यातायातमा बेथिति : टेलिफोन उठ्छ, कारबाही हुनै मुस्किल

शिल्पा कर्ण

काठमाडौँ — त्रिपुरेश्वरबाट दक्षिणकालीतर्फ यात्रा । निकै ढिलो दक्षिणकालीको गाडी पाइयो । चढेँ । सँगै एक वृद्ध दम्पती पनि गाडी चढे । वृद्ध निकै उमेरका देखिन्थे, वृद्धा केही कम । ती ज्येष्ठ नागरिक बसको ‘लगेज र्‍याक’ समातेर उभिइरहे ।

यातायातमा बेथिति : टेलिफोन उठ्छ, कारबाही हुनै मुस्किल

उनको उचाइ खास नभएकाले माथि समाउन गाह्रो भइरहेको देखिन्थ्यो । झोला बोकेर उभिइरहेका उनी कामिरहेका थिए, सायद सञ्चो थिएन ।


गाडीमा उनका लागि खाली सिट थिएन । ज्येष्ठ नागरिक सिट हो भन्नलाई आरक्षण सिट कतै लेखिएको थिएन । सबै यात्रु उनलाई नदेखेझैं गरिरहेका थिए । निकै समयको अन्तरालमा छुट्ने उक्त रुटको गाडी प्राय:जसो भरिभराउ हुन्छ । पहिल्यै भरिएको गाडीमा परिचालकले सबैलाई भित्र जान निर्देशन दिइरहेका थिए ।


उनकै निर्देशन मानेर म सबैभन्दा पछाडि उभिन पुगेकी थिएँ । म पछि थिए– ती बा । त्रिपुरेश्वरदेखि चढेका उनलाई कसैले सिट दिने लक्षण नदेखाएपछि टेकुमा गएर ट्राफिक प्रहरीको फोन १०३ मा कल गरेँ । गाडीमा आरक्षण सिटको व्यवस्था नहुँदा के कारबाही हुन्छ भन्ने प्रश्नमा उताबाट ‘जरिवाना हुन्छ,’ भन्ने जवाफ आयो ।


आफू चढेको दक्षिणकाली यातायातको गाडीमा नियमानुसार आरक्षण सिटको व्यवस्था नभएको बताएपछि ती ट्राफिक प्रहरीले गाडीको नम्बर मागे । तर सबैभन्दा भित्तामा पुर्‍याइएकी मैले बाहिर निस्केर गाडी नम्बर हेर्न सक्ने अवस्था थिएन । उनले अर्को उपाय सुझाए । उक्त गाडीको परिचालकलाई सोधेर भन्नू भनेर । ‘सर गाडी अहिले भर्खर कालिमाटी पुग्यो, यहीँ रोकिराखेको छ,’ भन्दा ‘त्यसो भए त्यहीँका ट्राफिक प्रहरीलाई भन्नुस्’ भन्ने जवाफ पाएपछि फोन काटिदिएँ ।


एक त कोच्चिएको गाडीबाट गुनासो गर्‍यो । जसको गाडीमा चढेको हो, उसैविरुद्ध उजुरी दिँदा त्यही गाडीमा काम गर्नेसँग गाडी नम्बर सोध्नुपर्ने । त्यहाँका ट्राफिकलाई चिच्याएर झ्यालबाट भन्न सक्ने अवस्था पनि थिएन । १ मिनेट २० सेकेन्डको कुराकानीपछि पनि ती बा त्यहीँ उभिरहेका थिए । नराम्रो लागिरहेको थियो त्यसरी उभिइरहँदा । कतै ज्येष्ठ नागरिक सिट लेखिएको भए त्यहाँ बसेकालाई उठिदिनुस् भन्न मिल्थ्यो, तर कतै थिएन ।


कात्तिक २६ गते दिउँसो शिक्षा रिसाल हरिहरभवनमा थिइन् । कामविशेषले तुरुन्तै सुन्धारा पुग्नुपर्ने भयो । ट्याक्सी चढिन्, आधा बाटो पुग्दा चाल पाइन् ट्याक्सी चालकले मिटर चलाएकै रहेनछन् । आग्रह गर्दा चालकले वास्ता गरेनन् । त्रिपुरेश्वरबाट सुन्धारा जाने बाटोमा खटिएका ट्राफिक प्रहरीलाई भनिदिने चेतावनी दिएपछि चालकले भने, ‘ल भन्दिनुस् ।’


उनले ट्राफिकलाई ट्याक्सीभित्रैबाट चालकले मिटर नचलाएको जानकारी गराइन् । तर, प्रहरीको जवाफ सुनेर छक्क परिन् । उनले भनिन्, ‘ट्राफिक प्रहरीले हाँस्दै ती चालकलाई मिटर चलाउ नत्र कारबाही होला भनेर मेरो कुरालाई मजाकमा पो उडाए ।’ ट्याक्सी चालकले पनि गति बढायो । उनी अक्क न बक्क भइन् ट्राफिकको व्यवहार देखेर ।


कुपण्डोलबाट त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्दासम्मको दूरी झन्डै ३ किलोमिटर हुन आउँछ । यहाँसम्म पुर्‍याइदिएबापत ट्याक्सी चालकले २ सय रुपैयाँभन्दा बढी मागे । उनले एक सय रुपैयाँ दिएर हिँडेपछि मुखमा आएजति फोहोर गाली गरे । ‘मैले ट्वीटरमा भ्याली ट्राफिकलाई मेन्सन गर्दै बा२ज १२९५ नम्बरको उक्त ट्याक्सीको फोटोसहित ट्वीट गरेँ र ट्राफिक हेल्पलाइन १०३ मा जानकारी गराएँ ।’


उताबाट हनुमानढोकामा आएर निवेदन दिनु भन्ने जवाफ पाइन् । तर समस्या के भइदियो भने न मिटर चलाए/नचलाएको न त दुव्र्यवहार गरेको प्रमाण उनीसँग थियो । मोबाइल भए पनि ट्याक्सीमा बसेका बेला चालकसँग भएको कुराकानी र आफूलाई गाली गर्दै गर्दा त्यसको भिडियो रेकर्ड पनि थिएन ।


तिहार आउनै लागेको थियो । काठमाडौंबाट मलंगवा जान श्वेता कर्णले जसोतसो एक साताअघि कात्तिक १८ गतेलाई फोनबाट टिकट बुक गराइन् । काबेली यातायातले बुक भइसकेको जानकारी दियो । बीपी राजमार्ग हुँदै जाने उक्त गाडीको टिकट लिन जाँदा ९ सय रुपैयाँ माग्यो ।


यसअघि ८ सय तिर्दै आएकोमा असोजदेखि भाडादर समायोजन भई ९ सय रुपैयाँ भएको काउन्टरमा टिकट काट्नेले जवाफ फर्काए । बढी भयो भन्दा त्यसो भए टिकट फिर्ता दिनुस्, पर्दैन तिर्नु भन्ने जवाफ पाइन् । उक्त टिकट नं. १७१० मा भाडादरमा टिकट मूल्य लेखिएको छैन । बा४ख ५५३८ मलंगवासम्म जाने उक्त फोर्स गाडीमा अन्य सबैले ८ सय ५० रुपैयाँ तिरेका थिए ।


आफूसँग मात्र बढी लिएको थाहा पाएपछि यातायात व्यवस्था विभागमा जानकारी गराइन् । यातायात व्यवस्था विभागले ‘एक रुपैयाँ पनि बढी लिए गाडीको नम्बरसहित गुनासो दर्ता गराउन’ भनी उपलब्ध गराएको फोन नं. ९८५१२७३२२२ मा बिहान ७ बजे गुनासो गर्दा नजिकैको ट्राफिकलाई भनेर काउन्टरमा जानुस् भन्ने जवाफ आयो । ट्राफिक र विभागलाई गाडी र टिकटको नम्बर उपलब्ध गराए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

यी तीनै घटनामा उजुरी पाएलगत्तै ट्राफिकले ‘एक्सन’ लिन सक्थ्यो, तर लिएन । तुरुन्तै कारबाही अघि बढाएको भए प्रमाण पाइन्थ्यो । तर त्यसो भएन । कारबाही गर्न खासै पहल गरिएन, तदारुकता देखाइएन । गुनासो गर्न सर्वसाधारणलाई आहवान गरे पनि त्यसको समाधान र कारबाहीतर्फ भने यातायात क्षेत्रका निकाय उदासीन छन् । गुनासो लिने माध्यम थप्दै गर्दा त्यसको समाधानतर्फ निकै कम ध्यान दिने गरेको छ ।


पहिलो घटनामा यदि ट्राफिक प्रहरीले चाहेको भए यो सञ्चारको युगमा कालिमाटी ट्राफिकलाई जानकारी गराई कारबाहीका लागि भने पनि हुने थियो । नत्र सीधै बल्खु प्रहरीलाई जानकारी गराएर त्यहाँ रोकी आरक्षण सिट भए/नभएको जाँच गरी उक्त गाडीलाई जरिवाना गराउन सकिन्थ्यो । तर त्यसो भएन ।


दोस्रो घटनामा, आफू चढेकै ट्याक्सीबाट चालककै विरुद्ध उसकै अगाडि प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरीले बेवास्ता गरे । पछि एक अनलाइन पत्रिकामार्फत उनले आफ्नो अनुभव लेखेपछि बल्ल ट्राफिक प्रहरीले उनीसँग सम्पर्क गर्‍यो । ती ट्याक्सी चालकलाई पनि बग्गीखाना बोलाइयो । चालकले माफी मागे । मंसिर मध्यपछि मात्र उजुरीको सुनुवाइ भयो ।


रिसाल भन्छिन्, ‘उसमाथि कुनै कारबाही नहोस्, सुध्रियोस् भनेर मैले माफी दिएँ । त्यो दिन त्रिपुरेश्वमा खटिएका ट्राफिक प्रहरीलाई पनि कारबाही हुन्छ भनिएको थियो । त्यसबारे मलाई कुनै जानकारी आएको छैन ।’ तेस्रो घटनामा ह्वीलबेस ४४ सय ३२ भएका गाडीलाई बीपी राजमार्ग हुँदै गुड्दा बर्दिबाससम्म ५ सय ८६ भाडा कायम गरिएको छ । त्यसपछि बर्दिबासदेखि मलंगवासम्म गुड्ने गाडीले सामान्यतया: १ सयदेखि १ सय २० रुपैयाँ लिने गरेका छन् ।


कर्ण भन्छिन्, ‘बढीमा त्यहाँसम्म पुग्न सय रुपैयाँ लिए ठिकै हो । ८ सयसम्म पनि तिरिएकै थियो । तर नौ सय तिर्नुपर्दा अझ गुनासो गर्दा पनि अझसम्म कारबाही भएको छैन ।’ यस्ता व्यवहारको गुनासो गर्दा तत्काल समाधान नहुँदा सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास घटदो छ भने अर्कोतिर यात्रुलाई ठग्नेहरूको मनोबल बढ्दो छ ।


ट्राफिक प्रहरीले वा गुनासो सुन्ने निकायले गुनासोप्रति तत्काल प्रतिक्रिया नदिँदा यस्ता घटना दोहोरिरहन्छन् । जडीबुटी बस्ने सचिन कुमार भन्छन्, ‘गत वर्ष जडीबुटीबाट ट्याक्सीमा जानुपर्दा मिटरमा जान मानेन । नजिकैका ट्राफिक प्रहरीलाई भन्दा, उतै जाने अरूसँग मिलेर जानुस् न त भन्ने जवाफ पाइयो ।’


ट्राफिक प्रहरी प्रवक्ता वसन्त पन्त भने आफूहरूले गुनासो सुन्ने गरेको र ९० प्रतिशत समाधान गर्ने गरेको दाबी गर्छन् । ट्राफिकलाई गुनासो गर्नुपरे हाल १०३ नम्बरमा फोन गर्न सकिन्छ । यसैगरी कार्यालयमै उपस्थित भएर पनि गुनासो गर्न सकिन्छ । फेसबुक, ट्वीटरबाट गुनासो लिइरहेको ट्राफिकले अब भाइबरबाट पनि एसएमएसमार्फत गुनासो लिने तयारी गरिरहेको छ ।


‘एसपीको नेतृत्वमा गुनासो समाधान गर्न समिति हुन्छ । गुनासा आए, त्यसको समाधानको जिम्मा त्यही समितिको हुन्छ,’ पन्तले थपे, ‘पत्र, सामाजिक सञ्जाल, भेटेर वा ड्युटीमा रहेका प्रहरीलाई भनेर तत्कालै पनि गुनासो गर्न सकिन्छ । आफू सुरक्षित भएर गुनासो गर्न पाइन्छ । नत्र गलत गरेर पनि चुप हुनु भनेको सहयोग गर्नु हो ।’


तथ्यांकअनुसार ट्राफिक प्रहरीमा मासिक २ देखि ४ सय हाराहारीमा उजुरी तथा गुनासा आउने गरेका छन् । जसमध्ये धेरैजसो ट्वीटरबाट आउने गरेको प्रवक्ता पन्तले बताए । फेसबुकमा बढीजसोले जानकारी तथा जिज्ञासा राख्ने गरेका छन् भने दिनको २–४ वटासम्म गुनासा पनि आउँछन् ।


यसैगरी ट्वीटरमा भ्याली ट्राफिकलाई मेन्सन गरेर ५–११ वटासम्म गुनासा आइरहेका हुन्छन् । ‘फुटपाथ ओगटेको गुनासा आउँछन् । र ट्याक्सी मिटरमा जान नमानेको वा बढी पैसा लिएको भनेर गुनासो गर्ने पनि उत्तिकै छन्,’ पन्तले भने । गुनासो गरे, मेसेजमार्फत नम्बर मागेर सम्पर्क गरी दुई पक्ष बोलाएर गुनासो सुन्ने गरेका छौं । त्यसपछि मात्र अनुसन्धान गरी पीडितको कुरा सही भए नभएका प्रमाणका आधारमा कारबाही गर्छौं ।’


उनले अहिले ट्याक्सी मिटरमा जान नमान्ने, बढी लिने जस्ता घटना आधा घटेको दाबी गरे । केही ट्याक्सी स्ट्यान्डमा मिटरमा जान नमान्नेलाई कारबाही गर्न भनी ट्राफिक खटाइएको उनको भनाइ छ । यसबाहेक उपत्यकाभित्र प्रहरीले सिभिल ड्रेसमा यात्रु बनेर ट्याक्सी चढ्न जाँदा मिटर नचलाई मोलमोलाइ गरे त्यही स्थानमा जरिवाना गर्ने गरेको छ । यस आर्थिक वर्षको मंसिर १९ गतेसम्म ५ हजार ४ वटा ट्याक्सी कारबाहीमा परिसकेका छन् ।


यातायात व्यवस्था विभागका अनुसार विभागमा पनि बढी भाडा लिएकोदेखि आरक्षण सिट कार्यान्वयन नभएको गुनासा आउँछन् । कोही मौखिक त कोही लिखित गुनासो लिएर आउने गरेका छन् । केहीले भने विभागले उपलब्ध गराएको नम्बरमा (ट्राफिक प्रहरीको) सम्पर्क गर्छन् ।


विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले विभागमा पर्ने गुनासा धेरैजसो इजाजत नलिएका रुटबारे नै पर्ने गरेको बताउँछन् । तराई र पहाडको रुटमा प्रति किलोमिटर तोकिएको भाडादर फरक हुन्छ । सडकको किसिम र अवस्थाले पनि भाडा फरक पर्छ । ‘यहाँबाट सीधै रुट तोकिएको ठाउँमा हामी त्यसको भाडा पनि तोकिदिन्छौं,’ उपाध्यायले भने, ‘रुट नदिएकोमा उनीहरू पटके लिएर जाने भएकाले भाडा तोकिन्न । र बढी गुनासो यस्तै रुटमा आउँछन् ।’


उपाध्यायका अनुसार यस्ता स्थानका भाडा ‘कमन अन्डरस्ट्यान्डिङ’ मा तोकिन्छ । अन्य गाडीले कति भाडा लिने गरेको छ त्यसकै अनुसार, त्यसकै हाराहारीमा तोकिन्छ । जस्तो बनेपादेखि बर्दिबाससम्मको भाडा जति तोकिएको छ, त्यतिमा अन्य रुटका बसले जति भाडा लिन्छन् त्यति थप गरिन्छ । यद्यपि सवारी चालकहरूले यसभन्दा निकै बढी लिने गरेका छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गर्छ ।


आरक्षण सिटको कानुनै छैन

बुधबार एक ज्येष्ठ नागरिक गुनासो लिएर विभाग पुगे । सधैं ज्येष्ठ नागरिक कार्डका आधारमा सिट दिने गरेका एक परिचालकले उक्त दिन उनलाई सिट दिएनन् । उक्त गाडीका परिचालकलाई कारबाही गर्नुपर्ने मागसहित उनी विभाग पुगेका थिए । तर कर्मचारीले कारबाही गर्ने आधार नभएको भन्दै सम्झाए ।


‘अहिले कुनै नियम, कानुनमा आरक्षण सिटको व्यवस्था छैन । कमन अन्डरस्ट्यान्डिङकै कुरा हो,’ विभागका सूचना अधिकारी उपाध्याय भन्छन्, ‘यातायात व्यवसायीसँग बसी मिलेर निर्णय गरिएको हो । यसको कानुनी आधार छैन ।’ अब बन्न लागेको संघीय यातायात ऐनमा भने यो विषयलाई समेट्न लागिएको उनले जानकारी दिए ।


ट्राफिक प्रवक्ता पन्तको भनाइ पनि यस्तै छ । दिनुपर्ने भन्ने कानुनमा कतै नलेखिएको भएर कारबाही गर्न सकिन्न । यसैगरी विभागमा परेका गुनासा समाधान नभए कार्यालयमा बुझ्नुपर्ने उपाध्यायले बताए । ‘कुनै पनि माध्यमबाट गरेको गुनासोमा किन कारबाही भएन, के कारणले हो, कारबाही गर्न नमिल्ने हो कि, नगरेको हो कि भनेर बुझ्न कार्यालयमै सम्पर्क राख्नुपर्ने हुन्छ ।’

प्रकाशित : पुस २१, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?