‘शौचालय पैसा उठाउन मात्र’

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाभित्रका धेरैजसो शौचालय पैसा उठाउन मात्र चलाइएको एक कार्यदलको प्रतिवेदनले औंल्याएको छ । त्यसमा २ सय ८४ स्थानमा शौचालय बनाउन सकिने र १३ स्थानमा पहिलो चरणमा काम थाल्नुपर्ने सुझाव छ । 

महानगरपालिकाले शौचालय निर्माणका लागि अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएपछि शौचालय निर्माणका काम अघि बढ्ने निश्चित भएको छ । यसअघिदेखि पटकपटक महानगरपालिकाले शौचालय आवश्यक रहेको र बनाउने भनिरहे पनि ठोस रूपमा कुनै काम हुन सकेको थिएन । माघ ६ मा शौचालयबारे अध्ययन गर्न गठित कार्यदलले सोमबार उपमेयर हरिप्रभा खड्गीलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ ।

Citizen

यद्यपि सबै वडाका अध्यक्षहरूसँग यस विषयमा छलफल भइनसकेको महानगरले जनाएको छ । महानगरभित्र २ सय ८४ स्थानमा शौचालय बनाउन सकिने र त्यसमध्ये १३ स्थानमा पहिलो चरणमा काम सुरु गर्नुपर्ने टोलीको निष्कर्ष छ । टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु प्रहरी चौकी, महाराजगन्ज, सुकेधारा, चाबहिल, जय बागेश्वरी र मित्रपार्कमा प्रथम चरणमा काम थाल्नुपर्ने कार्यदलको सुझाव छ ।

यी स्थान मान्छेको चापलाई आधार मानी छानिएको प्रतिवेदनमा उल्लेख छ । गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जुद्ध शालिक वरपर पनि तत्कालै शौचालय निर्माण गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरमा पनि पहिलो चरणमै शौचालय निर्माण गर्नुपर्ने देखिएको छ । यी क्षेत्रमा तत्काल शौचालय अत्यावश्यक रहेको कार्यदलको निष्कर्ष छ ।

हालका शौचालयलाई सहरी शौचालयमा स्तरोन्नति गर्न सकिने साथै नयाँ थप्न सकिने सम्भावना देखिएका स्थानसहित प्रतिवेदन बुझाइएको हो । यद्यपि शुल्क लिने वा नलिने, कसले चलाउने जस्ता विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने देखिएको छ ।

हाल महानगरभित्र ५८ शौचालय छन् । तर धेरैजसो पसल तथा संरचनाले घेरिएको अवस्थामा रहेको हुँदा सर्वसाधारणले झट्टै देख्न सक्ने तथा शौचालयको दिशा देखाउने संकेत चिह्न नहुँदा कहाँ छ भनेर छुट्याउन सकिने अवस्था छैन । धेरैजसो शौचालय पैसा उठाउन मात्र चलेको प्रतिवेदनमा उल्लेख छ । सरसफाइ, उज्यालो, पानीको अवस्था अपर्याप्त रहेको औंल्याएको छ ।

‘पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमश: नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्नुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ । कार्यदलले महानगरलाई सञ्चय कोष, खाद्य संस्थान, गुठी संस्थान, त्रिभुवन विश्वविद्यालय जस्ता संस्थासँग समन्वय
गर्नुपर्ने सुझाव दिएको छ ।

विभिन्न पेट्रोल पम्पमा ७२ वटा र ठूला भवनहरूमा (कम्प्लेक्स तथा सपिङ मल) ६७ सार्वजनिक शौचालय बनाउन सकिने कार्यदलले औंल्याएको छ । कार्यदलका संयोजक तथा निजी साझेदारी इकाई प्रमुख धु्रवकुमार काफ्लेले शौचालयको अवस्था निकै खराब रहेको अवलोकनका क्रममा देखिएको बताए ।

प्रकाशित : माघ २४, २०७५ ०८:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बन्द हुनै लागेको विद्यालय बन्यो नमुना 

प्रताप विष्ट

हेटौंडा — ४ वर्ष अघि विद्यार्थी नभएपछि बन्द हुने सूचीमा थियो दिव्यज्योति आधारभूत विद्यालय । व्यवस्थापन लथालिंग थियो । पढाइ राम्रो थिएन । विद्यार्थी घट्दै गई २० जना मात्र बाँकी रहेपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले गाभ्ने सूचीमा राख्यो । 

नमुना बन्दै हेटौंडा उपमहानगरपालिका—९ वेदखोल्सीस्थित दिव्यज्योति आधारभूत विद्यालय । तस्बिर : प्रताप/कान्तिपुर

हेटौंडा उपमहानगरपालिका—९ वेदखोल्सीस्थित यो विद्यालयको अवस्था अहिले फेरिएको छ । पढाइको गुणस्तर राम्रो हुँदै गएको छ । व्यवस्थापनपनि सुध्रिएपछि अभिभावकहरूपनि ढुक्कैले छोराछोरीलाई विद्यालय पठाउन थालेका छन् ।

‘पहिला स्कुलमा पढाइ राम्रो नभएकाले नातिनीलाई अर्को विद्यालयमा भर्ना गरेको थिएँ,’ स्थानीयवासी चन्द्रबहादुर योन्जनले भने, ‘अहिले वातावरण राम्रो भएको सुनेर यो शैक्षिक सत्रदेखि यही स्कुलमा भर्ना गरेका छौं ।’ उनले मात्र होइन अन्य अभिभावकले पनि दिव्यज्योतिमा नै बालबालिकालाई भर्ना गरेका छन् । विद्यालयमा अहिले नर्सरी कक्षामा मात्र ७० विद्यार्थी छन् ।

५ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा १ सय ५० जना बालबालिका अध्ययनरत छन् । व्यवस्थापन समिति, स्थानीय अभिभावक र शिक्षकहरूको सामूहिक प्रयत्नबाट नगरमानमुना विद्यालयका रूपमा उभिन सफल भएको स्थानीय बताउँछन् ।

‘विद्यार्थी संख्या बढ्नुमा विद्यालयको शैक्षिक वातावरण परिवर्तन आउनुका साथै स्थानीय रूटमा चल्ने म्याजिक भ्यानसँग गरेको सहकार्यले पनि योगदान पुर्‍याएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भण्डारीले भने, ‘टाढा/टाढाबाट आउने स्कुलका विद्यार्थीलाई स्थानीय रुटमा चल्ने म्याजिक भ्यानले ल्याउने र लैजाने वातावरण मिलाएकाले विद्यालयका विद्यार्थी संख्या वृद्धि भएको हो ।’ चार वर्षदेखि उक्त भ्यानले विद्यार्थीलाई स्कुल ल्याउने, लैजाने गर्दै आएको छ ।

विद्यालयमा समयानुकूल शिक्षा र अभिभावकको चाहनाबमोजिम अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । विद्यालयको भौतिक संरचनामा पनि व्यापक परिवर्तन आएको छ । ‘उज्याला कक्षा–कोठा, सफा र फराकिलो खेलमैदान, छात्र र छात्राका लागि सफा शौचालय, शिक्षक–शिक्षिकाबाट हुने नियमित पठनपाठन । विद्यालय र समुदायबीचको आत्मीयताले विद्यालयको स्वरूपमा नै परिवर्तन आएको हो,’ व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले भने । अंग्रेजी माध्यमका साथै अनिवार्य कम्प्युटर शिक्षाको समेत व्यवस्था भएपछि विद्यालयमा अहिले भर्नाको चाप बर्सेनि बढ्दो छ । कति विद्यार्थीलाई भर्ना लिन पनि सकेनौं, विद्यालयका शिक्षक पुरुषोत्तम आचार्यले भने ।

विद्यालयका भित्ताहरूमा विभिन्न चित्र तथा भित्तेलेखन, हरेक कक्षामा प्रशस्त शैक्षिक सामग्री, व्यवस्थित पुस्तकालय र कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । विद्यालय परिसरमा रहेका फलफूलका बिरुवा, व्यवस्थित खेलमैदानले विद्यार्थीलाई विद्यालयमै रहन आकर्षित गरिरहेको छ । आकर्षक भवन, उज्याला र ठूला कक्षा कोठाहरू, प्रशस्त खेलमैदान, क्रियाकलापमा आधारित शिक्षण विधि, विद्यार्थीमा देखाइने असल व्यवहार विद्यालयको विशेषता रहेको छ । विद्यार्थीहरू नियमित विद्यालय आउँछन् ।

समुदायमा आएको शैक्षिक जागरण, विद्यालयले अभिभावक र समुदायको माग बमोजिमको पठनपाठन, शैक्षिकस्तरमा सुधार अनि शिक्षक–शिक्षिकाले नियमित पठनपाठन गराउन थालेपछि विद्यालयको स्तरोन्नति भएको हेटौंडा उपमहानगरपालिका—९ का वडा अध्यक्षसमेत रहेका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए ।

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जागरुक स्थानीय समुदाय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक–शिक्षिकामा सकारात्मक शैक्षिक जागरणले गर्दा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै आएको विद्यालयकी प्रधानाध्यापक सुशीला रिजालले बताइन् । कुनै पनि सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन, शिक्षक–शिक्षिका र समुदायको त्रिकोणात्मक समन्वय रहने हो भने त्यसले उन्नति गर्न सक्ने उनको बुझाइ छ । ‘नगरभित्रकै विद्यालय भएका कारण प्रतिस्पर्धा गर्नु आफैंमा चुनौती रहेको छ,’ उनले भनिन् ।

२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले प्रारम्भिक बालविकास कक्षा सञ्चालनका लागि शिक्षकको अभाव, खानेपानीको अभाव, विद्यार्थीका लागि गाडी सञ्चालनमा ल्याइए पनि त्यसलाई निरन्तरता दिन चुनौती छ । गत वर्ष च्यारिटी सो सञ्चालन गरेर संकलितरकमबाट विद्यालयमा भौतिक पूर्वाधारका कामहरू गरिएको थियो ।

प्रकाशित : माघ २४, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT