कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हप्ताको २ दिन सफाइमा

लीला श्रेष्ठ

भक्तपुर — चिसोको प्रवाह नगरी सडक किनारमा जम्मा भएका जनप्रतिनिधि, सफाइ अभियन्ता, विद्यार्थी, सुरक्षाकर्मी फोहोर टिप्न व्यस्त देखिन्छन् ।

हप्ताको २ दिन सफाइमा

सफाइ अभियानको पहिलो, दोस्रो चरण पार गर्दै तेस्रो चरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका प्रत्येक जनप्रतिनिधि (प्रतिनिधिसभा सदस्य, प्रदेससभा सदस्य, जिसस प्रतिनिधि, नगरप्रमुख/उपप्रमुख, वडाध्यक्ष, वडासदस्य) ले सातामा दुई दिन श्रमशिविर थालेका छन् ।


जनप्रतिनिधिको नेतृत्वमा कर्मचारी, सुरक्षा निकाय, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतको उत्तिकै सहभागिता देखिन्छ ।


सफा, सुन्दर, सुरक्षित तथा विकसित भक्तपुर बनाउने मुख्य उद्देश्यले थालिएको अभियानअन्तर्गत शनिबार १३ स्थानबाट एकै पल्ट सफाइ सुरु भएको छ । सूर्यविनायक नगरपालिका राधेराधेदेखि साँगासम्म अरनिको राजमार्गअन्तर्गत १३ वटा चोकबाट एकै पटक अभियान सुरु भएको सूर्यविनायक ५ का वडाध्यक्ष राजकुमार जोशीले बताए । ‘प्रत्येक चोकमा सम्बन्धित वडाध्यक्षको नेतृत्वमा अभियान सुरु भएको छ,’ उनले भने, ‘साताको प्रत्येक बुधबार नगरको भित्री क्षेत्र र शनिबार राजमार्ग सफाइमा श्रमदान गर्ने योजना बनेको छ ।’


अभियानमा सडक, बस्ती, टोल, चोक सफाइ गर्ने, लागूऔषध दुव्र्यसनी, विभिन्न प्रकारका विकृति तथा विसंगतिका बारेमा अनुगमनसमेत गर्नेसमेत उनले बताए । अनुगमनका क्रममा कानुनभन्दा विपरीत कुनै पनि प्रकारका कार्यहरू भेटिए तत्कालै कारबाही गर्नेसमेत जनाइएको छ ।


हनुमन्ते नदी सफाइ अभियान र अरनिको राजमार्ग सफाइ अभियानको तेस्रो चरणलाई श्रमशिविरको रूपमा विकास गर्दै लाने लक्ष्य रहेको सफाइ अभियन्ता एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बताए । हनुमन्ते सफाइ अभियानले शनिबारसम्म ४४ औं हप्ता पार गरेको छ ।


अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा स्थानीय बासिन्दा, संघसंस्था, विद्यालय, समूह, होटल व्यवसायी, जनप्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी लगायतलाई सहभागिता गराउँदै आएको सूर्यविनायक ८ का वडाध्यक्ष किरण थापाले बताए । ‘सफाइ अभियान श्रमशिविर मात्र नभई, मनको सफाइसमेत हो,’ उनले भने, ‘खैनी खाएर प्याकेटबाहिर फाल्ने हामी, गोजीमा राख्ने भएका छौं ।’


शनिबार राधेराधे चोकमा सूर्यविनायक ४ का वडाध्यक्ष उत्तम थापा, सृजनानगर चोकमा वडा नम्बर १ का वडाध्यक्ष सानुकाजी कायस्थ, सल्लाघारी चोकमा वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा अनुगमन कर्ता जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मध्यपुरथिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सहकार्य गरेका छन् ।


चुनदेवी चोकमा सूर्यविनायक ३ का वडाध्यक्ष शिवशरण खत्री, घलाते चोकमा सूर्यविनायक ६ का वडाध्यक्ष रामेश्वर ध्वजू, सूर्यविनायक चोकमा वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, आदर्श चोकमा वडा सदस्य तारा बस्नेत, जगाती चोकमा वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाको नेतृत्वमा श्रमशिविर गरियो ।


भातेढिकुरो चोकमा जिसस सदस्य श्रीराम बेन्जु, नलिनचोकमा वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र केसी र जोरपाटी चोकमा वडा नम्बर १० का वडाध्यक्ष शिवराम राउतको नेतत्वमा सरसफाइ भयो ।


त्यसैगरी, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले महिनामा दुईपल्ट ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षण तथा सरसफाइ कार्यक्रम गर्दै आएका छन् । नगरप्रमुख सुनील प्रजापती, उपप्रमुख रजनी जोशी, १० वटै वडाका वडाध्यक्षहरूको संयोजकत्वमा प्रत्येक महिनाको १ र १५ गते मठमन्दिर, पाटी, पोखरीलगायतको संरक्षण तथा खुला क्षेत्र, सार्वजनिक क्षेत्रको सरसफाइ गर्दै आएको नगरपालिका स्यानिटेसन शाखा प्रमुख दिलीप प्रजापतीले बताए ।


चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले छुट्टै सफाइ अभियान थालेका छन् । जिल्लाको ४ स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइको रणनीतिक कार्ययोजना बनाई योजना कार्य गर्दै आएको नगरप्रमुख सोमप्रसाद मिश्र बताउँछन् । नगर, वडा, टोलस्तरीय समिति गठन स्थानीय संघसंस्थाको समन्वयमा श्रमशिविर गर्दै आएको उनले बताए ।

प्रकाशित : पुस १५, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?