२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बाल अस्पतालमा अभावै अभाव

फातिमा बानु

काठमाडौँ — राजधानीको महारागन्जस्थित कान्ति बाल अस्पतालको अब्जरभेसन वार्ड छिर्ने हो भने एकै बेडमा २/३ जना बिरामी सुतेका भेटिन्छन् । पछिल्लो समय रुघाखोकी र ज्वरोका बिरामी बढेकाले बिरामी बालबालिकाको चाप बढदो छ ।

देशको एक मात्र केन्द्रीय रिफरल बाल अस्पतालले चाप थेग्न नसक्दा एकै बेडमा एकभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको छ ।

बेड अभाव त एउटा सामान्य उदाहरण हो । सरकारको प्राथमकितामा नपर्दा यो अस्पताल लामो समयदेखि विभिन्न अभाव र समस्याबीच चलिरहेको छ । बालरोग विशेषज्ञतामा अब्बल भए तापनि भौतिक पूर्वाधार अपुग हुँदा अस्पताल आफैं बिरामी अवस्थामा छ ।


धारामा धमिलो पानी आउँछ । पानी प्रशोधित गर्ने प्रविधि नहुँदा धमिलै पानीले काम चलाउनुपरेको अस्पतालका निर्देशक डा. गणेशकुमार राईले बताए । शौचालय मर्मत हुन सकेका छैनन् । उनले भने, ‘फोहोर छुट्याएर मात्रै फाल्नका लागि पनि कर्मचारीलाई तालिम दिनुपर्ने छ । बजेट अभावका कारण यति सानो काम पनि गर्न सकिएको छैन ।’


फोहोरमैला व्यवस्थित छैन । स्वास्थ्य संस्थाजन्य फोहोरमध्ये ९२ प्रतिशत जोखिमयुक्त हुन्छन् । विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार स्वास्थ्यजन्य फोहोरलाई प्रशोधित गरेर १० प्रतिशत जोखिममा झारेर मात्रै अस्पताल बाहिर पठाउनुपर्छ । यो अस्पतालमा संक्रमण निर्मलीकरण गर्ने उपकरण (इन्सिनेटर) नहुँदा फोहोर व्यवस्थित हुन सकेको छैन जसले वातावरणलाई समेत असर पारिरहेको छ । प्रशोधान नगरी अस्पतालबाहिर पठाइएका फोहोरले जनस्वास्थ्यमा असर गर्छ । रोग फैलिने जोखिम हुन्छ ।


झन्डै ६ दशक पुरानो यो अस्पतालका भवन पनि कमजोर भइसकेका छन् । २०७२ सालको भूकम्पले अस्पतालको दुई भवन बस्नै नमिल्ने भन्दै रातो स्टिकर लगाइदिएको थियो । भवनको विकल्प नहुँदा प्रशासन र जनरल वार्ड जोखिमयुक्त भवनबाटै सञ्चालन भइरहेको छ । दैनिक सात सयको हाराहारीमा बिरामी आउने यस अस्पतालमा बेडको संख्या पनि अत्यन्तै न्यून छ । ३ सय ६५ बेड क्षमता हुँदाहुँदै पनि जनशक्ति र पूर्वाधार अभावका अस्पतालले ३ सय ८ बेड मात्रै सञ्चालनमा ल्याएको छ । पर्याप्त आईसीयू बेड नहुँदा बिरामी बाहिर रिफर हुन्छन् । ५२ बेडको आईसीयू ३७ मा खुम्चिएको छ ।


रेडियोलोजी विभागका उपकरण पनि धेरै वर्ष पुराना भइसके । एक्सरे र सिटी स्क्यान उपकरण त कामै नलाग्ने स्थितिमा पुग्दा पनि चलाइरहनुपर्ने बाध्यता छ, अस्पताललाई । निर्देशक डा. राई भन्छन्, ‘बाल स्वास्थ्यका लागि केन्द्रीय मानिएको अस्पतालमा एमआरआई मेसिन छैन, बिरामीलाई अन्य सरकारी अस्पतालमा रिफर गर्छौं, रिफर गरिएका अस्पतालमा उनीहरूले ढिलो सेवा पाउँछन्, उपचार समयमा हुन सक्दैन ।’


डाक्टर, नर्स लगायतका जनशक्ति न्यून छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बिरामी र नर्सको अनुपात मिलेको छैन । एकै नर्सले धेरै बिरामी हेर्नुपर्दा नर्स बिरामीसँग रिसाउने, झर्किने गर्छन् । प्याथोलोजिस्ट, हाडरोग विशेषज्ञ लगायत धेरै डाक्टरको दरबन्दी खाली छ । सेवा सुविधा कम भएकाले बाल अस्पतालमा डाक्टरको आकर्षण छैन । विकास समितिबाट खटाइएका ३ सय चिकित्सकलाई अस्पतालकै आम्दानीबाट तलब दिनुपर्छ तर तलब दिन बजेट अपुग हुने गरेको डा. राई गुनासो गर्छन् । उनी भन्छन्, ‘आवासीय डाक्टरले सेवामा सजिलो बनाएका छन्, यस्ता डाक्टरका लागि अस्पतालमा बस्ने/खाने सुविधा हुन सकेको छैन ।’


प्याथोलोजिस्टको दरबन्दी खाली हुँदा क्यान्सर जस्ता जटिल रोगको परीक्षण गर्नका लागि बाहिरका अस्पतालको भर पर्नुपरेको अस्पतालका डा.सुधीर सापकोटाले बताए । उनले भने, ‘विशेष परीक्षण गर्नुपरे हामीले जनस्वास्थ्य प्रयोगशालामा पठाउँछौं, केही अभावका कारण सेवा गुणस्तरीय बनाउन सकिएको छैन ।’ एम्बुलेन्स सेवा राम्रो छैन ।


केन्द्रीय अस्पतालमा एउटा मात्रै एम्बुलेन्स छ, त्यसमा पनि आधारभूत सुविधा छैन । धेरै अक्सिजन खपत हुने भए पनि अक्सिजन प्लान्ट छैन । किनेर अक्सिजन चलाउनुपर्ने हुँदा सेवा खर्चिलो भएको डा. राई सुनाउँछन् । उनी भन्छन्, ‘वर्षभरिमा ८० लाखको अक्सिजन नै किन्नुपर्छ, आफैं उत्पादन गर्न पाए कम खर्चिलो हुन्थ्यो ।’

प्रकाशित : माघ ९, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?