कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुम्बा पुनर्निर्माण भएन

काठमाडौँ — भूकम्पको ३ वर्ष बढी बितिसक्दा पनि क्षतिग्रस्त गुम्बा पुनर्निर्माण हुन नसकेको भन्दै सरोकारवालाले राज्यको ध्यान आकर्षण गराएका छन् ।

बौद्ध फूलबारीस्थित ठरिग गुम्बा स्थापनाको ५० औं वसन्त पार गरेको अवसरमा आयोजित समारोहमा बौद्ध धर्मावलम्बीले पुरातात्त्विक महत्त्वका गुम्बाको अस्तित्व मेट्न सक्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।


बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङले मुलुक बहुभाषी, बहुजातीय, बहुधार्मिक भएको र यहाँ विभिन्न थरीका ४५ सय गुम्बा तथा विहार रहेको बताए । ‘०७२ को भूकम्पले १ हजार ३ सय २० गुम्बामा क्षति पुगेको छ,’ उनले भने, ‘हालसम्म ती गुम्बाको पुनर्निर्माण हुन सकेको छैन ।’ उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त गुम्बाको निर्माण गर्न ५० प्रतिशत रकम प्रदान गर्ने निर्णय गरे पनि समस्या उस्तै रहेको बताए ।


‘यसले बुद्ध जन्मस्थल मुलुक घुम्न आउनेको संख्या घट्न सक्छ,’ उनले भने, ‘यसले राज्यको अर्थतन्त्रमा नराम्रो असर पर्न सक्छ ।’

समारोहमा शाक्य गुरु ट्रिन्जेन रत्नबज्र रेम्पोर्छेको आत्मकथा ‘द मेलोडी अफ धर्म’ नामक पुस्तकको लोकार्पण भएको छ । ठरिग गुम्बामा पुर्‍याएको योगदान कदर गर्दै बौद्ध धर्मगुरु र बौद्धका स्थानीय सूर्यबज्र लामा सम्मानित भएका छन् ।


रत्नबज्र रेम्पोर्छेको दर्शन गर्न भारत, ताइवान, मलेसियाबाट बौद्ध धर्मावलम्बी उपस्थित रहेको आयोजकले जनाएको छ । रेम्पोर्छेले भक्तजनलाई अभिषेक (वाङ) दिएर दीर्घायुको कामना गरेका थिए । बौद्धका प्रदेश सभा सांसद छिरिङदोर्जे लामाले राज्यले नामको पछाडि लामा लेख्ने नागरिकलाई फरक धारले हेर्ने गरेको बताए ।


उनले ठरिग गुम्बाले ५० वर्षमा समाज, राष्ट्र र बौद्ध धर्ममाथि पुर्‍याएको योगदानको कदर व्यक्त गरे । बौद्ध धर्मका छैटौं गुरु टुल्कु ठरिग रेम्पोर्छेले ०२५ मा ठरिग गुम्बा स्थापना गरेका हुन् ।

प्रकाशित : पुस २६, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?