फुल्चोकीमा ‘छोटो बाटो’ खतरा

प्रशान्त माली

ललितपुर — फुल्चोकी घुम्न गएका पुसमा मात्रै दुई टोली हराए । माघ ६ मा १६ जनाको एउटा जम्बु टोलीले नै बाटो बिरायो । ०७२ पुसमा विशालनगरका २० वर्षीय श्रीयान्स खत्रीको भीरबाट लडेर मृत्यु नै भयो ।

फुल्चोकीमा ‘छोटो बाटो’ खतरा

प्रहरीको तथ्यांकअनुसार फुल्चोकीमा हराउने क्रम बढ्दो छ । यहाँ हराउनुको विभिन्न कारणमध्ये ‘छोटो दूरी’ को बाटो प्रयोग मुख्य रहेको अधिकांश हराउनेको अनुभव छ । गत महिना हराएका कीर्तिपुरका कपिल दाहाल भन्छन्, ‘लामो यात्रा गर्नुपर्दा प्राय: थाक्ने गर्छन् । जसरी भए पनि तल पुग्ने सोचले छोटो दूरीको बाटो प्रयोग गर्छन् । अनि बाटो बिराएर हराउने गर्छन् ।’ उनका अनुसार सडकको बाटो घुमाउरो छ । ‘अल्छी मानेर छोटो दूरीको बाटो प्रयोग गर्नाले पनि हराउने गर्छन्,’ उनले भने ।


पुस ७ मा गोदावरी क्षेत्रमा पिकनिक आएका उनीसहित कोटेश्वर बस्ने दिनेश दाहाल र कलम ढकाल नौधारा पछाडिको छोटो दूरीको बाटो प्रयोग गरेर फुल्चोकी डाँडा चढ्नेक्रममा हराएका हुन् । गत वर्ष हिउँ खेलेर फर्कनेक्रममा साता दिन बेपत्ता भएका १७ वर्षीय जोन तामाङ पनि छोटो दूरीको बाटो प्रयोग गरेर नै हराएका हुन् । सुरुमा उनीहरूलाई बाटो बिराएको भनेर थाहा थिएन । जति हिंडे पनि सडक नभेटिएपछि हराएको चाल पाएका थिए । ‘टुप्पोमा पुग्दा राति ७ बजिसकेको थियो,’ उनले भने, ‘बाटोमा भेटिएको सुन्तलाको बोक्राले भोक मेटाएँ ।’ उनीहरू त्यस दिन प्रहरीको सहायतामा राति ११ बजेमात्र फेदमा पुगेका थिए ।


धनुषाका १९ वर्षीय ऋषिकुमार शाहको अनुभव पनि उस्तै छ । पुसमा पहिलोपटक हाइकिङ गएका १६ जनाको टोली जंगलमै अलपत्र परेको थियो । उनीहरू डाँडाबाट फर्कने क्रममा ६ बजिसकेको थियो । चाँडै पुग्ने सोचले छोटो बाटो प्रयोग गरेर तल झर्दा घनाजंगलमा फसे । शाह भन्छन्, ‘छोटो दूरीको बाटो हुँदै मूल सडकमा झर्ने फेरि केही समय सडकको बाटो प्रयोग गर्ने अनि फेरि छोटो दूरीको बाटो प्रयोग गर्दै तल झर्दै थियौं ।’ उनका अनुसार एउटा अरूभन्दा सफा छोटो दूरीको बाटो भेटियो । ‘उक्त बाटो पछ्याउँदै आधा घण्टा अगाडि बढेपछि बाटो हरायो । अनि फर्कन खोज्दा दुई/तीनवटा बाटो भेटियो । अनि अलमलमा पर्‍यौं ।’


फुल्चोकी फेददेखि टुप्पोसम्म १३ किमि दूरी छ । हिउँ भेटाउन १० किमि यात्रा गर्नुपर्छ । साढे ८ किमि चढेपछि ‘डेन्जर जुन’ लेखिएको साइनबोर्ड भेटिन्छ । प्राय: मानिस यहींबाट हराउने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अधिकांश मानिस टुप्पोबाट अन्दाजी साढे ३ किमि फराकिलो बाटो भएर तल झर्छन् । त्यहाँ भेटिएको एउटा सिधा छोटो बाटो भएर तल झर्छ । कोही चार किमि फराकिलो बाटो भएर तल झरेपछि भेटिएको छोटो बाटो भएर तल झर्छन् ।


यी दुवै छोटो बाटो प्रयोग गरेर तल झर्दा खतरा ठाउँमा पुगिन्छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रवीन्द्रबहादुर धानुक भन्छन्, ‘कोही डेन्जर जोनबाट एक किमि तल झर्ने गर्छन् । त्यहाँ एउटा काभ्रेको खानी गाउँ, अर्को चापाखर्क, फलाम खानी र झरना खोला क्षेत्र जाने बाटो भेटिन्छ । त्यहाँबाट पनि एक किमि तल झेरपछि बाटो नै हराउँछ । अनि अलपत्र पर्ने गर्छन् ।’ उनले डेन्जर जोन क्षेत्रमा एकजना प्रहरी खटाएको बताए । फुल्चोकबाट काभ्रे, पनौती, लेले, नल्लु हुँदै मकवनापुरसम्म पुग्न सकिन्छ । घनाजंगलमा बाघ, चितुवाजस्ता जनावरको बासस्थान छ ।


बुधबार, बिहीबार र शुक्रबार बाडेगाउँबाट खटिएका १५ जनाको प्रहरी टोलीलाई फुल्चोकमा हिउँ खेल्न आउने मानिसलाई हराउलान् भनेर सचेतना गराउँदैमा दिन बित्यो । महानगरीय प्रहरी प्रभाग बाडेगाउँका निरीक्षक श्याम कटुवाल, हवल्दार सुयनकुमार यादवलगायतको टोलीलाई फुल्चोकीमा आउनेको नाम, नम्बर, समय र सावरीसाधन नम्बर दर्ता गर्दैमा भ्याइनभ्याइ भयो । फुल्चोकी हिउँ खेल्न रुचाउने उपत्यकावासीका लागि नजिकको गन्तव्य स्थल हो । यहाँ प्रत्येक वर्ष हिउँ खेल्न जानेक्रममा मानिस हराउने गरेका छन् ।


यसलाई मध्यनजर गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी शेखर खनालले फुल्चोकीमा हराउन नदिन १२ बजेपछि पैदल यात्रुलाई प्रवेशमा निषेध गरिएको बताए । ‘सवारीसाधन लिएर घुम्न जानेलाई गोदावरी बसपार्कमा अनिवार्य दर्ता गराउनुपर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘१२ बजे अगाडि प्रवेश गर्नेहरू फर्कंदा दिउँसै हुने भएकाले हराउने सम्भावना कम हुन्छ ।’ उनले कसैको पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर फुल्चोकीमा ड्युटीमा खटिने नेपाल आर्मीसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको बताए ।


प्रहरीको तथ्यांकअनुसार तीन दिनमा फुल्चोकी डाँडा चढ्ने मोटरसाइकल, साना सवारी र पैदल यात्रु गरेर एक हजार ४ सय दर्ता भएका छन् । बाडेगाउँ प्रभागबाट खटिएका प्रहरी टोलीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । प्रभागबाट खटिएको प्रहरीले कोही पनि नहराऊन् भनेर ठाउँठाउँमा खतरा चिह्न अंकित सचेतनाका बोर्ड राखिएको छ । झैझगडा हुन सक्ने सम्भावना बढेपछि नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी खनाल र सातदोबाटो प्रहरी वृत्तका टोली पनि पुगेका थिए । खनाल भन्छन्, ‘घुम्न आउने बढी किशोरकिशोरी छन् । उनीहरू एकान्त ठाउँ खोजेर जाने गरेकाले पनि हराउने गरेका छन् ।’ उनले हराउने अधिकांशले रात परेपछि मात्र प्रहरीलाई खबर गर्ने गरेको बताए । ‘घुमाउरो चिप्लो बाटो, त्यसमाथि हुस्सु लाग्ने भएकाले हराउने मात्र नभई दुर्घटना हुने सम्भावना पनि धेरै छ,’ उनले भने ।


प्रहरीले घुम्न आउनेलाई सचेत गराउन दैनिक ७ जनाको टोली खटाउने गरेको जनाएको छ । सामुदाय–प्रहरी साझेदारीअन्तर्गत प्रहरीले फुल्चोकीको भौगोलिक अवस्थाका बारेमा जानकारी गराउन गोदावरी क्षेत्रका विद्यार्थीलाई प्रशिक्षण दिंदै आइरहेको छ । फुल्चोकी प्रवेश विन्दुमा नक्सासहितको बोर्ड राखिएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले हराउनबाट बचाउन सिँढी बनाउने योजना

रहेको बताए ।

प्रकाशित : माघ १२, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?