‘स्मार्ट डस्टबिन’मा सुविधा थपिँदै

काठमाडौँ — माइतीघर चोकैमा रातमा उज्यालो देखिनेगरी ‘डस्टबिन’ बलिरहेको हुन्छ । राति बत्ती समेत बल्ने तापक्रम, स्थान र प्रदूषणको स्तर ‘डिस्प्ले’ भइरहेको उक्त ‘स्मार्ट डस्टबिन’ ले सहरको शोभा पनि बढाएको छ । यसमा प्रदूषण मापक, तापक्रम मापक र चार्जर पोर्ट छ ।

‘स्मार्ट डस्टबिन’मा सुविधा थपिँदै

सँगै आगामी दिनमा ‘क्यु आर कोड’ राखिने तयारी रहेको लगानीकर्ताले बताएका छन् । जसलाई ‘स्क्यान’ गरी वरपरका ठाउँबारे जानकारी लिन सकिनेछ । विज्ञापन राख्न सुरु गरेसँगै कोड पनि राखिनेछ ।


उपत्यकाभरिमा ६० स्थानमा यस्तो ‘स्मार्ट सोलार डस्टबिन’ राख्ने भनिए तापनि अहिले ५५ वटा जडानको क्रममा छन् । मंसिर दोस्रो सातादेखि माइतीघरबाट जडान गर्न सुरु गरिएकोमा हालसम्म ४५ वटा जति जडान भइसकेको र १० वटा जडान हुने क्रममा रहेको कार्यक्रमका निजी साझेदार शैलेश कुँवरले जानकारी दिए । बाँकी ५ वटा कुनै समस्या आए फेर्नका लागि आफैंले राख्ने कुँवरले जानकारी दिए । चिसो मौसममा काम गर्न कठिनाइ हुने र कामदार बिरामी भएकाले जडानमा ढिलाइ भएको उनले बताए ।


यस डस्टबिनको अर्को विशेषता के हो भने यहाँ मोबाइल पनि चार्ज गर्न मिल्छ । जडान भइसकेको भए पनि केहीमा सोलार प्यानल लगायतका उपकरण राख्न बाँकी छ । यी काम एक साताभित्र गरिसक्ने कुँवरले जनाए ।


राजधानीसँगैको अर्को महानगर ललितपुरमा पनि केही बिन राखिने उनको भनाइ छ । ‘फुटपाथ कति चौडाइको छ, त्यसका आधारमा स्थान तय गरिएको हो । मान्छेको आवतजावत र फोहोर उत्पादन बढी हुने ठाउँमा राख्न लागेका छौं,’ निर्देशक कुँवरले भने । उनले प्रति डस्टबिन ६ लाख रुपैयाँ लागत परेको बताए ।


‘यो सोलारबाट चल्ने हो । मोबाइल चार्ज गर्न यूएसबी केबल जोड्ने ठाउँ हुन्छ,’ महानगरका वैदेशिक सम्बन्ध शाखा प्रमुख महेश काफ्लेले भने, ‘लगानीकर्ताले यसको अगाडि भागमा विज्ञापन गर्न पाउनेछन् । त्यसबापत हामीले रोयल्टी र विज्ञापन कर पनि उठाउनेछौं ।’


डस्टबिनको अगाडिपट्टि १८ वर्गफिटमा डस्टबिन राखेको कम्पनीले विज्ञापन राख्नेछ । प्रतिडस्टबिन अहिलेको अवस्थाअनुसार ७ हजार ५ सय रुपैयाँ करबापत उठ्ने उनले बताए । सँगै फोहोर व्यवस्थापन, सोलार सरसफाइ र मर्मतको जिम्मा पनि लगानीकर्ताले लिएको जनाइएको छ ।


विज्ञापनका लागि रहेको स्थानमा महानगरले जनचेतनामूलक सार्वजनिक सूचना तथा जानकारी पनि राख्ने सार्वजनिक निजी साझेदारी इकाई (पीपीपी) प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । स्मार्ट सोलार डस्टबिनले पर्यटकीय स्थल र ठूला सडकछेउमा फोहोर घटाउने अपेक्षा राखेको उनको भनाइ छ । काफ्लेले भने, ‘बस स्टप, जेब्रा क्रसिङ र पर्यटकीय स्थल सफा राख्न यो अवधारणा २०७३ सालमा ल्याई सोही मंसिरमा सप्लायरसँग सम्झौता भएको हो । अगाडिकोमा लगानीकर्ताले र पछाडिको ९ वर्गफिट क्षेत्रमा महानगरले आफ्ना सूचना राख्नेछ ।’ प्लास्टिकजन्य उत्पादनले ढल जाम भइरहेका बेला यो बिन प्रभावकारी हुने उनको भनाइ छ ।

साथै लगानीकर्ताले दुवै महानगरभरि डस्टबिन राखिसकेपछि त्यसको प्रयोग र उपयोगिताबारे जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । राख्ने मात्र नभई यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नु आफ्नो उद्देश्य रहेको लगानीकर्ताले जनाएको छ । डस्टबिनमा फोहोर फाल्ने ठाउँ जनसंख्या र फोहोर उत्पादनका हिसाबले सानो भएको गुनासोप्रति सप्लायर कम्पनीका निर्देशक कुँवरले भने, ‘ठूलो आकारमा राख्दा भद्दा देखियो । चीन र कोरियामा बढीजसो यसै आकारका डस्टबिन प्रयोग हुन्छन् ।’


दुई वर्षअघि नै सम्झौता भइसकेको भए पनि मेलम्ची खानेपानी आयोजना र सडक विस्तारका कारणले सडकमा ढिला राखिएको सप्लायरले जनाएको छ । चीनबाट मगाइएको डस्टबिन सडक विस्तारका क्रममा फेरि भत्काउनुपर्ने नहोस् भनी सडक सम्बन्धी काम समाप्त हुने प्रतीक्षा गरिएको कुँवरले बताए ।


पीपीपी इकाई प्रमुख काफ्लेले निजी साझेदारलाई फोहोर फाल्ने स्थान ठूलो बनाउन र त्यसमाथि ढकनी राख्न सुझाव दिइएको बताए । ‘पुरानो डस्टबिन खराब देखिने भएकाले विदेशमा पनि प्रयोगमा ल्याइएको स्मार्ट डस्टबिनको अवधारणा ल्याएका हौं,’ उनी भन्छन्, ‘नयाँ ल्याउन बाँकी रहेको डस्टबिनमा फोहोर राख्ने स्पेस ठूलो बनाउन र ढकनी राख्न भनिसकेका छौं ।’

प्रकाशित : माघ ९, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?