बडिखेल चिनाउँदै स्थानीय

पशुपतिमा आउने पर्यटकलाई प्याकेज टुर बनाएर भ्रमणमा ल्याउने योजना
प्रशान्त माली

ललितपुर — उपत्यकाभित्र गोदावरी आकर्षक गन्तव्य हो । गोदावरी क्षेत्रमै पर्छ बडिखेल । पर्यटकीय गन्तव्यस्थल भए पनि ओझेलमा परेको भन्दै प्रवद्र्धन गर्न बडिखेलवासी जुटेका छन् ।

स्थानीयले तपेश्वर महादेव विकास तथा संरक्षण समिति बनाएर धार्मिक महा–महोत्सव आयोजना गर्न खटिएका हुन् । यहाँको पूर्वी डाँडामा तपेश्वर महादेवको ध्यानस्थल र पुरातात्त्विक महत्त्वका पोखरी छन् ।


एकै ठाउँमा वनदेवी, तपेश्वरलगायत ४ वटा गुफा र परम्परागत मौरी घर यहाँको विशेषता हो । कुनै गुफाबाट कतै तातो कतै चिसो हावाको बहाव आउँछ भन्दा प्रायलाई अचम्म लाग्न सक्छ । यहाँँका स्थानीयले यसलाई दैवी शक्ति महादेवको श्वासप्रश्वास प्रक्रियाको रूपमा लिन्छन् । बाँस (प्याङ) बाट डाला, नाङ्लो बुन्ने छुट्टै भाषा बोल्ने पहरी जातिको गुजुमुज्ज बस्ती यहाँको मुख्य आकर्षण हो ।


बडिखेल पस्मा टोलका ५६ वर्षीय चन्दबहादुर पहरी बाँसको गेट बनाउन छाली काटेर मिलाउँदै गरेको अवस्थामा भेटिए । उनी गेट बनाउन खटेको चार दिन बित्यो । भन्छन्, ‘पहिला महादेवको ध्यानस्थलबाट झरना झथ्र्यो । अहिले डाँडाको पोखरी सुकेकाले बन्द छ । पोखरीलाई जीवन्त दिन सकेमा फेरि पहिलेकै अवस्थामा ल्याउन सकिन्छ ।’


चमस टोलका ३५ वर्षीय राधाकृष्ण, सोम, लक्ष्मण र विजय गेटको छानो राख्न तारले बाँस कस्दै थिए । उनीहरूले गेट बनाउने जिम्मा लिएका हुन् । उनीहरू जस्तै गाउँका अन्य युवा कोही सिढी बनाउन त कोही बाटो खोल्न सरसफाइमा जुटेका छन् ।


तपेश्वर महादेव धार्मिक महा–महोत्सवका सहसंयोजक सन्तकुमार नगरकोटी भन्छन्, ‘एउटा गुफाभित्र महादेव तपस्यामा विलीन भएर बसेको शिला अझै पनि देख्न सकिन्छ । कतिपय गुफा कुन प्रयोजनका लागि बनाइएको भन्ने अध्ययन अनुसन्धानकै विषय छ ।’ उनले महोत्सवले धार्मिक पर्यटक वृद्धि हुने विश्वास व्यक्त गरे । ‘पशुपतिमा आउने पर्यटकलाई प्याकेज टुर बनाएर यहाँ भ्रमणमा ल्याउने योजना छ,’ उनले भने ।


पर्यटकीय गन्तव्य स्थल बनाउन सांसद कोषबाट ५० लाख रुपैयाँ बजेट परेको छ । गोदावरी नगरपालिकाबाट पनि ५ लाख

छुट्याएको छ । नगरपालिकाले सांसद कोषको बजेटमध्ये १० लाखबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन र बाँकी ४० लाखबाट महादेव मन्दिर, भक्तजनका लागि दर्शन गर्न सिढी, पिकनिक स्पट बनाउने योजना बनाएको छ । महादेवको शिला कोडु खोलाबाट एक किमि माथि डाँडामा पर्छ ।


गोदावरी नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले ललित घुम्ती सडकबाट ७ सय ५० मिटर लामो सिँढी बनाउने लक्ष्य रहेको बताए । ‘यसका लागि सम्झौता भइसकेको छ,’ उनले भने, ‘डीपीआर तयार भइसकेपछि सार्वजनिक सुनुवाइ गरेर कार्यान्वयनमा ल्याउनेछौं ।’ उनले महादेव र गुफा अवस्थित वनलाई धार्मिक वनका रूपमा विकास गर्ने योजना रहेको बताए । ‘यसका लागि नगरपालिकाबाट आवश्यक बजेट छुट्याउन पहल गरिनेछ,’ उनले भने ।


तपेश्वर महादेव स्थलबाट साढे ६ किमि पूर्वमा कुना खोला पर्छ । त्यहाँबाट महादेव स्थलमा ट्यांकी निर्माण गरी भक्तजन र बस्तीमा पानी वितरण गर्न ऊर्जा मन्त्रालयबाट २० लाख बजेट परेको उनको भनाइ छ । ‘पानी ल्याउन विद्युत् लाइन विस्तार गर्न लगनखेल विद्युत् प्राधिकरणबाट ठेक्कापट्टा भइसकेको छ,’ उनले भने ।


बडिखेलमा पर्यटकका लागि अर्को आकर्षण भनेको बाँसबाट चोया उत्पादन गरी सरसामान उत्पादन गर्ने कलाको अवलोकन हो । यहाँ बाँसका सरसामान निर्माण गरी बेचेर गुजारा गर्ने २ सय परिवार छन् । उनीहरूसँग बाँसबाट नाङ्ला, डाला मात्र नभई प्याक, डस्टबिन, फूलदानी, ब्याच, फ्रेम, चाल्ना, पेन बक्स, घडी, गमला, मसला राख्ने भाडा, टोपीलगायत वस्तु बनाउने सीप पनि छ ।

माझ टोलका ७५ वर्षीय शंकर पहरी भन्छन्, ‘यो पहरीको पुख्र्यौली पेसा हो । कुनै बेला यी सामान क्यानडा, फ्रान्सलगायत युरोपेली मुलुकमा समेत निर्यात हुन्थ्यो । अहिले स्वदेशमै बिक्री हुन छाडेका छन् ।’ उनले यसको संरक्षण गर्न नगरपालिकाले छुट्टै नीति नै तर्जुमा गर्न जरुरी रहेको बताए । ‘पोलिथिनको नाङ्लो, डोको बजारमा आएपछि पेसा झन् संकटमा पर्दै गयो,’ उनले भने, ‘त्यसमाथि बाँस, नाङ्लो बाँध्ने नाइलनको डोरीको मूल्य प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ ।’


उनले घरसम्म आएर खरिद गर्ने ग्राहक पनि कम हुँदै गएको बताए । ‘होटल, लज व्यवसायीले पनि सामान किन्न छाडेका छन्,’ उनले भने, ‘यसले युवा पुस्ता निराश हुँदै गएका छन् ।’ बडिखेलबाट फुल्चोकी र लेले मनकामना हाइकिङ गर्ने उपयुक्त मार्ग छ । महोसत्व माघ २७ देखि फागुन ६ सम्म ९ दिन चल्दै छ ।

प्रकाशित : माघ २४, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?