छाया कम्प्लेक्सको छानबिन हुने

काठमाडौँ — संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिले पोखरी हडपी ठमेलमा बनाइएको छाया कम्प्लेक्सको छानबिन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीले कम्पलेक्सबारे छानबिन गर्ने जानकारी दिएकी हुन् ।

ठमेलमा कमलपोखरी हडपेर बनाइएको कम्प्लेक्सबारे ज्ञापन दिन गएका अभियन्तालाई सुवेदीले छानबिन गर्न लागेको जानकारी दिइन् ।


‘सार्वजनिक सम्पत्ति अरू ठाउँमा पनि मिचिएका छन्,’ सुवेदीले भनिन्, ‘त्यसको छानबिन गर्छाैं । यसका लागि टोली नै बनाउँछौं ।’ समितिले मन्त्रालय, विभाग र अन्तर्गतका निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरू यस्तै क्रियाकलापको मूल्यांकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने, अनुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने काम गर्छ ।


त्यसैगरी मन्त्रालय, विभाग र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्यांकन गरी सम्बन्धित निकायमा निर्देशन दिने लगायत काम गर्छ । विषयसँग सम्बन्धित सरकारी निकायको सम्पत्तिको हिनामिना भए/नभएको अध्ययन, अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन दिने, बैठकमा प्रतिवेदन पेस गर्ने काम पनि समतिले गर्छ ।


स्थानीयवासीले विरोध गर्दागर्दै पनि भवन निर्माणको काम रोकिएको छैन । गत साता एमाले नेता योगेश भट्टराईले कम्प्लेक्सको उद्घाटन गरेका थिए । ‘हामीले विरोध गर्दागर्दै काम अघि बढाइएको छ,’ महाविहारका गुठियारसमेत रहेका प्रधानले भने, ‘त्यही भएर

समितिलाई अध्ययन गर्न आग्रह गरेका हौं । समितिलाई ज्ञापनै दिएका छौं ।’


पोखरीमा अहिले १५ तले ‘छायादेवी कम्प्लेक्स’ ठडिएको छ । भवनमा १ सय ६८ कोठा छन् । ५ अर्ब लगानीमा बनेको भवन एकै ठाउँमा सबै सुविधा भएको ‘मिनिठमेल’ बनाउने लक्ष्यसहित बनाइएको हो । यहाँ ५ तारे होटल, सिनेमा हल लगायतका संरचना बनाउन लागेको छाया सेन्टरका निर्देशक सुमन पाण्डेले जानकारी दिए ।


२०७१ सालबाट कम्प्लेक्स बनाउन सुरु गरिएको थियो । सार्वजनिक पोखरीमा कम्प्लेक्स नबनाउन स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् । विरोध हुँदाहुँदै कम्प्लेक्स निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरीमा कसरी भवन बन्यो, त्यसबारे छानबिन गर्ने आश्वासन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पनि दिएका छन् ।


१५ रोपनी जमिनमा फैलिएको छ भवन । त्यसमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको गुठियार तथा अनुसन्धानकर्ता भागवतनरसिंह प्रधान बताउँछन् । कित्ता नम्बर १६७ मा पर्छ ठमेलको भगवानबहालस्थित छायादेवी कप्लेक्स बनेको यो जग्गा । मालपोत कार्यालयको रेकर्ड हेर्ने हो भने जग्गामा अहिले पनि सार्वजनिक पोखरी कायम छ ।


२०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरीलाई सार्वजनिक गरेको थियो । त्योभन्दा अगाडि यसको स्वामित्व राणा परिवारको नाममा थियो । केशरशम्शेर राणाले गुठीलाई वर्षको १ सय २५ रुपैयाँ तिर्ने गरी १९७७ सालमा पोखरी आफ्नो कम्पाउन्डमा पारेका थिए ।


केशर शम्शेरको देहावसानपछि उनका छोरा केयुरशम्शेरले पोखरी सुकाएर २०२७ सालदेखि धान रोप्न सुरु गरेका थिए । उनले पछि मोही दर्ता गराएका थिए । यो पोखरीमा ठमेल भगवानबहालस्थित विक्रमशील महाविहारमा रहेको सिंह सार्थबाहु भगवानको नाममा

थियो । भगवानलाई चढाउन यहीँको कमलको फूल प्रयोग गरिने चलन भएको प्रधानले बताए । महाविहारको संरक्षण प्रधानले गर्दै आएका छन् ।


२०३३ सालमा सहरी क्षेत्रको नापी भएको थियो । नापी हुँदा उक्त पोखरी कित्ता नम्बर १ सय ६७ मा परेको हो । उक्त कित्ताको क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा छ । वि.सं. २०३९ जेठ २४ को भूमिसुधार मन्त्रालयको जग्गाधनी पुर्जामा पनि उक्त कित्ता पोखरी नै जनिएको छ । त्यतिबेलाको पुर्जामा जग्गाधनी सिंह सार्थबाहु गुठी लेखिएको छ । गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा पनि पोखरी नै उल्लेख छ ।


२०४४ मंसिर २३ गते सरकारले निर्णय गरेर उक्त पोखरी सरकारको नाममा दर्ता भएको थियो । त्यसयता बनेको जग्गाधनी स्रेस्तामा पनि पोखरी नै उल्लेख छ । जग्गाधनीको नाम श्री ५ को सरकार उल्लेख छ ।

प्रकाशित : पुस २४, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?