१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बालकुमारी मन्दिर जीर्णोद्धार

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमिको इष्ट (मुख्य) देवता बालकुमारी मन्दिरको जीर्णाेद्धार थालेको छ । भूकम्पको धक्काले तीनतले मन्दिरको तीनवटै छाना जीर्ण बनेका छन् । मन्दिरका टुँडाल र खम्बाहरू निस्किएका छन् ।

बालकुमारी मन्दिर जीर्णोद्धार

‘मन्दिरको छाना, गजुरलाई साबिक स्थानमा राख्न जीर्णोद्धार आवश्यक छ,’ मन्दिर जीर्णोद्धार उपभोक्ता समिति अध्यक्ष भरत श्रेष्ठले भने, ‘भंगी (गजुर रहने भाग), नागोल, तामाको पाता, कुमुसी (दलिन), टुँडाल, झलरलगायत निकालेर जीर्णोद्धार गर्ने लक्ष्य छ ।’


मध्यपुर थिमि ४ मा अवस्थित बालकुमारी मन्दिर जीर्णोद्धारका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा १ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । मन्दिर जीर्णोद्धारका लागि भरत श्रेष्ठको संयोजकत्वमा उपभोक्ता समिति गठन गरेको छ ।


बालकुमारी मन्दिर कसले र कहिले बनाएको भन्ने एकिन तथ्यांक छैन । संस्कृतिकर्मी प्रदीप श्रेष्ठका अनुसार बालकुमारी मन्दिर नेपाल संवत् ४७८ मा तीनतले छाने शैलीमा निर्माण गरिएको हो । थिमिको बिस्केट जात्रालाई व्यवस्थित गर्न र वैशाख संक्रान्तिको राति हुने ‘धापना पूजा’ मा गर्नुपर्ने विधिविधानसहितको व्यवस्था गरिएबाट यो मन्दिर पहिला नै बनेको भन्ने प्रमाणित हुने उनी बताउँछन् ।


स्थानीय कृष्णचरण श्रेष्ठका अनुसार बालकुमारी मन्दिरको पहिलो तलामै गजुर छ । उक्त गजुरले मन्दिर कुनै समय एकतले थियो भन्ने प्रमाणित हुन्छ । विभिन्न कालखण्डमा बालकुमारी मन्दिर निर्माण, मर्मत तथा जीर्णोद्धार भएको यथेष्ट प्रमाण फेला परे पनि कहिले, कसले निर्माण गरेको भने एकिन तथ्यांक छैन ।


मध्यपुर थिमिको बालकुमारीलाई थसी (सिद्धिपुर) बाट ल्याएको भन्ने कथन छ । प्रचलित कथनअनुसार थसीकी एकजना स्वास्नीमान्छे आफ्नो माइतीबाट पतिको घर भक्तपुर जाने क्रममा आफ्नो सुरक्षाका लागि बालकुमारीलाई बोकेर ल्याएको र थिमिमा बास बस्ने क्रममा हाल अवस्थित स्थानमा बिसाएको भनिन्छ । भोलिपल्ट निकाल्न खोज्दा निकाल्न नसकेपछि सोही स्थानमा बालकुमारी स्थापना गरेको भन्ने कथन छ । मध्यपुर थिमिको हरेक सांस्कृतिक तथा ऐतिहासिक जात्रा, पर्व तथा पूजापाठहरू बालकुमारी मन्दिर केन्द्रित सञ्चालित हुने गर्दछन् ।


संस्कृतिकर्मी श्रेष्ठका अनुसार मध्यपुर थिमिको प्रमुख बिस्केट जात्रा तथा वर्षभरि मनाउने जात्रा, पर्व बालकुमारी मन्दिर केन्द्रित हुन्छ । जात्रा अवधिमा सम्पन्न गर्ने कुम्भो: खुवाउने, द्य:दान गर्ने, य:मरी चढाउने, मिखु म्ये:को बलि दिने तथा य:सिं ठड्याउने गरिन्छ । थिमिमा इन्द्रजात्राको भोलिपल्ट मनाउने जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएको सुइरो बालकुमारी मन्दिरको खम्बामा गाड्ने प्रचलन छ । भैरव नाच, नवदुर्गा नाच, दसैंमा भुइफ:सि (कुभिन्डो) काट्ने खड्गजात्रा बालकुमारी प्रांगणमै गरिन्छ ।


उत्तराभिमुख बालकुमारी मन्दिरको अगाडि ढुंगाको शिलास्तम्भमा मयूरको प्रतिमूर्ति स्थापना गरिएको छ । जसलाई बालकुमारीको वाहनको रूपमा लिइन्छ । शिलास्तम्भको पूर्वपट्टिको भागमा कुँदिएको विवरणअनुसार नेपाल संवत् ९१८ मा जयसिंह भारो र उनका छोरा तबधिक भारोले स्तम्भ स्थापना गरी मन्दिरको जीर्णोद्धारमा सहयोग गरेको उल्लेख छ ।


मन्दिरभित्र भैरव, कुमारी, काली, महालक्ष्मी, गणेशको निराकार मूर्ति छ । मन्दिरको सिलिङमा इँला रहेको र देवीदेवता कमलको फूलमा आसन भएको स्पष्ट मूर्ति देख्न सकिन्छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?