडाउँदा केही भाग शाक्यको र केही भाग प्रदिप्त पुस्तकालयको पनि परेको थियो । त्यो ठाउँको छुट्टै मुचुल्का बनाएर मन्दिर बनाउने र मूर्ति प्रतिस्थापन गराउने निर्णय भएको थियो ।


शिवलिंग प्रतिस्थापन कार्य तीन महिनाभित्र सम्पन्न गराउने निर्णय त्यही बेला भएको हो । तर प्रतिस्थापन भएन । फेरि ६ महिनापछि दाहालकै अध्यक्षतामा चौथो बैठक बस्यो । मन्दिर स्थापनाका लागि प्राविधिक पठाउने, ड्रइङ डिजाइन, नापनक्सा तयार गर्न विभागले आवश्यक सहयोग गर्ने र जग्गा धनी, प्रदिप्त पुस्तकालयका तर्फबाट पनि सहयोग गर्ने निर्णय गर्‍यो ।


मन्दिर निर्माणको लागि कार्य समिति पनि बन्यो । मन्दिर बन्ने ठाउँमा १५ मिटर आकाश देखिने गरी ठाउँ छाडेर तला बनाउन दिने सहमति भएको थियो । प्रदिप्त पुस्तकालयले मन्दिरबाट मासन गल्ली जोड्ने गरी बाटोका लागि जग्गा दिने सहमति भएको थियो । घरको भुइँतलाबाट ५ फिट बाटो दिने र त्यहीअनुसार मिलापत्र गर्नेसमेत सहमति भएको थियो ।


‘दाहाल गए,’ तुलाधार भन्छन्, ‘आफू पुरातत्त्व अधिकृत भएको बेलामा गरेको निर्णय महानिर्देशक हुँदासम्म गरेनन् ।’ दाहालले अब आउने नेतृत्वले यो काम सम्पन्न गर्ने प्रतिक्रिया दिए । ‘मैले अब आउने नेतृत्वलाई यो काम गर्नू भनेको छु,’ दाहालले भने, ‘पहिला म प्रमुख पुरातत्त्व अधिकृत हुँदै यो निर्णय गरेको हुँ । तर राख्न सकिएन । अब राख्नू भनेर जान्छु ।’


यो शिवलिंग दुर्लभमध्येमा पर्छ । लिंग रूप प्रतिमा र मानवरूप प्रतिमा गरी शिवका दुई थरीका प्रतिमा हुन्छन् । यो लिंग रूप प्रतिमा हो । मानव रूप प्रतिमा बन्नुभन्दा पहिलाको मानिन्छ लिंग रूप प्रतिमा । भोगभाग, भद्रपीठ र बह्मपीठ गरी लिंगका तीन भाग हुन्छन् । लिंगको माथिल्लो भाग भोगपीठ, बीचको भद्रपीठ र सबभन्दा तल्लो ब्रह्म पिठ हो ।


जगमा भेटिएको शिवलिंगका यी तीनै भाग राम्रो अवस्थामा छन् । माटोबाट बनेको, काठबाट बनेको, प्रस्तरको, धातुको, रत्नबाट र बालुवा, चामल, चन्दन, रुद्राक्षबाट बनेको गरी ६ प्रकारका शिवलिंग हुन्छन् । यहाँ पाइएको लिंग प्रस्तरको हो । यो मूर्ति कडा प्रस्तरबाट बनेको छ । यसमा लेप लगाइएको छ ।


लेप गए पनि त्यसमा रहेको चिल्लोपना र चम्किलोपना यथावत् छ । ‘लेप लगाउने विधि लिच्छविकालमा मात्रै थियो । त्यसपछि यो प्रविधि हरायो,’ तुलाधर भन्छन्, ‘त्यति बेला कडा प्रस्तरमा बनाइने भएकाले लामो समयसम्म नमासिने गुण थियो ।

प्रकाशित : पुस ६, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?