१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वाग्मतीछेउ चिटिक्क पार्क

शिल्पा कर्ण

काठमाडौँ — बिहान साढे ६ बजे । वारि काठमाडौं र पारि ललितपुर । खोला किनारमा कोही कराँते सिक्दै छन् भने केही विद्यार्थीलाई पढ्न जाने हतारो छ । पहिले पेटीबाटै हिँड्थे । अहिले हिँड्ने बाटो बेग्लै बनेको छ । 

वाग्मतीछेउ चिटिक्क पार्क

शंखमूल पार्क ललितपुरमा मान्छे कमै देखिन्छ । फुर्सदिला भने कोही देखिँदैनन् । कोही स्याँस्याँ गर्दै कुद्दै थिए । कोही हिँड्दै ।

यही समयमा, शंखमूल पार्कमा एक रूखमुनि सामान्य कसरत सकेर ध्यान गर्ने तयारीमा थिए, ७५ वर्षीय चन्द्रमोहन अवाले । पाटन च्यासलका उनले वाग्मतीलाई बाल्यकालदेखि नै चिनेका छन् ।


‘यहाँको पानी खान पनि मिल्थ्यो । हामी यहीँ नुहाउँथ्यौँ,’ उनले सम्झे । समय क्रमसँगै वाग्मती फोहोर भयो । गन्हाउने पनि उत्तिकै । आफ्नै जीवनकालमा वाग्मतीको कञ्चन पानी धमिलिँदै गएको उनले देखेका छन् । पानी बग्ने वाग्मतीमा ढल बग्न थाल्यो । तर वाग्मती सरसफाइ अभियानले विस्तारै नदी सफा बनाउँदै लगेकाले अब नदी पहिलेझैं सफा हुने आशा छ उनमा ।


पछिल्लो २ वर्षदेखि उनी यहाँ निरन्तर आइरहेका छन् । दिनको सुरुवात स्वच्छ वातावरणमा योग र ध्यानका साथ हुन्छ । ‘यहाँ मर्निङ वाक गर्न ठिक्कको बाटो छ । रोकिन, बस्न चाहे पनि ठाउँ छ,’ उनले शंखमूल पार्कको विशेषता बताए । अवालेका अनुसार २०५०/५१ सालसम्म यहाँबाट बालुवा झिक्ने गरिन्थ्यो ।


ट्याक्टर रोकिए पनि बालुवा निकालेर साइकलमा बेच्ने गरिन्थ्यो । त्यो क्रम रोकिएसँगै वाग्मतीको उचाइ विस्तारै बढेको उनको निष्कर्ष छ ।


गैरआवासीय नेपाली संघले बनाइदिएको यो पार्कको लागत लगभग साढे २ करोड छ । अवाले यसरी पार्क निर्माणले नदी किनारबाट सुरु भएको मानव सभ्यतालाई नदीसँगै जोडिराख्ने बताउँछन् । तर ठूलो बाढी आउँदा पार्क ढाक्ला कि भन्ने डर पनि छ उनलाई । ‘अहिले पार्क बनाएको ठाउँ पहिले खोला बग्थ्यो । यही असारमा ठूलो पानी आउँदा माथि बारसम्मै पानी पुगेको थियो,’ उनले भने ।

सोही समयमा मर्निङ वाक सकाएर घर फिर्ने तयारीमा भेटिए शंखमूलका सुरेन्द्र ताम्राकार ।



पछिल्लो ५ महिनादेखि उनी यहाँ दिनहुँ बिहान पुग्छन् । ‘यहाँ आउन छाडेको धेरै भइसकेको थियो । पशुपति जान्थेँ वा अरू ठाउँ जान्थेँ, यहाँ आउन्नथेँ,’ उनले भने । तर यो स्थान सफा र व्यायाम तथा हिँड्डुल गर्न उपयुक्त भएकाले उनले टाढा जान छाडेका हुन् । ‘हुन त यहाँभन्दा बढी मान्छे यूएन पार्कमा हुन्छन् । तर यो पनि राम्रो भइसक्यो अहिले । फागुन, चैततिर भने वाग्मती गन्हाउँछ । अहिले त्यस्तो हुँदैन,’ ताम्राकारले भने ।


सोही बाटो हिँड्दै थिइन् रमिता प्रजा । भाषा कक्षाका लागि बानेश्वर पुग्ने उनी प्राय: पुल कटेर शंखमूल हुँदै जाने बताउँछिन् । पहिले वाग्मती गन्हाउने भए पनि अहिले सफा बनेको र पार्क बनेपछि नदीछेउ हिँड्दा पनि आनन्द आउने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘यहाँ नदीछेउबाट हिँड्ने खालको ठाउँ नै थिएन । हामी स्कुल पढ्दा ४ वर्षअघिसम्म त यो बाटो आउनै नपरोस् जस्तो लाग्थ्यो । अहिले डर पनि लाग्दैन, राम्रो भएको छ ।’


पारिपट्टि अर्को सुन्दर पार्क पनि छ । अर्थात काठमाडौंमा पर्ने शंखमूल योगा पार्क । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीछेउलाई सुन्दर बनाई पार्कका रूपमा विकास गर्ने भनेपछि यो क्षेत्रको पार्क र त्यसको सरसफाइको जिम्मा ‘द आर्ट अफ लिभिङ नेपाल’ ले लिएको छ । ‘हामीले यो पार्क बनाउन झन्डै १ करोड २० लाख रुपैयाँ खर्च गर्‍यौं । अहिले तीनजना कामदार यसको सफाइ र बोटबिरुवाको स्याहारका लागि खटिएका छन्,’ उक्त संस्थाका योगध्यान प्रशिक्षक तथा इन्जिनियर उत्तम सुवेदीले भने, ‘२०७३ सालमा सुरु गरेर एक वर्षभित्र पूरा गरेका हौं ।


जाडो भएकाले बढी मान्छे आउँदैनन् । साँझमा ढोका खोलिदिन्छौं ।’ सात रोपनीमा फैलिएको उक्त पार्कनजिकका क्षेत्रमा पनि उक्त संस्थाले नै वृक्षरोपण गरेको हो । रुद्राक्ष, धूपी, कपुरदेखि आँप, अम्बाजस्ता फलफूलका बोट पनि नदीछेउ रोपिएको छ । ‘पिच बने पनि यो बाटो हिँड्न डरलाग्ने खालको थियो । सरसफाइ गरी पार्क बनाइएपछि व्यवस्थित भएको छ,’ शंखमूल बस्ने वसन्त भण्डारीले भने । अहिले वाग्मती सरसफाइ अभियन्ता तथा सरकारले गर्ने कार्यक्रम पनि यहीँ हुने गरेका छन् ।


अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पार्क बनाउन, हरियाली बढाउन तथा सार्वजनिक प्रयोगका लागि वाग्मतीछेउको जग्गा संस्थालाई उपलब्ध गराउने गरेको छ । प्राप्त भएको जग्गामा तीन वर्षभित्र पार्क बनाइसक्नुपर्ने हुन्छ ।


समितिअन्तर्गतको वाग्मती सुधार आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले यस्ता पार्क निर्माणका लागि ४० वटा संघसंस्थासँग सम्झौता भइसकेको जानकारी दिए । उनका अनुसार सम्झौता भएकामध्ये १६ संस्थाले पार्क निर्माण गरिसकेका छन् भने ११ निर्माण हुने क्रममा छन् । ‘थप २५ संस्था पार्क निर्माण गर्न इच्छुक देखिएका छन् । उनीहरूसँग सम्झौता भइसकेको छैन,’ चित्रकारले भने, ‘विष्णुमती, धोबी खोलाजस्ता नदीछेउमा पनि पार्क बन्दै छन् ।’

प्रकाशित : पुस २८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?