कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा परामर्शदाताले टेरेन

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दुई खोलाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाउन सरकारले दिएको निर्देशनलाई परामर्शदाताले अटेर गरेको छ । 

मेलम्चीमा परामर्शदाताले टेरेन

खानेपानी तथा सरसफाइ मन्त्रालयले तोकेको समयसीमा बित्दासमेत परामर्शदाता कम्पनी इप्सीले डीपीआर बुझाएको छैन । सन् २०१८ को डिसेम्बरसम्म प्रतिवेदन बुझाउन म्याद दिए पनि हालसम्म नबुझाएको मन्त्रालयले जनाएको छ ।


‘विभिन्न विज्ञ र एसियाली विकास बैंक (एडीबी) ले प्रतिवेदनमा केही विषय सच्याएर ल्याउन सुझाव दिएका थिए । दुई महिनाभन्दा बढी भइसक्यो, कुनै प्रतिक्रिया आएको छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘चाँडो ल्याए ठेक्का प्रक्रिया अघि बढाउन सजिलो हुन्थ्यो, ताकेता गर्दासमेत बुझाएको छैन ।’


आयोजनाले पहिलोपटक २०१७ को डिसेम्बरसम्म बुझाउन परामर्शदातालाई म्याद दिएको थियो । परामर्शदाताले मौसमका कारण आयोजनास्थलमा जान नसकेको जानकारी गरेपछि मन्त्रालयले पुन: २०१८ को जनवरीसम्मको म्याद थपेको थियो । यसरी पटक–पटक ढिलो गरी बुझाएको प्रतिवेदनमाथि मन्त्रालयका प्रतिनिधि, विज्ञ र एडीबीका प्रतिनिधिले करिब डेढ महिनाअघि ललितपुरको गोदावरीमा बृहत् छलफल आयोजना गरी चाँडो बुझाउन परामर्शदातालाई सुझाएको थियो । नर्वे, क्यानडा, भारतलगायतका मुलुकबाट विज्ञ मगाएर मन्त्रालयले छलफल गरेको थियो ।


मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क अम्बाथानमा ल्याएर मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी कुल ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।


छलफलका क्रममा सचिव गजेन्द्रकुमार ठाकुरले याङ्ग्री र लार्केबाट मेलम्चीसम्म पानी ल्याउने सुरुङ बनाउन तीन महिनाभित्र ग्लोबल टेन्डर गर्ने बताएका थिए । तर हालसम्म प्रतिवेदन नबुझाएको भन्दै आयोजनाले ठेक्का आह्वानमा ढिलाइ हुने जनाएको छ । माघ अन्तिमसम्ममा ठेक्का आह्वान गर्ने मन्त्रालयको तयारी थियो । ‘ग्लोबल टेन्डर गर्ने तयारी थियो, डीपीआर नै आएको छैन,’ ती अधिकारीले भने, ‘अब ढिलो हुन्छ ।’


सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी ल्याउनका लागि सुरुङ निर्माणको तयारी भइसकेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताए ।


मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको भन्दै उनले परामर्शदाताले प्रतिवेदन बुझाउनेबित्तिकै टेन्डर आह्वान गरिने उनले बताए ।

प्रकाशित : माघ २४, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?