जीविकोपार्जन बन्यो मानसिक उपचार

फातिमा बानु

काठमाडौँ — मानसिक रोगले समाएपछि केही वर्ष उनको जीवन पीडादायी भयो । न चिकित्सकको औषधि, न झारफुक । कुनै औषधिमूलोले छोएन । धेरै हल्ला होला भनेर परिवारले सबै कुरा बाहिर नल्याउँदा समयमै राम्रो उपचार पनि भएन । 

तिनै बिरामी तिलु गैरेको दिनचर्या आजकाल सामान्यजस्तै छ । आजभोलि उनको अधिकतम समय बारीमा बित्छ । काउली, बन्दा मुलालगायत मौसमी तरकारी लगाउँछिन् । बजार लगेर बेच्छिन् । उनी भन्छिन्, ‘तरकारी बेचेको पैसाले घरको सबै खर्च नउठे पनि नुनतेल किन्छु, छोरा–छोरीको टिफिन खर्च दिन्छु ।’ काममा लागेपछि मन भुल्ने, तरकारी बेचेको आम्दानीले औषधि किन्न पुग्ने हुँदा खुसी छिन् ।


२५ वर्षीया गोरखाकी गैरेका लागि मानसिक समस्याका सुरुवाती दिनहरू सम्झिसाध्य छैन । श्रीमानको हेला, बालबच्चाको बिचल्ली अनि सामाजिक बहिष्करण । उनी भन्छिन्, ‘रुन मन लागिरहन्थ्यो, एक्लै बस्थेँ । राति बिनाकारण डर लागेर आउँथ्यो ।’ मानसिक रोगको उपचारमा नाममा उनले वर्षौंसम्म झारफुकमा खर्च गरिन् ।


रोगबारे कसैले थाहा पाउला भन्ने डरका कारण घरभित्रै लुकेर बसिन् । गाउँमा कसैको मृत्युको खबर सुन्दा अझ बढी अत्तालिन्थिइन्, काम्थिन् । उनको बढ्दो समस्या देखेर परिवारले नाटक गरेको भनिदिँदा उनको आत्मबल अझै घट्थ्यो । उनी भन्छिन्, ‘घर बसौं घरको हेला, बाहिर निस्कौं समाजको हेला । बाँच्ने आधार नै भत्किएको थियो ।’


गाउँकै सामाजिक परिचालिकाको सहयोगमा औषधि र परामर्श पाएपछि उनको जीवनस्तर बदलिएको छ । हाल उनको उपचार र व्यववसाय सँगसँगै चलिरहेको छ । विशेषज्ञका अनुसार मानव शरीरमा सानातिना चोटपटक लाग्ने र उपचारपछि निको भएजस्तै मनमा पनि चोटपटक लाग्छन् अनि निको पनि हुन्छन् ।


बिरामीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोण र विभेदका कारण उनीहरू खुलेर बाहिर आउन सक्दैनन्, उपचार गर्दैनन् । खुलेर आउन नसक्दा सानो समस्याबाट सुरु भएको मनोरोगले डिप्रेसन र आत्महत्याको रूप लिन्छ । यस्ता बिरामीले केही गर्न सक्दैनन् । परिवारको बोझ हुन् र कुनै निर्णय लिन सक्दैनन् भन्ने सामाजिक दृष्टिकोणका कारण उनीहरू घृणामा छन् । उपचारको सहज पहुँच हुन नसक्दा उनीहरू पछि परेका छन् ।


मनोविद्का अनुसार मानसिक समस्या भएका बिरामीलाई उपचारसँगै जीविकोपार्जनमा लगाउन सकिएमा ८० प्रतिशत रोग यत्तिकै निको हुन्छ । जीविकोपार्जनमा सहभागी भए परिवारले उनीहरूलाई हेर्ने र व्यवहार गर्ने दृष्टिकोण पनि सकारात्मक हुन्छ । मनोविद् मधु विलास खनालका अनुसार जीविकोपार्जन एउटा व्यावसायिक थेरापीजस्तै हो, यो थेरापीले बिरामीलाई रोग निको पार्न सघाउँछ ।


सरकारले स्थानीय निकायका स्वास्थ्यकर्मीलाई तालिम दिएर यस्तो विधिबाट मानसिक रोग न्यूनीकरण गर्न आवश्यक रहेको बताउँदै उनी भन्छन्, ‘आधारभूत स्वास्थ्य सेवमा मानसिक स्वास्थ्यलाई समेट्न जरुरी छ, बिरामीले आफ्नै स्थानमा उपचार पाए भने रोग बढ्न पाउँदैन ।’ मानसिक स्वास्थ्यबारे पाठ्यक्रम बनाए मात्रै पनि आधा समाधान हुने उनको भनाइ छ ।


व्यस्त जीवनशैली, एक्लोपन, दुव्र्यसनी र सामाजिक बेवास्ताका मानसिक बिरामी बढिरहेका छन् । पछिल्लो समय युवावर्ग र बालबालिकामा पयो रोगको चपेटाबाट अछुतो छैन । घरेलु हिंसा, संस्कृतिको नाममा महिलामाथि हुने लाञ्छना, र मायाममताको अभावले महिला पनि उत्तिकै रोगी बन्दै गइरहेका छन् । परामर्श, पारिवारिक सहयोगको अभाव र बेवास्ताका कारण मानसिक रोगले आत्महत्याको दर बढाइरहेको छ ।


यस रोगबारे राष्ट्रियस्तरको यकिन तथ्यांक पनि संकलन हुन सकिरहेको छैन । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको तथ्यांकअनुसार उपचारको दायरामा आएका लगभग ५० हजार बिरामीमध्ये ६३ प्रतिशत महिला छन् । र, ३७ प्रतिशत पुरुष छन् । उनीहरूमा चिन्ता गरिरहने समस्या, डिप्रेसन र मानसिक असन्तुलन, छारेरोग लगायतका समस्या देखिएको छ ।


यस्ता बिरामीलाई जीविकोपार्जनसँग जोडदै लगेमा उपचार प्रभावकारी हुने मनोचिकित्सक बताउँछन् । करिब ५५ लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् ।


मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा भन्छन्, ‘परम्परागत समाजमा महिलाले धेरैजसो समय घरमै बिताउँछन् । मनका कुरा पोख्ने वातावरण पाउँदैनन् । औषधि र परामर्शसँगै जीविकोपार्जन जोड्न सकेमा समस्या चाँडै न्यूनीकरण हुन्छ ।’ यस्ता बिरामीका लागि जीविकोपार्जन उपचारको अभिन्न पाटो भएकाले यसलाई प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस २०, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?