कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अस्पतालको लापरबाहीले हात गुमेको आरोप

फातिमा बानु

काठमाडौँ — एक महिनाअगाडि नुवाकोटकी समीक्षा तामाङ विद्यालयको बेञ्चमा ठोक्किएर लडिन् । सामान्य ठोक्काइ भएकाले तत्काल दुखाइ भएन । साँझ परेपछि दुखाइ बढ्यो, समीक्षा बेस्सरी रुन थालिन् ।

परिवारले उनलाई नुवाकोट अस्पतालमा लगे । बाहिर चोटपटक नदेखिएकाले समीक्षाका अभिभावक त्यत्ति आत्तिएका थिएनन् । समीक्षाकी आमा रमनी तामाङ भन्छिन्, ‘पहिला पनि लडेर तीनचोटि हात भाँचेकी थिई । लड्ने सानातिना घाउ बनाउने त यसको बानी नै भइसक्याथ्यो ।’ नुवाकोट अस्पतालमा उपचार सम्भव नभएको भन्दै उनलाई राजधानीको ट्रमा सेन्टर रिफर गरियो ।


रात बढेसँगै समीक्षाको दुखाइ पनि बढिरहेको थियो । मंसिर ५ गते राति तीन बजे नै ट्रमा सेन्टर ल्याइएकी उनको अवस्था झन् बिग्रँदो थियो । आमा रमनी भन्छिन्, ‘डाक्टरले राति नै छोरीको अप्रेसन गर्नुपर्छ नत्र ज्यानै जोखिममा पर्छ भने । हामीले अरू केही नसोची अप्रेसन गर्ने निर्णय दियौं ।’


शल्यक्रिया गर्नुअघि कागजपत्रमा हस्ताक्षर गरे, नगरेको रमनीलाई याद छैन । अस्पतालले के कस्तो गर्नेबारे राम्ररी सल्लाह नगरी शल्यक्रिया गर्न हतार गरेको उनी सुनाउँछिन् । हस्ताक्षर नै नगराई शल्यक्रिया गरेकामा उनको चित्त बुझाइ छैन । उनीसँग हस्ताक्षर गरेको प्रमाण पनि छैन । उनी भन्छिन्, ‘पहिलोपटक काठमाडौंको अस्पताल आएकी, के हो कसो हो होसै पाइनँ ।’


नौ वर्षीया बालिका समीक्षा अहिले धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएकी छन् । दाहिने हात कुहिना तल काटिएको छ । बेलाबेलामा उनी आफ्नो हात खोजिरहन्छिन् । छोरीको ‘मेरो हात खोइ’ भन्ने प्रश्नको जवाफ रमनी दिन सक्दिनन् । आँखाबाट बर्बती आँसु मात्रै झार्छिन् ।


ट्रमा सेन्टरमा समीक्षाको चिरफार गरी शल्यक्रिया नभएको अस्पतालका निर्देशक डा. विनोद शेरचन बताउँछन् । उनी भन्छन्, ‘कुहिनाको हड्डी भाँचिएर ल्याएको रेकर्डमा उल्लेख छ, तार बाँधेर हामीले हड्डी मिलाउन खोजेको हो ।’ शल्यक्रियापछि समीक्षाको हातका औंलाहरू चल्न छाडेका थिए । यात्राभरि नरोएकी छोरी शल्यक्रियापछि निरन्तर रुन थालेको रमनीले सुनाइन् ।


उनले भनिन्, ‘अप्रेसन गरेर डाक्टर गइहाले, एकचोटि पनि हेर्न आएनन्, नर्सले पनि वास्ता गरेनन् ।’ शल्यक्रिया गरेको २० घण्टापछि बिरामी हेर्न आएका चिकित्सकले तुरुन्तै हातको भिडियो एक्सरे गर्न लगाए । एक्सरेको रिपोर्टअनुसार त्यतिखेर समीक्षाको हातमा रक्तसञ्चार रोकिइसकेको थियो । डा.विनोद शेरचन भन्छन्, ‘रक्तसञ्चारबारे उपचार गर्न बच्चालाई वीर अस्पताल रिफर गरेका थियौं, वीरबाटै उहाँहरू गायब हुनुभयो ।’


समीक्षाको उपचारमा चिकित्सकको लापरबाही भएको बिरामी पक्षको आरोप छ । वीर अस्पतालका चिकित्सकले रक्तसञ्चालन गराउने शल्यक्रिया सफल नहुन पनि सक्ने भनेपछि समीक्षा ग्रान्डी अस्पताल पुर्‍याइएको रमनीले बताइन् । शल्यक्रियापछिको जटिलताबारे चिकित्सक बुझ्न नआउँदा छोरी हातै काटेर फाल्ने अवस्थामा पुगेको उनको ठहर छ ।

प्रकाशित : पुस ७, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?