१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पशुपतिमा मनपरि : समाधिस्थलमा दाउराको डिपो

काठमाडौँ — शवदाह गृहको उत्तरतिर सानो खुला ठाउँ देखिन्छ । काठको चाङ छ । वाग्मतीमा दाहसंस्कारका लागि चिता तयार पार्न राखिएका काठ हुन् ।

पशुपतिमा मनपरि : समाधिस्थलमा दाउराको डिपो

खासमा काठ थुपारिएको ठाउँ पशुपति क्षेत्रमा परापूर्वकालदेखि बसोबास गर्दै आएका दर्शनधारी, कपाली र कुसुलेको चिहान हो । पहिला फराकिलो क्षेत्रमा रहेको यो चिहान समय क्रममा खुम्चदै गयो । अहिले पशुपति क्षेत्र विकास कोषले झनै खुम्च्याइदियो ।


पशुपति क्षेत्र विकास कोष नियमावलीमा सांस्कृतिक सम्पदाको जर्गेना गर्ने भन्ने छ । यस हिसाबले चिहान सांस्कृतिक क्षेत्र हो । ‘चिहान जोगाउनु पर्ने हो,’ कपाली समाजका अध्यक्ष रत्न कपाली श्रेष्ठ भन्छन्, ‘तर चिहानै अधिकरण गरिदियो कोषले ।’ राष्ट्रिय गौरवको योजनाअन्तर्गत कोषले विद्युतीय शवदाह गृह बनाउने योजना बनायो । आफ्नो चिहानसमेत अधिकरण गर्न लागेको थाहा पाएपछि कपाली समाज विरोधमा उत्रियो । विरोधमा उत्रिएपछि कोषले अधिकरण गरी बाँकी रहेको चिहान व्यवस्थित गरिदिने सहमति गरेको थियो ।


कोषले चिहान व्यवस्थित गरिदिने भनेको ३ वर्ष बितेको छ । व्यवस्थित भने अझै भएको छैन । २०७२ भदौ १७ गते विद्युतीय शवदाह गृह सञ्चालन गर्ने सम्बन्धमा बैठक बसेको थियो । कोषका तत्कालीन सदस्य सचिव गोविन्द टण्डनको संयोजकत्वमा बसेको बैठकले कपालीको समाधिस्थल संरक्षण गर्ने निर्णय गरेको थियो ।


बैठकमा कोषका कर्मचारीदेखि राजनीतिक दलका प्रतिनिधिसमेत सहभागी थिए । कपाली समाजका अध्यक्ष रत्न, सदस्य सचिव टण्डन, निर्देशक भरत मरासिनी, इन्जिनियर राजेन्द्र राजोपाध्य, कांग्रेस वडा ८ का सभापति प्रेम क्षत्री, तत्कालीन एमालेका वडाध्यक्ष कृष्णमान श्रेष्ठ, तत्कालीन एनेकपा माओवादीका उपाध्यक्ष धु्रव भेटुवाल, नेकपा माओवादीका वडा ८ का इन्चार्ज रमेश सिंह डंगोल, पशुपति कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुली, प्रहरीका सई बाबुराम भण्डारी सहभागी थिए ।


‘राजनीतिक दलदेखि प्रहरी प्रशासनसमेत बसेर गरेको निर्णय अझै कार्यान्वयन भएको छैन,’ कपाली भन्छन्, ‘हामी धाएको धायै छौं । तर कुरै सुन्दैनन् ।’ टन्डनको अध्यक्षतामा बसेको बैठकमा कोष र कपाली समाजबीच ६ बुँदे सहमति गरेको थियो । बैठकले जग्गाको सिंमाकन गरेको थियो ।


विद्युतीय शवदाह गृह भवनको उत्तरतर्फको ८ फिट छाडेर बाँकी जग्गा चिहान निर्धारण गरेको थियो । पूर्वमा वाग्मतीको पश्चिमतिरको पर्खाल, वनकालीबाट वाग्मती निस्कने १२ फिटको बाटोको दक्षिण र शवदाह गृहको पश्चिम सिमानबाट उत्तरतिरको जग्गासम्म सिमाना छुट्याइएको थियो । उक्त चार किल्लाभित्रको करिब ३ रोपनी चिहान प्रयोग गर्न दिने सहमति भएको थियो ।


सीमांकन गरेपछि त्यहाँ मलामीका लागि केही संरचनासमेत बनाउने सहमति भएको थियो । ‘समाधिमा आउने मलामीको सुविधाका लागि चारकिल्लाभित्रका उपयुक्त स्थानमा १२ फिट लम्बाइ र १२ फिट चौडाइको एउटा कोठा र स्नान घर, शौचालयसहितको सानो सत्तल निर्माण गरी कोषले उक्त स्थान समाजले प्रयोग गर्ने गरी उपलब्ध गराउने सहमति निर्णय गरियो,’ निर्णयमा छ ।


पटकपटक ताकेता गर्दा पनि पूरा नभएको कपालीको गुनासो छ । कोषले त्यहाँ सिमांकन गर्ने तयारी गरेको जनाएको छ । चिहान क्षेत्रमा कम्पाउड लगाएर चिहान जोगाइदिने गरी टेन्डर आहवान गरिएको कोषले जानकारी दिएको छ । तर चिहान व्यवस्थित गर्ने भन्दै जग्गा अझै घटाउने गरी टेन्डर आहान गरेको कपालीलेले गुनासो गरे । जग्गा घटाउँदै लैजाँदा दाहसंस्कार गर्न समस्या हुने उनले बताए । पहिला यहाँ चिहानको नामम दुई कित्ता जग्गा थिए ।


२०४२ मा बनेको फिल्ड बुकमा कित्ता नम्बर ६८ मा ८ आना २ पैसा ३ दाम थियो । कित्ता ७३ मा ४ रोपनी ३ आना थियो । २०२१ सालमा बनेको फिल्ड बुकमाचाहिं कित्ता ९ र १० थियो । फिल्डबुकमा जग्गाधानीको नाम चिहान उल्लेख छ । २०२१ अघि भने त्यो पर्ति जग्गा थियो । कपालीका अनुसार पहिला भएको जग्गा पनि २०४२ मा कित्ताकाट गर्दा घट्यो । २०२१ को फिल्ड बुकमा कित्ता १० मा ५ रोपनी १५ आना जग्गा थियो । त्यही १० कित्ता पछि ७३ कित्ता भएको हो । ‘चिहान घटाउदै घटाउँदै लगियो,’ उनी भन्छन्, ‘यस्तै हो भने हाम्रो आउँदा पुस्तालाई चिहानै नहुने भयो । मृत्यु भएपछि चिहान खोज्दै हिँड्नुपर्ने बाध्यता आइलाग्ने भयो ।’


कपाली समुदायमा ६० घर छन् । खस समाजमा दशनामी भने जस्तै नेवारी समाजमा दर्शनधारी भन्ने गरिन्छ । खस समाजको गिरी पुरी, भारतीलगायतको चिहान क्षेत्र श्लेष्मान्त हो । कपालीको भने वाग्मती किनाराकै शवदाह गृह छेउमा पुस्तौंदेखि प्रयोग गर्दै आएका हुन् । नेवार समुदायको अरु समुदायको जलाउने गरिन्छ । कपालीको भने गाड्ने चलन छ । दर्शनधारी र दशनामी दुवै शैव समुदायका हुन् । दर्शनधारीको सम्बन्ध कपाल सम्प्रदायसँग छ । कपाली सम्प्रदाय आफूलाई कुशलनाथको शिष्य मान्छन् । कुशलनाथ अपभ्रंश भएर कुसुले भएको उनीहरू विश्वास गर्छन् । उनीहरू शैव धर्म र गोरखनाथ सम्प्रदायको मिश्रण भएको विश्वास गर्छन् । यी सम्प्रदायमा अहिले पनि दीक्षा लिने परम्परा छ । न्यास, ध्यान र भष्मधराण गरी दीक्षा लिन्छन् ।


यहाँको चिहान प्रयोग गर्न पशुपतिबाहेक कान्तिपुर, भक्तपुर र ललितपुरका दर्शनधारीलाई पनि दिने गरिएको कपाली बताउँछन् । ‘खास यहाँको चिहान पशुपति क्षेत्रमा बसोबास गर्ने दर्शनधारीको लागि हो,’ उनी भन्छन्, ‘तर पशुपति आएको बेला कोहीको मृत्यु भए यहींको चिहान प्रयोग गर्न दिने निर्णय गरेको छ कपाली समाजले ।’


सबैको चिहान एकै ठाउँमा हुनु हुँदैन । चिनो लगाएर आफन्त गाडेको ठाउँ पहिचान गर्छन् । कहीं रूख रोपेर चिहानको पहिचान कायम राख्छन् । कहीं शिवलिंग बनाएर पहिचान राख्छन् । चिहान खन्ने क्रममा हाड देखिनु हँुदैन भन्ने मान्यता छ । हाड देखियो भने फेरि विधिपूर्वक दाहसंस्कार गर्नुपर्ने परम्परा छ । ‘विद्युतीय शवदाह गृह बनाउने बेलामा डोजरले चिहान खनिदियो कोषले,’ कपाली भन्छन्, ‘त्यति बेला हाडैहाड निस्किएको थियो । हाड निस्कँदा फेरि दाहसंस्कार गर्नुपर्ने हाम्रो परम्परा यहाँ लागू भएन ।’


२०४४ मा पशुपति क्षेत्रको संरक्षण गर्न कोष बन्यो । कोष बनेको १ वर्षपछि नै चिहानमा हमला गर्दै आएको कपाली बताउँछन् । २०४५ मा त्यही चिहानको छेउमा वाग्मतीमा बाँध बाँधियो । बाँध बाँध्ने कामको जिम्मा एनसीसीएन आयोजनाले गरेको थियो । आयोजनाले चिहानभरि ल्याएर निर्माण सामग्री राखिदियो । ठूला मेसिन ल्याएर राखिदियो । त्यसले चिहान पहिचान गर्न मुस्किल भयो । ३२ गुठियारले अमालकोट कचहरीमा उजुरी दिए । त्यतिबेला यस क्षेत्रको रेखदेख गर्ने काम अमालकोट कचहरीले गथ्र्याे । पछि अकालकोट कोषअन्तर्गत ल्याइयो । अमलकोट कचहरीलेले एनसीसीएनलाई अवरोध नगर्न पत्राचार गर्‍यो ।


केही समय आनन्द भएको थियो । फेरि २०५८ देखि अर्काे तनाव सिर्जना गरिदियो कोषले । जिल्ला प्रशासन कार्यालयले जग्गा अधिकरणसम्बन्धी सूचना निकाल्यो २०५८ फागुन ६ मा । कोषले तयार पारेको गुरुयोजना कार्यान्वयन गर्न भन्दै ११ वटा कित्ता अधिकरण गर्न सूचना निकालेको थियो । तीमध्ये कोही पर्ति जग्गा थिए, कोही व्यक्तिको र चिहानसमेत थियो । चिहान अधिकरण गर्नु कोषकै नियमविपरीत भएको कपाली बताउँछन् ।


‘कोषको ऐनमा नयाँ बनाउने भन्ने छैन । भएका सम्पदा संस्कृति जोगाउने भन्ने छ,’ उनी भन्छन्, ‘चिहान हाम्रो सम्पदा हो । संस्कृति हो । यसलाई मास्ने गरी अधिकरण गर्नु कोषकै नियमविपरीत छ । संविधानले दिएको भाषा र संस्कृतिको हकविपरीत छ ।’ आफ्नो चिहान प्रयोग गरेबापत क्षतिपूर्ति र मुअब्जासमेत नपाएको उनले गुनासो गरे । ‘शवदाह गृहबाट लाखौं उठाउँछ कोषले । हाम्रै जग्गामा बनेको प्रसाद गृहबाट पनि कमाउँछ,’ उनी भन्छन्, ‘तर कपाली समाजलाई मुअब्जा दिएको छैन ।’


अहिले भएको जग्गामा पनि टिम्बर कर्पाेरेसनले काठ थुपारेको छ । ५ वर्षअघि कोषमा सुशील नाहाटा सदस्य सचिव हुँदा ३ महिनाका लागि काठ राख्न अनुमति दिएका थिए । ‘तर अझै हटाइएको छैन,’ कपाली भन्छन्, ‘मृत्यु संस्कार गर्दा तनाव हुन्छ । शोकको घडीमा समेत चिहानको चिन्ता लिनुपर्ने अवस्था सिर्जना गरिदिएको छ कोषले ।’

प्रकाशित : माघ १, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?