१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साना सम्पदा बने, ठूलामा विवाद

मन्दिर, विहारजस्ता सम्पदा पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका र विभिन्न दातृ निकायले निर्माण गरेका छन्

काठमाडौँ — २०७२ साल वैशाखको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये संख्यात्मक हिसाबले धेरैजसो बनिसकेका छन् । तर, मुख्य सम्पदा विवादका कारण पुनर्निर्माण हुन सकेका छैनन् । मन्दिर, विहारजस्ता सम्पदा पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका र विभिन्न दातृ निकायले निर्माण गरेका छन् । केही निर्माण हुने क्रममा छन् । रानीपोखरी भने निर्माणको टुंगो अहिलेसम्म लाग्न सकेको छैन । 

साना सम्पदा बने, ठूलामा विवाद

विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यकाका तीनै जिल्लाका दरबार क्षेत्रमा आधाजसो संरचना बनिसकेका छन् । उपत्यकाभित्रका झन्डै डेढ सय सम्पदामा भूकम्पले क्षति पुर्‍याएको तथ्यांक छ ।


सबैभन्दा बढी हनुमानढोका दरबार क्षेत्रमा क्षति पुगेकोमा दर्जनभन्दा बढी संरचना पुनर्निर्माण भइसकेका छन् भने केही निर्माण हुने क्रममा छन् । दरबारक्षेत्र भित्र चीन, जापानजस्ता देशले पुनर्निर्माणका काममा सघाइरहेका छन् । महानगरपालिकाअन्तर्गतको हनुमानढोका दरबार क्षेत्र संरक्षण समिति र पुरातत्त्व विभागको संग्रहालय विकास समितिले पनि केही मन्दिर निर्माण गरिरहेको जनाएका छन् ।


उक्त क्षेत्रको मुख्य आकर्षणमध्येको ११० वर्ष पुरानो गद्दी बैठकले पुनर्निर्माणपश्चात पुरानै स्वरूप पाएको छ । अमेरिकी संस्थाको सहयोगमा यसको सबलीकरण गरिएको हो । पुरातत्त्व विभागका इन्जिनियर गोपाल झाका अनुसार नौतले दरबार पुनर्निर्माणमा चीनले सहयोग गरिरहेको छ ।


वंशगोपाल कृष्णमन्दिर यस आर्थिक वर्षमा सम्पन्न भइसकेको छ । तलेजुको पश्चिमी गेट अगाडि बाँयापट्टि अवस्थित कागेश्वरी मन्दिर समितिले बनाएको हो । दायाँपट्टिको महानगरअन्तर्गतको दरबार संरक्षण कार्यक्रमले बनाएको हो । पूर्ण क्षति भएको कृष्ण मन्दिर पनि पुनर्निर्माण भइसकेको छ । शिव मन्दिर, लक्ष्मी नारायण मन्दिर (सरस्वती मन्दिर), नगारा घर, र आंशिक क्षति नै भएको तलेजु मन्दिर बनिसकेका छन् ।


आगमछेंका पुनर्निर्माणका लागि जापानले सहयोग गर्ने भएको छ । समितिले गद्दी बैठक र नौतले बीचको राणाकालीन भवन निर्माण गरिरहेको जनाएको छ । मूल्चोकको छानाको काम भइरहेको छ । विभागले दशावतारको काम गर्दै छ भने महानगरअन्तर्गतको संरक्षण कार्यक्रमले माजुदेग बनाइरहेको पुरातत्त्वका इञ्जिनियर रोशन डंगोलले जानकारी दिए ।


राजधानीको पुरानो बस्ती साँखुमा पनि मन्दिर, पाटीपौवा पुनर्निर्माणको कार्य तीव्र गतिमा भइरहेको विभागले जनाएको छ । ज्योतिर्लिंगेश्वर र नर्मदेश्वर महादेवका साथै तारा मन्दिर पुनर्निर्माण समाप्त भइसकेको छ । शालिनदी छेवैको नारायण मन्दिर र राम झुपडी पुनर्निर्माण सम्पन्न भइसकेका छन् । उक्त क्षेत्रमा भर्खरै माधवनारायण मन्दिर बन्न लागेको छ ।


‘उक्त क्षेत्रको मुख्य माधवनारायण मन्दिर र न्हेकं सत्तलको काम सुरु भएको छ,’ विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले भने । कृष्ण मन्दिरको द्दों छें सम्पन्न हुन लागेको उनले बताए । वसुन्धारा द्दो छें र बज्रयोगिनी मन्दिरमा छानाका काम भइरहेका छन् ।


राजधानीका पुराना बस्तीबीचका मन्दिर पनि पुनर्निर्माण भइरहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘जैसीदेवलको सिँढीको काम भर्खरै सक्कियो । डल्लुको कंकेश्वरीमा छानाको काम भइरहेको छ । सम्भवत: माघ मध्यसम्ममा सम्पूर्ण कार्य सकिन्छ ।’


शोभाभगवतीको इन्द्रायणी मन्दिर र बिजेश्वरी पनि माघमा पुनर्निर्माण समाप्त हुने विभागले जनाएको छ । टोखाका मुख्य मन्दिरहरूमा पुनर्निर्माणको सुरुआत भएको छ । विभागका अनुसार चन्डेश्वरी, नारायणी र महादेव मन्दिरको पहिलो तला निर्माणकार्य सुरु भएको छ । टोखाको तलेजु मन्दिरको निर्माण भने गतवर्ष नै सम्पन्न भइसकेको छ । गोकर्णको तलेजु, भैरव र गोकर्ण महादेवसँगैको पाँडे सत्तलमा जगको काम भएको छ ।


महानगरपालिकाका अनुसार स्वयम्भू क्षेत्रमा पुजारीका घरलाई एकीकृत रूपमा पुनर्निर्माण गर्न लागिएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले त्यसका लागि १८ करोड बजेट छुट्याइएको बताए । उनले भने, ‘त्यहाँका २९ परिवारमध्ये केहीले पुनर्निर्माण गरिसकेका छन् । बाँकीलाई हामीले सहयोग जुटाएर गरिदिन लागेका छौं । गुठीले स्वीकृति दिएपछि पुरातत्त्व विभागले नक्सा बनाइदिएको छ र महानगरले नक्सा पास गरिसक्यो ।’ विश्व सम्पदा सूचीमा पर्ने उक्त क्षेत्रमा अग्निपुर र प्रतापपुर स्तुप पुनर्निर्माण भइसकेको डंगोलले जानकारी दिए ।


रानीपोखरी पुनर्निर्माण हुने क्रममा सुरुदेखि नै विवाद रहँदै आएको छ । कसले निर्माण गर्ने भन्नेदेखि सुरु भएको विवादको सिलसिला अहिले पोखरीको बीचको मन्दिर कुन शैलीमा हुनेसम्म आइपुगेको छ ।


महानगर र पुरातत्त्व दुवैका कार्य विवादमा परेपछि अदालतमा समेत यो मुद्दा पुगेको थियो । ‘रानीपोखरीमा विज्ञ टोली खटाइएको छ । १–२ दिनमा प्रतिवेदन आएपछि मन्दिरको शैलीबारे निर्णय लिनेछौं । पोखरीको काम महानगरपालिकाले गर्छ,’ विभागका इन्जिनियर श्रेष्ठले भने ।


यसैगरी धरहरा पुनर्निर्माणको प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरिसकेका छन् । भुइँचालोबाट पूर्ण रूपमा भत्किएको काष्ठण्डप पुनर्निर्माणको जिम्मा स्थानीयलाई दिइएको छ । यसअघि स्थानीयले आफूहरूलाई जिम्मा दिनु भने पनि ठेक्का आहान भएपछि विरोध भएको थियो ।

प्रकाशित : माघ २, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?