२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

करिडोर बनाउँदा विवाद

भक्तपुर — मध्यपुरथिमि नगरपालिका ४ र सूर्यविनायक नगरपालिका ३ को सीमा नयाँथिमिस्थित वर्षौंदेखि खोलाको बहाब परिवर्तन तथा सिमाकंन विवाद नटुंगी सोमबार डोजर चलाइएको छ । 

हनुमन्ते नदी करिडोरको नाममा नदी क्षेत्रको अध्ययन तथा सिमाकंन नगरी प्रशासनको आडमा ठेकेदार कम्पनीले बहाब परिवर्तन गर्न डोजर लगाएको स्थानीय विजयकृष्ण श्रेष्ठको आरोप छ ।


प्रत्येक वर्ष हनुमन्ते नदीको प्राकृतिक बहाबको विषयमा दुई नगरका स्थानीयबीच विवाद हुँदै आएको छ । एक पक्षले २०२१ सालको नापीअनुसार खोलाको बहाब परिवर्तन गर्ने तर्क राख्दै आएका छन् भने, अर्का पक्ष साविक बगेको खोलालाई हनुमन्ते खोलाको सार्वजनिक जग्गा मान्दै आएका छन् । कतिपयले खोलाको जग्गालाई अस्थायी लालपुर्जामा परिणत गराइसकेका छन् । २०२१ सालमा खोलाको नाममा भएको कतिपय जग्गा अतिक्रमण भइसकेको छ ।


खोला अतिक्रमण तथा खोला साँघुरिँदै जाँदा प्रत्येक वर्षात्मा भक्तपुर डुबानमा पर्ने समस्या ताजा छ । करिडोर निर्माण तथा खोलाको जग्गा विवाद समाधानका लागि जग्गा एकीकरणको प्रक्रिया नभइसकेको अवस्थामा अर्को पक्षले डोजर चलाउनु दुर्भाग्य भएको मध्यपुरथिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘करिडोर निर्माण तथा जग्गा एकीकरणका लागि सिमाकंनसमेत भएको छैन,’ उनले भने, ‘काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा एकीकरणको लागि बल्ल डीपीआरको तयारी थालेको छ ।’ अध्ययन तथा सिमाकंन नभई विवादित क्षेत्रमा डोजर चलाउँदा करिडोर निर्माण नै प्रभावित हुने उनी बताउँछन् ।


अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिले जगाती पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किलोमिटर दूरीमा करिडोर निर्माण गर्ने समितिको लक्ष्य छ । करिडोरको निर्माणको पहिलो चरणमा राधेराधे पुलदेखि नयाँ थिमि पुलसम्मको २.८ किलोमिटर दूरीका लागि ठेक्का सम्झौता भई दुई महिनादेखि काम सुरु भएको छ ।


राधेराधे पुलदेखि नयाँ थिमि पुलसम्म करिडोरको जिम्मा पाएको पीएस गोल्डेन गुड/समानान्तर जेभीले सोमबार विवादित नदीमा बहाब परिर्वतन गर्न दुइटा डोजर चलाएको स्थानीयको गुनासो छ । ‘दुई नगरपालिकाको सहमतिमा डीपीआर बनेपछि मात्र स्थानीयलाई मार नपर्ने गरी करिडोर निर्माणमा लाग्नुपर्छ,’ मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुटुले भने, ‘जग्गा एकीकरण भएपछि मात्र करिडोर निर्माण हुनुपर्छ ।’


करिडोर निर्माणको नाममा संगठित भूमाफियाले आफ्नो स्वार्थका लागि काम गरेको कांग्रेस मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठको आरोप छ । प्रशासनको संरक्षणमा स्थानीयसँग छलफल नगरी योजना तथा अध्ययनबिना विवादित क्षेत्रमा डोजर लगाउँदा दुर्घटना हुने सम्भावना बढेको उनी बताउँछन् ।


विवादित क्षेत्रसँग सम्बन्धित मुख्य सरोकारवाला सूर्यविनायक नगरप्रमुख वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समिति प्रमुख आशिष घिमिरेलगायतले भने डोजर लगाएको सन्दर्भमा अनविज्ञता प्रकट गरेका छन् । ‘डोजर के कारणले कसले चलाएको थाहा छैन, विवाद समाधान नहुन्जेल रोक्न निर्देशन दिइएको छ,’ प्रजिअ भट्टले भने ।


करिडोर निर्माणको जिम्मा पाएको पीएस गोल्डेन गुड/समानान्तर जेभीले भने दुई नगरपालिकाको सहमति अनुसार ड्रइङ्ग डिजाइनको आधारमा करिडोर निर्माण भइरहेको जनाएको छ । ‘ड्रइङ्ग डिजाइनको आधारमा निर्माण स्थलमा निर्माण सामग्री लैजान खोला सम्याउन खोजेको हो,’ समान्तर कम्पनीका संचालक निरोज थपलियाले भने,‘विवादित क्षेत्रमा काम स्थगित गरिसक्यौं, विवाद सुल्झिएपछि मात्र काम हुन्छ ।’

प्रकाशित : माघ २, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?