साँखुमा ९ बजेसम्मै गाडी

सुरु भयो स्वस्थानी
चोरी, डकैतीका घटना हुन नदिन ९० जनाको टोली परिचालन हुने

काठमाडौँ — साँखुस्थित शाली नदीमा स्वस्थानी व्रतालुको घुइँचो लागेको छ । व्रत बस्न व्रतालुले आइतबार साँखु ज्योतिर्लिंगेश्वरस्थित सुन्दरीघाटमा पुगेर स्नान गरेका छन् ।

यो महिनाभर स्नान गरी स्वस्थानी तथा माधव नारायणको आराधना गरे पुण्य मिल्ने जनविश्वास छ । माधवनारायण साँखुका मूल पुजारी सुदनराज राजोपाध्याय भन्छन्, ‘साँखुमा व्रत प्रारम्भ गर्नु एक दिनअघि महिनादिनसम्म नुन नखाने आत्मा संकल्प गरी चि:भ्वय् (चौरासी व्यञ्जन परिकारसहितको भोज) खाने चलन छ । यसअनुरूप व्रतालुले

आ–आफ्नो घरमा दैलो लिपेर सफा गरी भोजन गर्छन् ।’


व्रत बस्दा उपरखुट्टी बस्न नहुने, पशुपन्छी तथा जनावरको नाम लिन, फाटेको दूध, नुन, माछा, मासु, मरमसला खान नहुने मान्यता छ । पुरुष व्रतालुले रातो टीका तथा रातो वस्त्र लगाउन नहुने, रजस्वला भएकी महिला व्रतालुले अन्य व्रतालु र पूजा सामग्री छुन हुँदैन ।


यस पटकसमेत गरी १२ पटक व्रत बसिसकेका साल्खा टोलका ४१ वर्षीय लक्ष्मण श्रेष्ठ भन्छन्, ‘पुस्तौंदेखि हस्तान्तरण हुँदै आएर मात्र व्रत बसेको होइन । व्रत बस्दा सन्तुष्टि मिलेको छ ।’ साँखु साल्खा महादेव स्थानकी ४० वर्षीया सलिना सिङ पहिलोपटक व्रत बसेकी छन् । उनको आइतबार दिनभर पूजासामग्री जुटाउँदैमा दिन बित्यो । नियम पूर्वक व्रत बसेमा पारिवारिक सुख मिल्नेमा उनलाई विश्वास छ ।


हिन्दु शास्त्रअनुसार विष्णुले सिकाएको विधिअनुसार हिमालयकी पुत्री पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) को नियमपूर्वक व्रत बसेकोले महादेव स्वामी पाए । पार्वतीले लोककल्याणका लागि स्वस्थानीको व्रत बसाल्न स्वर्गलोकमा नारद, मनुष्यलोकमा सप्तऋषि र पाताललोकमा अस्वस्थामा ऋषिलाई पठाइन् । सोहीअनुरूप अहिलेसम्म माधवनारायण साक्षी राखेर पौष शुल्क पूर्णिमादेखि माघ शुल्क पूर्णिमासम्म शाली नदीमा व्रत बस्ने चलन रहेको जनविश्वास छ ।


व्रतालुलाई स्नान, पूजा र उपत्यकाका विभिन्न तीर्थस्थल यात्रा गर्न सबै तयारी भइसकेको शाली नदी सुधार समितिले जनाएको छ । समितिका अनुसार व्रत आरम्भ भएको १२ दिनपछि माघ १९ मा व्रतालु शाली नदीबाट बज्रयोगिनी ढोकासम्म अष्टांग दण्डवत गर्दै जाने साइत परेको छ । त्यसको भोलिपल्ट बज्रयोगिनी मन्दिर हुँदै पशुपति प्रस्थान गरिन्छ ।


यस दिन शाली नदीबाट माधवनारायणको मूर्ति बज्रयोगिनी मन्दिरमा पुर्‍याई पुजारीद्वारा फूल साटासाट गर्ने परम्परा छ । समिति अध्यक्ष गोविन्द श्रेष्ठले २५ गते साँखुबाट पनौतीस्थित त्रिवेणी घाटमा स्नान गर्न प्रस्थान गरिने बताए । मेला भर्न ३० लाख भक्तजन आउने समितिको अनुमान छ ।


यसका लागि पार्किङ, पुजारी व्यवस्थापन, सरसफाइ र सुरक्षा व्यवस्था मिलाइसकेको छ । समिति अध्यक्ष श्रेष्ठले मन्दिर परिसरमा प्लास्टिकको झोला निषेध गरिएको बताए । ‘भीड बढ्ने दिनमा सार्वजनिक यातायात ८/९ बजेसम्म सञ्चालनमा ल्याउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘यस रुटमा यात्रु ओर्लिसकेपछि बस रोकिराख्न दिंदैनौं ।’


उनले सार्वजनिक यातायातमा भाडादर टाँस्न लगाउने बताए । ‘नतासकेकालाई कारबाहीका लागि सिफारिस गरिनेछ,’ उनले भने, ‘चाबहिल–साँखु खण्ड व्यवस्थित बनाउन सडक विभाग र ठेकेदारलाई अनुरोध गरिसकेका छौं ।’ समितिले खाद्यवस्तुको गुणस्तर जाँच गर्न शंखरापुर नगरपालिकाका मेयरको संयोजकत्वमा गठित समितिले अनुगमन गरिने बताएको छ । ‘चन्दा उठाउन बन्देज गरिएको छ,’ उनले भने, ‘यातायात व्यवसायी समितिलाई बस थप गर्न अनुरोध गरेका छौ ।’


महानगरीय प्रहरी प्रभाग साँखु प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले चोरी, डकैतीका घटना हुन नदिन ९० जनाको टोली परिचालन हुने बताइन् । ‘हूलदंगा गर्ने, ठगी गर्नेलाई तत्काल कारबाही गरिनेछ,’ उनले भनिन् । स्कुन्दपुराणको केदारखण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।

प्रकाशित : माघ ७, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?