१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

टौदहमा चरा घटे

शिल्पा कर्ण

काठमाडौँ — उमेरले ८५ छुन लागेका टौदह बस्ने विष्णुप्रसाद नेपालको अनुभवमा पछिल्लो समय दहमा पानी त घटेकै छ, पहिले जस्तो हूलका हूल चरा पनि आउन छाडे । 

टौदहमा चरा घटे

केटाकेटी छँदा उनी कर्‍याङकुरुङ, राजहंशजस्ता चरा आकाशमा लहरै उडेका देख्थे । ‘बागमती वरपर हुन्थे, अहिले निकै कम छन्,’ नेपालले भने । उनको मात्र होइन वरपर लामो समयदेखि बसेका वृद्धवृद्धाको अनुभव यस्तै छ ।


कीर्तिपुर नगरपालिकास्थित टौदह धार्मिक र वातावरणीय हिसाबले महत्त्वपूर्ण छ । भनिन्छ, मञ्जुश्रीले चोभार डाँडा काटेपछि त्यहाँका जलचरले बस्ने ठाउँ पाएनन् र ठूला नागहरूलाई बासस्थान बनाइदिएका थिए ।


नेपालका शब्दमा, ‘उबेला कार्कोटक नागलाई बस्न मञ्जुश्रीले एक कोदालो माटो खनेको रे । माटोले बोसन डाँडो बन्यो र त्यो खाल्डो यो दह बनेको सुन्दै आएका छौं ।’ बौद्ध ग्रन्थहरूमा समेत यो दह निर्माणका कथा भेटिन्छन् । रातो मच्छिन्द्रनाथको जात्रामा पनि यिनै नागराजको भोटो देखाइने गरेको उनले बताए ।


पनौतीको नागराजसँग पनि यसको सम्बन्ध रहेको किम्वदन्ती छ । त्यसैले यस क्षेत्रको वातावरणीय पक्षलाई पनि सम्वद्र्धन गर्नुपर्ने वातावरण संरक्षण अभियन्ताहरूको आग्रह छ ।


‘स्थानीय बालबालिकाको क्लबले पनि कात्तिकमा नगरपालिकालाई जथाभावी संरचनाले चरामैत्री वातावरण बिगार्दै गएको भनेर ध्यानाकर्षण गराएका थिए,’ स्थानीयवासी राजमान महर्जनले भने, ‘उहाँहरूले हुन्छ हुन्छ भन्नुभो, तर अहिलेसम्म केही गर्नुभएको छैन ।’


अहिले टौदह कीर्तिपुर नगरपालिका भित्रको एक पर्यटकीय आकर्षणको केन्द्रमध्ये एक हो । त्यसैले नगरपालिकाले एकीकृत पर्यटन विकास परियोजनामा यसलाई समेटेको छ । तर पर्यटन प्रवद्र्धनमा ध्यान दिए पनि यसको वातवरणीय महत्त्वलाई ओझेलमा पारिएको वातावरणविदो गुनासो छ ।


चिसो याममा यहाँ आउने चराचुरुंगीलाई जथाभावी बनेका संरचनाले असर गर्ने गरेको र विस्तारै चराको संख्या घटै गएको उनीहरूको भनाइ छ । पानी पनि शुद्ध र चराका लागि उपयुक्त हुन नसकेको उनीहरू गुनासो गर्छन् ।


उक्त क्षेत्रमा आधा दर्जनभन्दा बढी रिसोर्ट, रेस्टुरेन्ट, होटलजस्ता संरचना बनिसकेका छन् । टौदह वरपर मान्छेका घरलगायतका संरचना बन्ने क्रममा छन् । वडा नं. ६ मा पर्ने टौहद वरिपरिका धेरै संरचना नक्सापासबिनै बनाइएको वडाध्यक्ष स्विकार्छन् ।


‘सिमेन्टबाहेकका अस्थायी संरचना बनिरहेका छन् । नगरपालिकाले चाहेको बेला भत्काउन, हटाउन मिल्नेगरी स्वीकृति दिइएका केही संरचना पनि छन्,’ वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले भने, ‘जुन संरचना बनिसके ती त्यत्तिकै छन्, बाँकी नयाँ स्थायी संरचना बन्न दिएका छैनौं ।’ तर दहको चारैतिर नयाँ स्थायी तथा अस्थायी संरचना बन्न रोकिएका छैनन् । सिमेन्ट, इँटा, गिट्टी र बालुवा थुपारेर घर बनाइरहेको देख्न सकिन्छ ।


टौदह उपत्यकाको मात्र नभई नेपालकै लागि वातावरणीय हिसाबले महत्त्वपूर्ण स्थान रहेको वातावरणविद् बताउँछन् । ‘यहाँ बस्ने चराहरूमा धेरैजसो हिउँदे आगन्तुक छन् । नेपालको उत्तरी सीमापारि, चीन, मंगोलियादेखि रूसको साइबेरियाका चरासमेत जाडो छल्न यहाँ आउँछन्,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘संरचना र ठूला आवाज दुवैले चरालाई फरक पार्छ । पहिलेको दाँजोमा चरा निकै घटिसके ।’


बरालका अनुसार सन् १९९० तिर चराहरूको सिकार हुन्थ्यो । स्थानीयवासी र युवा क्लबको सक्रियतामा सिकारी रोकिएपछि त्यसको दुई वर्षपछि विस्तारै चराको संख्या बढेको उनी बताउँछन् । तर अहिले आएर फेरि घटेर सन् १९९० को मध्यझैं २, अढाइ सयमा झरेको उनले बताए । ‘विभिन्न हाँसका प्रकार, बकुल्ला, माछा खाने कालो प्रजातिको जलेवाजस्ता चराहरू विस्तारै बढे,’ बरालले भने, ‘तर अहिले घर बन्दा यसले धेरै प्रभाव परेको छ । किनकि एउटा सानो टापु र दहले मात्र चरा राख्ने होइन ।’


बागमती खोला आसपासका क्षेत्र, खाली खेतजस्ता ठाउँमा चरा चर्ने र समय व्यतीत गर्ने गर्छन् । तर संरचना निर्माणसँगै ती ठाउँ अब मासिएका छन् । वरपर कस्ता संरचना बन्छन्, पानीको मुहानको अवस्था के कस्तो रहन्छ, पानीभित्रको वातावरण अर्थात् शुद्धता, उनीहरूको खुराकको अवस्था जस्ता कुरामा चराको संख्या निर्भर रहने बरालको भनाइ छ ।


टौदह टिकट काउन्टरको दुवैपट्टि नयाँ संरचना धमाधम बनिरहेका छन् । एउटा ठूलो होटलजस्तो बनिरहेको छ भने अर्को एकतले कटेज बनिरहेको छ । यसबाहेक वरपर कंक्रिटकै प्रयोग भएका रेस्टुरेन्ट र खाजा घर छन् । नजिकै पार्टी प्यालेस पनि बनिरहेको छ ।


नेपाल पक्षी संघका अध्यक्ष राजेन्द्र गुरुङ त्यसमा बज्ने ठूला ध्वनिले विशिष्ट किसिमका संवेदनशील पक्षीलाई असर गर्ने बताउँछन् । ‘घर मात्र बनाउँदा त्यहाँको वातावरणलाई नकारात्मक असर परेको होइन । त्यहाँको पानी पनि दूषित भइसक्यो,’ गुरुङले थपे, ‘पानीको गुणस्तर चराचुरुंगीमैत्री छैन । हाइब्रिड माछाले ती चराको आहारा पनि मासिएको छ ।’


वरिपरि संरचना बनेपछि पहिलाजस्तो चर्ने ठाउँ पनि नभएको उनले बताए । एक संस्थाका लागि अध्ययन गर्ने सिलसिलामा १२ वर्षअघि जाँदा तालै ढाकेर बसेका २ हजारभन्दा बढी चरा थिए । तर यो वर्ष अहिलेसम्म ६ प्रजातिका १ सय ९ वटा मात्र देखेको गुरुङले बताए ।

पछिल्लो १० वर्षमा मात्र उक्त ठाउँमा यति धेरै संरचना निर्माण भएको गुरुङको अनुभव छ । हाइब्रिड माछाले पानीको लेउ खाइदिने, पानीलाई चरामैत्री नबनाउने उनको तर्क छ ।


‘हाइब्रिड माछा पालिएको छ । जसले पनि आफ्नो फाइदा हेरेर माछा राख्दिन्छ,’ गुरुङले भने, ‘घुम्न आउनेले माछालाई मस्यौरा, मुरहीजस्ता खानेकुरा ख्वाउँदा त्यसले पनि पानी दूषित र दुर्गन्धित बनाउँछ ।’ टौदहको पानी र वरपरको वातावरणलाई चराचुरुंगीमैत्री नबनाए निकट भविष्यमै यी चरा पनि लोप हुँदै जाने, यहाँ नआउने खतरा उनी औंल्याउँछन् ।


वडाध्यक्ष महर्जनले भने आफूहरूले चाहेर पनि संरक्षणका लागि काम गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘वातावरणविद्सँग छलफल गर्ने गरेका छौं । होहल्लाले कम आए भन्ने गुनासो छ । तर स्थानीयको दबाबले हामी निर्णय लिन सकिरहेका छैनौं ।’


स्थानीयलाई उनीहरूकै जग्गामा घर बनाउन नदिनु पनि कानुन सम्मत नहुने, तर संरचना बनाउँदा पर्यावरणमा असर पर्ने भएकाले दोहोरो मारमा परेको उनको भनाइ छ । ‘कि त सरकारले हाम्रो जग्गा अधिग्रहण गरिदियोस् कि हाम्रो जग्गामा घर बनाउन दियोस् भनेर दबाब दिइरहेका छन्,’ महर्जनले भने ।

प्रकाशित : पुस १०, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?