पुन:स्थापना केन्द्रमा शंकास्पद मृत्यु : फरार दुई जना पक्राउ

प्रशान्त माली

ललितपुर — प्रहरीले इमाडोलस्थित एक पुन:स्थापना केन्द्रमा शंकास्पद ढंगले मृत्यु भएको घटनामा सलंग्न आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर बस्ने सुधीर कार्की र सिन्धुपाल्चोक घर भई कोटेश्वर बस्ने मुकुन्द केसी छन् ।

दुवै जना दुई साताअघि फरार थिए । दोलखाका सीताराम घिमिरेलाई परिवारका सदस्यले रक्सीबाट छुटकारा दिलाउन माघ ३ मा महालक्ष्मी नगरपालिका ४ सेतिपाखास्थित ‘वी केयर’ पुन:स्थापना केन्द्रमा भर्ना गरेका थिए ।


भर्ना गरिएको ३ दिनपछि सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृतकका छोरा साजन र भतिजा गान्दिपकुमार घिमिरेले शंकास्पद मृत्यु भन्दै माघ ८ मा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ४ जनाविरुद्ध कर्तव्य ज्यानमा जाहेरी दिएका थिए ।


प्रहरीले जाहेरीका आधारमा ९ गते सोलुखुम्बु पासाङलामु गाउँपालिका ५ का पुन:स्थापना केन्द्र सञ्चालक छिरिङ गेल्जेन शेर्पा र झापा बिर्तामोड नगरपालिका ४ का काउन्सुलर सुनिल खड्का क्षेत्रीलाई पक्राउ गरेको थियो । दुवै जनालाई दुई पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । दोस्रो पटक थपेको म्याद १९ गते शनिबार सकिएको छ ।


घिमिरेको पोस्टमार्टम रिपोटमा बायाँ छातीको ५ वटा करन भाँच्चिएको, थाइ, घुँडा र खुट्टामा निलडाम र दाहिने कुहिनुमा घाउ देखिएको छ । ‘पुन:स्थापना केन्द्रमा कुटपिट गरेर उपचार गर्ने गरेको छ,’ मृतकका सालो चन्द्र लामाले भने, ‘केन्द्रका सञ्चालकले उपचार गराउन भनी सुरुमा मासिक शुल्क १५ हजार रुपैयाँ पनि लिए ।’


महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रले पक्राउ पर्नेसँग बयान लिइरहेको बताए । ‘घटना शंकास्पद छ,’ उनले भने, ‘चाँडै अनुसन्धान सकेर रायसहित सरकारी वकिलको कार्यालयमा पेस गरी अदालतमा मुद्दा दायर गरिनेछ ।’ उनका अनुसार घटना हुँदा पक्राउ परेका चारै जना घटना स्थलमै उपस्थित थिए ।


समाजमा पछिल्लो समय परिवारका सदस्य कुलतमा फस्दा पुन:स्थापना केन्द्रमा उपचार गराउने क्रम बढदो छ । ललितपुरमा १८ वटा पुन:स्थापन केन्द्र सञ्चालनमा छन् । लागूऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा बर्सेनि २ लाख ५३ हजार दुव्र्यसनीका कारणले मृत्यु हुने गरेका छन् ।


केन्द्रीय तथ्यांक विभागको दाताअनुसार गत वर्षको तुलनामा लागूऔषध कारोबार गर्नेविरुद्ध लगाइएको मुद्दाको संख्या पनि वृद्धि छ । उपत्यकामा चालू आवको माघसम्म एक सय ७२ वटा पुगिसकेका छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार दुव्र्यसनी बढ्नुको विभिन्न कारणमध्ये लागूऔषध सम्बन्धी नियमावली नहुन मुख्य हो ।


डिएसपी मिश्र भन्छन्, ‘प्रक्राउ परेका लागूऔषध प्रयोगकर्तालाई सम्बन्धित परिवारलाई जिम्मा लगाइदिने वा तिनैको सिफारिसमा पुन:स्थापना संस्थामा पठाउनेबाहेक अन्य उपाय छैन ।’

प्रकाशित : माघ २०, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?