कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काष्ठमण्डप बन्दै

काठमाडौँ — हनुमानढोका दरबारको उत्तर–पश्चिममा महानगरीय प्रहरी परिसरको भत्केको भवन छ । भुइँचालोले जीर्ण भएपछि प्रहरी कार्यालय सरेर टेकु पुग्यो । खाली प्रहरी कार्यालयको आँगनमा काष्ठमण्डपका पुराना काठ थुपारिएका छन् । त्यही काठलाई मर्मत सम्भार गरिरहेका छन् कालिगढ ।

काष्ठमण्डप बन्दै

पुरातत्त्व विभागका अनुसार काष्ठमण्डपका काठमध्ये ३० प्रतिशत काम लाग्ने अवस्थामा छन् ।


नपुग्ने काठ ल्याउने क्रम पनि धमाधम भइरहेको छ । काठका लागि नेपाल टिम्बर कर्पाेरेसनसँग सम्झौता भएको छ । विभागको इस्टिमेटअनुसार १७ हजार ५८ क्युफिट काठ लाग्छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक तथा प्रदेश ३ का सांसद राजेश शाक्यका अनुसार काठ ल्याउने प्रक्रिया सुरु भएको छ । ‘एक लट काठ आइसक्यो,’ उनी भन्छन्, ‘विभागले दिएको इस्टिमेटभन्दा कम काठ लाग्ने हाम्रो अनुमान छ ।’


काष्ठमण्डप एउटै रूखको काठबाट बनेको विश्वास गरिन्छ । भुइँचालोपछि बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले गरेको अध्ययनअनुसार काष्ठमण्डप सातौं शताब्दीमा बनेको हो । अध्ययन हुनुअघि १२ औं शताब्दीमा बनेको मानिन्छ काष्ठमण्डप । यही सत्तलको नामबाट उपत्यकाको नामै काठमाडौं रहन गएको हो । संस्कृतिविद् यज्ञमानपति वज्राचार्यका अनुसार उतिबेला काठको राम्रो भागको काष्ठमण्डप बनाइयो ।


नराम्रो काठ, मुढा, जरा एक ठाउँमा पन्छाइयो । पन्छाएकोलाई नेवारी भाषामा ‘सिंखो’ भनिन्छ । त्यही पन्छाएको काठबाट विहार बनाइएको रहेछ । त्यो विहारको नाम ‘सिंखोमू’ महाविहार राखियो । ‘त्यही भएर काष्ठमण्डप र यो विहारबीच नङ र मासुको जस्तो सम्बन्ध छ,’ वज्राचार्य भन्छन् ।


काष्ठमण्डप बनाएर पनि काठ अझै सकिएन । बाँकी रहेको काठले अर्काे सत्तल बन्यो । त्यो हो– सिंल्य सत्तल । नेवारी भाषामा सिं भनेको काठ र ल्य भनेको बाँकी हो । सिंल्य सत्तल काष्ठमण्डपको दक्षिणतिर छ । यो सत्तल भुइँचालो आउनुअघि नै जीर्णाेद्धार भएको थियो । भुइँचालोबाट यो भने जोगियो । ‘यो सत्तलको काम अहिले पनि भइरहेको छ,’ श्रेष्ठले भने ।


सिंल्य सत्तल बनाएर पनि थुप्रै काठ बाँकी रह्यो । त्यो बाँकी रहेको काठ पछि काम लाग्ला भनेर काष्ठमण्डपकै छेउमा पुरियो । त्यहाँ डबली (दबु) बनाइयो । त्यो दबु मञ्चका रूपमा प्रयोग हुन्छ । यसलाई ‘मरु दबु’ पनि भनिन्छ । भुइँचालो आएपछि संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले निरीक्षण गर्‍यो । ‘विशेष क्यामेराले हेर्दा ५ मिटर तल काठ देखियो,’ वज्राचार्य भन्छन्, ‘त्यतिबेला काठ गाडिएको थियो भनेर इतिहासमा लेखिएको कुरा पुष्टि भयो ।’


काष्ठमण्डप माटोको जडानले बनेको हो । अहिले पनि त्यही जडानमै बनाउन लागिएको शाक्यले जानकारी दिए । समितिले माटो झिक्ने ठाउँ पनि खोजिसकेको छ । ‘कीर्तिपुर, इचंगुनारायण, सीतापाइलालगायत ठाउँमा माटो खोजियो,’ शाक्यले भने, ‘काष्ठमण्डपमा प्रयोग भएको जस्तो माटो भने ताहाचलमा भेटियो ।’


यहाँ कस्तो माटो प्रयोग भएको रहेछ भनेर प्रयोगशालामा परीक्षण गरेको पाइयो । ‘माटो, बालुवा र मसिनो बालुवाको मिश्रणले बनेको पाइयो,’ शाक्य भन्छन्, ‘माटोबाट छिंडी, चोटो र बुइँगल गरी चारतले घर बलियो हुन्छ । सिमेन्टको भन्दा पनि बलियो हुन्छ माटोको घर । राज्यले नीति राम्रो नबनाएर मात्रै हो हाम्रो प्राचीन निर्माण सामग्री बलियो छैन भनिएको । परीक्षण गर्ने हो भने चार तलासम्मका लागि हाम्रा प्राचीन निर्माण सामग्री बलिया छन् ।’


काष्ठमण्डपमा जुन इँटा प्रयोग भएको थियो, त्यही स्वरूपको राख्ने योजना समितिले बनाएको छ । काष्ठमण्डपमा सादा इँटा प्रयोग भएका थिए । ठूलो मा आप्पा र सानो मा आप्पा गरी दुईथरीका इँटा प्रयोग भएका छन् । यहाँ प्रयोग भएकै जस्तो इँटा दक्षिण बाराही इँटाभट्टालाई बनाउन दिइएको छ । उपत्यकामा प्राचीन इँटा बनाउने भट्टा यही हो । ‘२२/१५ र ५ सेमिको इँटा प्रयोग भएका रहेछन्,’ शाक्य भन्छन्, ‘यही साइजका बनाउन दिएका छौं । ठूलो मा आप्पा आउन सुरु भइसक्यो । सानो अब चाँडै आउँछ । लट–लट गरेर ल्याउँछौं ।’


काष्ठमण्डप यसअघि पनि जीर्णाेद्धार भएको थियो । त्यतिबेला जीर्णाेद्धार गर्दा यसको मौलिकता मासिएको थियो । कतै सिमेन्ट प्रयोग भएको थियो । कतै माटोको साटो चुना सुर्की प्रयोग भएको थियो । जगमा समेत सिमेन्ट हालिएको पाइएको छ । ‘पहिला भएका गल्ती पनि हामी यो बेला सच्याउँदै छौं,’ शाक्य भन्छन्, ‘यो पुनर्निर्माणको बेला हो । सच्याउने बेला हो । विगतमा भएका गल्तीसमेत सच्याउने मौका यही हो । हामी यो मौकाको सदुपयोग गरेर काष्ठमण्डपलाई नमुना बनाउने योजनामा छौं ।’


काष्ठमण्डप ‘मरु सत्तल’ को नामले चिनियो । काष्ठमण्डप मात्रै हैन, योसँग बनेको डबली पनि ‘मरु दबु’ को नामले चिनियो । काष्ठमण्डपसँगै बनेका ढुंगेधारा पनि मरुहिटीका नामले चिनिए । नेवारी भाषामा मरु भनेको छैन हो । ‘यो मरुसँग वज्रयानी सम्प्रदायको दर्शन जोडिएको छ,’ वज्राचार्य भन्छन्, ‘केही पनि छैन भन्नुको अर्थ त्यहाँ दर्शन छ । केही पनि छैन भन्नु वज्रयानी दर्शन हो ।’ बौद्ध धर्मभित्र हिनयान, वज्रयान र महायान गरी तीन सम्प्रदाय छन् । त्यसमध्ये काष्ठमण्डपको निर्माता लीलावज्र वज्रयान सम्प्रदायका हुन् । ‘काष्ठमण्डप बनाउँदा यही वज्रयान दर्शन प्रयोग भएको छ,’ वज्राचार्यले भने ।


केही छैन भन्नुको अर्थ काष्ठमण्डपको रूप छैन, रङ छैन र आकार प्रकार छैन । रङरोगन छैन । ढोका छ, तर बन्द हुँदैन । ढोका भए पनि खापा हालिएको छैन । खापा नहाल्नुको अर्थ यहाँ जो पनि छिरुन् भन्ने हो । यहाँ कुनै जातिलाई बन्देज छैन । कुनै धर्मलाई बन्देज छैन । कोही बेला जातीय छुवाछूत चर्काे थियो । त्यस्तो बेलामा पनि काष्ठमण्डपमा केही थिएन । ‘जातीय भेदभाव छैन,’ वज्राचार्य भन्छन्, ‘धनी, गरिबको विभेद छैन । पूर्णरूपमा स्वतन्त्रता थियो काष्ठमण्डपमा । यो वज्रयानी दर्शन हो ।’


केही पनि छैन भन्नुको अर्काे अर्थ यसको लम्बाइ, चौडाइ, उचाइ सबै बराबर छ भन्ने पनि हो । यसको लम्बाइ, चौडाइ र उचाइ ३६ हात छ । जगका इँटा पनि ३६ सोलकै छन् । यो सत्तल बनाउँदा ३६ अंकलाई प्राथमिकता दिइएको छ । ‘यो पनि वज्रयानी दर्शन हो,’ वज्राचार्य भन्छन्, ‘३६ लाई महत्त्व दिनु पनि वज्रयानी सिद्धान्त हो ।’


नेपाली वर्णमालामा ३६ वटा अक्षर हुन्छन् । हरेक अक्षरको एउटा आदर्श छ वज्रयानी दर्शनमा । क देखि ज्ञ सम्मकै अर्थ छन् । त्यसमध्ये य, र, ल, व को अर्थ प्रयोग भएको थियो काष्ठमण्डपमा । य को अर्थ हावा हो । र को अर्थ आगो, ल को अर्थ माटो (पृथ्वी), व को अर्थ पानी वा तरलता हो । हावा नचली आगो बल्दैन । आगो नबली भाँडा तात्दैन । भाँडो नतानी पानी उम्लिँदैन । ‘हावामाथि आगो, आगोमाथि भाँडो, भाँडोमाथि पानी, पानीमाथि हावा,’ वज्राचार्य भन्छन्, ‘हावाबाट हावै बन्यो । हाम्रो

चुल्होको सिद्धान्त पनि यही । वज्रयानी सिद्धान्त पनि यही हो । ३६ वटा अक्षरको ज्ञान भएपछि निपुण भइन्छ । पहिला विहारमा यही पढाइ हुन्थ्यो । अहिले हरायो ।’


यही य, र, ल, व खम्बामा अडिएको थियो काष्ठमण्डप । वज्राचार्यका अनुसार काष्ठमण्डप चारवटा ठूला खम्बामा अडिएको थियो । ‘शक्ति लडेपछि सबै लड्यो,’ वज्राचार्य भन्छन्, ‘अरू मन्दिरका केही भाग रहे । तर काष्ठमण्डप जगैदेखि गयो ।’

प्रकाशित : माघ ५, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?