१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बौद्ध स्तूपमा प्वालैप्वाल

काठमाडौँ — बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियन्तालाई स्तूप वरिपरि घुमाए । स्तूपको ‘सोक्सिङ’ देखि तल्लो भागमा खोपेर बनाइएका साना–साना प्वाल देखाए ।

बौद्ध स्तूपमा प्वालैप्वाल

प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो । प्वाल खिच्दै अभियन्ताले स्तूप परिक्रमा गरे । रातिका लागि झिलिमिली बत्ती राख्न खोपिएको रहेछ प्वाल ।


‘स्तूपमा आगालागी भयो भने के गर्ने ? लामाले सुनाए । ‘ड्रिल’ गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ, ताइवानीलगायतका भिक्षु सहभागी थिए । ‘विदेशी आएर हाम्रो सम्पदा खोप्ने ?’ लामाले सुनाए । स्तूप हेरेर केहीबेर लामासँग कुराकानी गरे अभियन्ताले ।


लामाको कुरा सुनेर गुठीका प्रमुख भूपति वज्र लामालाई भेट्न गए । खोपेकोबारे कुराकानी सुरु गरे । ‘त्यहाँ पहिले खोपिएको थियो । कतै कतै किला उप्किएको थियो । उप्किएको किला ह्याम्मरले ठोक्दा झन् चर्कन्छ, फुट्छ भनेर मेसिनले खोपेको । चैत्य हामीले अहिले खोपेका होइनौं । किला पहिला नै खोपिएको थियो,’ लामाले सुनाए, ‘चिनियाँ र ताइवानी स्वयंसेवा गर्न आएका हुन् । स्वयंसेवीले त अरू ठाउँमा पनि काम गरेका छन् ।’


लामा अभियन्तालाई लिएर आफैं चैत्यमाथि उक्लिए । ‘बिजुलीका कारण चैत्यलाई साँच्चिकै खतरा भएको ठाउँ हो यो,’ चैत्यको सबैभन्दा तल्लो भागमा रहेका ठाउँ घुमाउँदै लामाले भने, ‘यो सबै विकास समितिले राखेको हो । यसले पो खतरा पुगेको छ त । यो कुरा उठाइदिनुपर्‍यो ।’ चैत्यका ५ तह छन् । पृथ्वीतत्त्व, जलतत्त्व, अग्नितत्त्व, वायुतत्त्व र आकाशतत्त्वले सृष्टिका ५ तत्त्व बुझाउँछन्, ती तहले ।


जमिनको भाग र यसमाथिको पेटी पृथ्वी, त्यसमाथिको गर्भ जलतत्त्व, त्यहाँमाथिको तेह्र भुवनले अग्नितत्त्व, त्यहाँ माथिको छत्रावलीले वायु र त्यसमाथिको गजूरले आकाशतत्त्व बुझाउँछन् । यीमध्ये गर्भमुनिको पेटीमा राखिएका छन् बिजुलीका संरचना ।


बिजुलीका बक्स पनि लथालिंग अवस्थामा छन् । जीर्ण भएर यत्रतत्र छरिएका छन् । त्यही ठाउँमा काठका फलेक राखिएका रहेछन् ठाउँ ठाउँमा । भक्तालु त्यही असरल्ल तारको छेउमा लम्पसार परेर चैत्यको पूजा गरिरहेका हुन्छन् ।


यसलाई व्यवस्थापन गर्न आफूले पहल गरे पनि प्राधिकरणले ढिलाइ गरिदिएको लामाले गुनासो गरे । त्यही ठाउँमा ठूलाठूला बत्ती पनि राखिएका छन् । बत्ती राख्न पनि किला ठोकिएका रहेछन् । ‘हेुर्नुस्, यहाँ सबै कंक्रिट राखेर ढलान गरिएको छ,’ लामाले गुनासो गरे, ‘विश्व सम्पदामा यस्तो गर्न पाइन्छ ?’


धेरै पहिला जडान गरिएका विद्युत् सर्किट जीर्ण भएका, तारहरू यत्रतत्र छरिएका हुँदा विश्व सम्पदामा आउने पयर्टन, धर्मावलम्बीलाई समेत अप्ठेरो परेको भनेर पुरातत्त्व विभागले विद्युत् प्राधिकरणलाई मर्मत गर्न पत्र पठाएको थियो । पत्र पठाएको पनि ७ महिना बितिसकेको छ । ‘चैत्यलाई मात्र होइन, यहाँका बिजुलीका अस्तव्यस्त संरचनाले वरिपरिको बस्तीलाई समेत खतरा छ,’ लामाले गुनासो गरे, ‘खै त यसलाई व्यवस्थापन गरिदिएको ?’


शक्तिको लडाइँ

चैत्यमा गत वर्षको चैतमा धुमधामसँग देशोद्वार पूजा गर्ने तयारी भएको थियो । कात्तिक २५, २६ र २७ गते गुठी र समितिले पूजाको तयारी गरेका थिए । देश, विदेशबाट पाहुनासमेत आएका थिए । तर पूजा हुन सकेन । चैत्यमा सर्वसाधारण घुम्ने ठाउँमा प्रहरी घुमेका थिए ।


घ्याङ गुठीको भुइँतलामा प्रहरीले डेरा जमाएका थिए । गोलीगठ्ठा बोकेका प्रहरी तैनाथ थिए त्यहाँ । विश्वभर हुने पूजा हो यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्प चीनमा थिए त्यतिबेला । उनले समेत यो पूजा गरेको समाचार सार्वजनिक भएको थियो ।


बुद्धकै भूमि नेपालमा भने पूजा रोकिएको थियो । विकास समितिले पूजाका लागि उत्तरतिरको क्षेत्र छुट्याइदियो घ्याङ गुठीलाई । विवादको चुरो यहींबाट सुरु भयो । चैत्य आफ्नो भन्दै आएको गुठीलाई नै ठाउँ छुट्याइदिएपछि विवाद चुलियो ।


ब्यानरसमेत च्यातेको र पूजामा अवरोध पुर्‍याएको भन्दै उच्च अदालतमा रिट दर्ता गरे लामाले । ‘ब्यानर नहटाउनू, पूजामा अवरोध नगर्नू भनेर अदालतले समितिका नाममा अन्तरिम आदेश दियो । अन्तरिम आदेश हुँदाहुँदै पनि पूजा सुचारु हुन सकेन । पछि पूजा रोकेको छैन भनेर अदालतलाई जवाफ दियो समितिले । परापूर्वकालदेखि गुठीको प्रमुख चिनियाँ लामा हुने परम्परा छ ।


‘यो पाँचौं शताब्दीमा बनेको चैत्य हो,’ चिनियाँ लामा वज्र भन्छन्, ‘त्यतिबेलादेखि नै हाम्रा पुर्खाले गुठी स्थापना गरेर पूजाआजा गर्दै आएका छन् ।’ स्थानीयवासी भने चिनियाँ लामाको परम्परा पछि मात्रै सुरु भएको बताउँछन् ।


‘पहिला यहींको तामाङले पूजा गर्थे, ‘राजकुमार भन्छन्, ‘यहाँका पुजारी भजु (तामाङको गोत्र) ले राँगा काटे । समयवजी खाइदिए । त्यही भएर विवाद भयो । अनि चिनियाँ लामा प्रवेश गरे ।’ वज्र भने यो तर्कलाई स्वीकार गर्दैनन् । कुन समयमा चिनियाँ लामाको प्रवेश भयो, यो विवादकै विषय छ ।


चैत्यको सम्बन्ध तिब्बतका राजासँग भएकाले यहाँ प्राचीनकालदेखि नै तिब्बत–चीनबाट भक्तजन आएर बस्न थाले । पूजाको परम्परा पनि तिब्बतमूलका धर्मगुरुबाट हुन थाल्यो । धर्मगुरुको पद नै चिनियाँ लामा राखियो । भूपति वज्रको पदै चिनियाँ लामा हो ।


उनलाई ५ वर्षका लागि गुठी संस्थानले चिनियाँ लामा नियुक्त गरेको हो । चिनियाँ लामाको परम्परा संस्थागत गर्ने काम भने राणा प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा गरेका थिए । राणाले सेचुवा प्रान्तबाट आएका एक लामालाई गुठी दिई यहीं राखेको इतिहासकार प्रेमकुमार खत्रीले आफ्नो पुस्तक नेपालको पुरातत्त्व, कला र पर्यटन पुस्तकमा उल्लेख गरेका छन् । दोभासेका रूपमा आएका ती लामा दलाई लामाका सहायक थिए ।


चैत्य गुठीकै : अदालत

विश्व सम्पदामा सूचीकृत यो चैत्यमा सरकारकै दुई निकाय क्रियाशील छन् । गुठी ऐन, २०३३ अनुसार घ्याङ गुठी छ । विकास समिति ऐन, २०५३ अनुसार समिति छ ।


यी दुवैको गठन फरक उद्देश्यले भएको अदालतले प्रस्ट पारिदिएको छ । कित्ता नम्बर ४७ र १ सय ९० को जग्गा गुठी संस्थानको नाममा छ । घ्याङ गुठी र विकास समितिको के कस्तो क्षेत्र अधिकार हुने अदालतले किटान गरिदिएको छ ।


‘घ्याङ गुठी साबिकदेखि रहेको उक्त जग्गा र सोमा रहेका मठमन्दिर, गुम्बा, विहार, पोखरी आदि प्राकृतिक वा मानवनिर्मित संरचनाको सञ्चालन, प्रवद्र्धन गर्ने र पर्वपूजा गर्ने कर्तव्य गुठी संस्थान ऐनअनुसार साबिकको देखिन आयो,’ उच्च अदालत पाटनका न्यायाधीशद्वय भानुभक्त शर्मा न्यौपाने र अग्निप्रसाद थपलियाको संयुक्त इजलासले गरेको फैसलाले व्याख्या गरिदिएको छ, ‘उक्त कार्य पाँचौं

शताब्दीदेखि निजी गुठीबाट हुँदै आएकामा वर्तमान समयमा गुठी संस्थानले नियुक्त परमपूज्य औतारी गुरु चिनियाँ लामाबाट हुने देखिन आयो ।’


विकास समिति ऐनले समितिको कार्यक्षेत्र पनि स्पष्ट भएकाले यी दुवै निकायको काम, कर्तव्य र अधिकार फरक–फरक भएको अदालतले स्पष्ट पारिदिएको छ ।


बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने, बौद्धनाथ क्षेत्रभित्रका धर्मसम्बन्धी, सामाजिक, आर्थिक, सांस्कृतिक, पुरातात्त्विक वा यस्तै प्रकारका ऐतिहासिक महत्त्वका प्राचीन स्थान तथा वस्तुहरूको खोजी, अन्वेषण, अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्नेलगायत उल्लेख छ ।

प्रकाशित : पुस ७, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?