३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडकमै पार्किङ

लीला श्रेष्ठ

भक्तपुर — कमलविनायक– भत्केकोपाटी सडकको दायाँबायाँ लहरै सवारी साधन देखिन्छ । मोटरसाइकल, भाडाका बस, स्कुल/कलेजका बस, सामान बोक्ने सवारी साधन पार्किङ छ ।

सडकमै पार्किङ

साँघुरो सडकको अव्यस्थित पार्किङले यो सडक दिनहुँ अस्तव्यस्त हुने गर्छ । सडक पेटीमा साइकल तथा गाडामा तरकारी, फलफूल, खुला पसलसमेत छन् । सोही सडकको नाली पुरेर पार्किङस्थल बनाएको र नाली सडकमा खुला छोडिदिँदा सडकमा नाली बग्ने गरेको स्थानीय व्यवसायी नारायणी फुयाल गुनासो गर्छिन् ।


जिल्लाको उत्तरपूर्वी क्षेत्रमा चल्ने सार्वजनिक बससमेत सडकमै पार्किङ गर्ने गरेको छ । उत्तरपूर्वी बस व्यवसायी संघअन्तर्गत नगरकोट, काभ्रेको मन्डनदेउपुर, तेलकोट, कलमसीलगायत स्थानमा चल्ने सार्वजनिक बस, भक्तपुर मिनिबस सेवा समितिअन्तर्गत बागेश्वरी, छालिङ चल्ने बस सडकमै पार्किङ गर्ने गरिएको छ ।


पर्यटकीय गन्तव्य नगरकोटको मुख्य मार्ग कमलविनायकको साँघुरो सडकको दायाँबायाँ असरल्ल राखिएका साना तथा ठूला सवारीसाधनले नगरको सौन्दर्यमा प्रश्न उठेको पुस्तक व्यवसायी राधेश्याम सुवाल बताउँछन् ।


‘२०५७ सालमा नगरकोटमा सार्क सम्मेलन हुने हल्ला थियो, पछि राजधानीमै सार्क सम्मेलन भयो,’ उनले स्मरण गरे । त्यतिबेलादेखि ब्यासी, कमलविनायकको सडक विस्तार गर्ने योजना बने पनि सडक फराकिलो हुन सकेको छैन ।


कमलविनायक चोकमा मात्र नेपाल बैंकलगायत ४ वटा बैंक, सहकारी संस्था, मेडिकल, होलसेल तथा अन्य पसलहरू छन् । कुनै कार्यालय, सानाठूला व्यवसाय गर्नेको आफ्नो पार्किङ क्षेत्र छैन । ‘कर्मचारी होस् अथवा, सेवाग्राही सबैले सडकमै सवारी पार्किङ गर्ने गरेको छ,’ स्थानीय राज लवटले भने ।


भक्तपुर नगरपालिकाले पार्किङ क्षेत्र नतोकिए पनि मुख्यमुख्य स्थानमा पार्किङ नगर्न अनुरोध गर्दै ब्यानरहरू राखेको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए । ‘तीनवटै बसपार्कलाई एकै स्थानमा व्यवस्थापन गर्न जग्गाको खोजी भइरहेको छ,’ उनले भने, ‘मोटरसाइकल पार्किङका लागि सरस्वती स्थानमा पार्किङ सेन्टर निर्माणाधीन रहेको छ ।’


नगरपालिकाले अव्यवस्थित पार्किङ व्यवस्थापनमा उपलब्धिमूलक काम गर्न सकेको छैन तर औद्योगिक क्षेत्रमा पर्यटक बसको व्यवस्थापन गरेको उनले बताए । भक्तपुर नगरपालिका नगरक्षेत्र आउने सर्वसाधारणका लागि भेलुखेलमा पार्किङ सेन्टर निर्माण गर्न लागेको जनाएको छ ।


यातायात व्यवस्था विभागको कार्यालय जगातीमा दैनिक सयौंको संख्यामा सेवाग्राहीको आवतजावत हुने गर्छ । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत जगातीस्थित यातायातको कार्यालय आउने सेवाग्राहीले सडकमै पार्किङ गनुपर्ने बाध्यता छ ।


आफैं भाडाको घरबाट सेवा दिन बाध्य कार्यालयले पार्किङको व्यवस्था गर्ने अवस्था नभएको यातायात व्यवस्था विभाग जगाती प्रमुख किरणप्रसाद ढकालले बताउँछन् । २०७३ माघमा सञ्चालित कार्यालयले अझै पार्किङमा ध्यान दिन सकेको छैन । ‘विभागका कर्मचारीले आन्तरिक राजस्व विभागको कार्यालय र अन्डरग्राउन्डमा पार्किङ गर्ने गरेको छ,’ उनले भने, ‘दैनिक ५ सयको संख्यामा सेवाग्राही आवतजावत हुन्छ पार्किङको व्यवस्था छैन ।’


पार्किङ व्यवस्थापनका लागि नगरपालिकालाई पटकपटक जानकारी गराएको जनाएको छ । यातायात कार्यालय आउने सेवाग्राहीको सवारी पार्किङका लागि नगरपालिकाले कार्यालय पछाडिको सडकमा व्यवस्थापन गर्न लागेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए । नगरको अन्य स्थानमा पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त ठाउँको खोजी गरिरहेको उनले बताए ।


त्यस्तै, सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ का वडाध्यक्षहरूको समन्वयमा पाण्डुबजार, सूर्यविनायक चोक (ट्रलिबस पार्क) हुँदै गणेशथानसम्मको सडक अतिक्रमित संरचना, अव्यवस्थित तरकारी बजार, पेटीमा राखेको खुला पसलहरू हटायो ।


सामाजिक रूपान्तरणअन्तर्गत जनप्रतिनिधिको पहलमा अव्यवस्थित खुला पसल तथा संरचना हटाए पनि सडकको दायाँबायाँ अव्यवस्थित सवारी पार्किङले दिनहुँ जाम हुने गरेको छ । दर्जनौं बैंक तथा वित्तीय संस्था, व्यापारिक स्थल भएको सूर्यविनायकमा दैनिक हजारौं सेवाग्राहीको आवातजावत हुने गर्छ ।


सम्बन्धित निकायले पार्किङको व्यवस्था गर्न नसक्दा सर्वसाधरणले आफूले प्रयोग गर्ने सवारीसाधन सडकमै पार्किङ गनुपर्ने अवस्था छ । यता मध्यपुर थिमि शंखधरचोकको पार्किङ अवस्था त्यस्तै दयनीय छ । साँघुरो सडकको दायाँबायाँ साना तथा ठूला सवारीको अव्यवस्थित पार्किङले सडक अस्तव्यस्त छ ।


सडकपेटीमा तरकारी, फलफूल, वर्कसप, खुला कपडा पसल यत्रतत्र असरल्ल छ । मध्यपुर थिमि बाहाखाबजार त्यत्तिकै अव्यवस्थित छ । भक्तपुरबाट पुरानो थिमि भएर चल्ने लखनखेल, गौशाला, रत्नपार्कको बस बाहाखा बजारमा रोकिने गर्छ । साँघुरो सडकमा सार्वजनिक तथा निजी साना सवारीसाधनका लागि पकेट क्षेत्र समेत छैन ।


बाहाखा बजारको पुरानो साँघुरो सडक विस्तार गर्ने वर्षौंको योजना स्थानीयको अवरोधकै कारण हुन सकेको छैन । बढ्दो सहरीकरण, सवारीको चापका कारण उक्त सडकमा दिनहुँ जाम हुने अवस्था छ ।


सर्भिस ट्रयाकमै पार्किङ

सूर्यविनायक–तीनकुने सडकखण्डको सर्भिस ट्रयाक पार्किङस्थलका रूपमा परिणत भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–तीनकुने ६ लेन खण्डअन्तर्गतको ९ दशमलव १ किमि सडकको दायाँबायाँको करिब १८ किलोमिटर सर्भिस ट्रयाक मुख्य/मुख्य चोकमा दुरुपयोग भइरहेको हो ।


सर्भिस ट्रयाकलाई स्थानीयबासी तथा व्यापारीहरूले पार्किङ र व्यापार गर्ने थलो बनाएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जनप्रतिनिधि, स्थानीय, सुरक्षा निकायलगायतको पलहमा दुई महिनादेखि अरनिको राजमार्ग सफाइ तथा सडक/सर्भिस ट्रयाक व्यवस्थित गर्ने कार्य भइरहेको छ तर सर्भिस ट्रयाकमा मौका हेरेर ठूलासाना गाडीहरू पार्किङ गर्ने, सडकमै सामान झार्ने, जथाभावी टयाक्सी पार्किङ गर्ने, तरकारी र फलफूल, चनाचटपटे, कपडाको व्यापार गर्ने क्रम घटेको छैन ।


‘व्यापारीले सडकमै व्यवसाय थालेका छन्,’ सूर्यविनायककी सर्मिला भनिन्, ‘मुख्य सडकको दायाँबायाँको सर्भिस ट्रयाक पार्किङ र व्यापारिक थलो बनेको छ । सूर्यविनायक, पाण्डुबजार, चुनदेवी, सल्लाघारी, सिर्जनानगर, थिमि, गठ्ठाघर, कौशलटार, लोकन्थलीलगायत चोकहरूको खुला पसल हटे पनि पार्किङ समस्या उही छ । स्थानीय तहहरूले विकल्प दिन सकेको छैन ।

प्रकाशित : पुस २२, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?